निर्देशक नवीन चौहानले डेब्यु फिल्म ‘ऊनको स्वीटर’ बाटै ठूलो सफलता पाए। शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार वितरण समारोहमा ‘ऊनको स्वीटर’ ले उत्कृष्ट फिल्मसहित तीन वटा अवार्ड हात पारेको छ।
यस फिल्मबाट मिरुना मगर उत्कृष्ट अभिनेत्री बन्दा चौहान उत्कृष्ट निर्देशक घोषित भएका छन्। पहिलो फिल्मबाट ठूलो सफलता पाएपछि निर्देशक चौहान भावुक भए।
उनले फेसबुकमा एक स्टाट्स लेख्दै आफ्नो वर्षौदेखिको सपना पूरा भएको बताएका छन्। शुक्रबार पुरस्कार पाएसँगै चौहानले पाँचथरको सत्तेरूपा गाउँमा कलिला आँखाले देखेको सिनेमा सपना आज यथार्थमा परिणत भएको उल्लेख गरेका छन्।
‘पाँचथरको सत्तेरुपा गाउँमा कलिला आँखाले देखेको लगभग असम्भव जस्तो एउटा सपना थियो, सिनेमा बनाउने सपना। त्यो दिन ऊनको स्वीटर दर्शकमाझ पुगेको थियो। मनभरि उत्साह थियो, डर थियो, अनिश्चितता थियो,’ उनले लेखेका छन्, ‘फिल्मले कस्तो यात्रा तय गर्ला भन्ने थाहा थिएन तर एउटा विश्वास थियो इमान्दार कथा कहिल्यै हराउँदैन। आज फर्केर हेर्दा लाग्छ, सपनाहरू साँच्चै पूरा हुँदा रहेछन्।’
पहिलो फिल्मबाट यस्तो सम्मान पाउँला भनेर कल्पना कहिल्यै नगरेको उनको भनाइ छ। उनले अघि थप्दै लेखेका छन्, ‘हामीले त केवल मनले छोएको एउटा कथा इमान्दारीपूर्वक सुनाउने प्रयास गरेका थियौँ। तर, दर्शकहरूले त्यसलाई आफ्नो कथा बनाइदिनुभयो।’
आफूले पाएको सम्मान पूरै गाउँको भएको उनकाे भनाइ छ। ‘यो सम्मान कुनै एक व्यक्तिको होइन। त्यो गाउँको हो जहाँ मैले सपना देख्न सिकेँ। त्यो परिवारको हो जसले विश्वास गरिरह्यो। त्यो टिमको हो जसले असम्भवजस्तै यात्रामा साथ छोडेन। सबैभन्दा बढी, ती दर्शकहरूको हो जसले ऊनको स्वीटर लाई आफ्नो कथा बनाए,’ उनले भने।
आफूलाई धेरै बोल्न मन नभएको बताउँदै उनले अन्तिममा लेखेका छन्, ‘आज पनि धेरै बोल्न मन छैन। बस यत्ति भन्न मन छ। सपनाहरू देखिरहनुहोस्। कहिलेकाहीँ जीवनले तिनलाई कल्पना गरेभन्दा धेरै सुन्दर ढंगले पूरा गरिदिन्छ।’
Shares

प्रतिक्रिया