बुधबार साँझ बिगमुभिजमा भएको प्रिमियर शोमा नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ लाई रुचाइएको छ। प्रिमियर शोमा पुगेका राजनीतिज्ञदेखि चलचित्रकर्मीहरूले फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिए।
राई समुदायमा आधारित फिल्म भएकाले प्रिमियरमा साकेला नाँच प्रस्तुत गरिएको थियो। फिल्मका मुख्य कलाकार दयाहाङ राई, पशुपति राई लगायतले साकेला प्रस्तुत गरे।
फिल्म हेर्न एमाले नेता रघुजी पन्त, पूर्वमन्त्री तथा माओवादी नेता सुदन किराँती पुगेका थिए। साथै निश्चल बस्नेत, स्वस्तिमा खड्का,केकी अधिकारी, मिरुना मगर, आँचल शर्मा, कार्म, मेनुका प्रधान, सृष्टि श्रेष्ठ, नाजिर हुसेन लगायतका कलाकारहरूको पनि उपस्थिति थियो।
जहाँ सबैले फिल्मको कथावस्तुदेखि दयाहाङको फरक भूमिकाको पनि खुलेर प्रंससा गरे। पशुपति राई र प्रसन राईको अभिनयको पनि तारिफ भएको थियो।
निर्देशक तथा कलाकार निश्चल बस्नेतले नवीन सुब्बाजस्ता निर्देशकको सिनेमा हेर्न पाउनु ठूलो कुरा भएकाे बताए। अभिनेत्री स्वस्तिमा खड्काले पनि फिल्म हेर्दा निकै मज्जा आएको सुनाइन्।
एउटा गाउँमा विकाससँगै भित्रिने विभिन्न समस्या र त्यसले पार्ने प्रभावले भावुक समेत बनाएको उनको भनाइ थियो।

त्यसैगरि, केकी अधिकारीले ‘गाउँ आएको बाटो’ दयाहाङको करियरकै उत्कृष्ट सिनेमा भएकाे बताइन्। ‘डिग्री माइला’मा एकसाथ काम गरेकी आँचल शर्माले दया दाई ‘डिग्री माइला’को भन्दा फरक माइला पाउनुका साथै निकै फरक र क्यारेक्टरमा सुहाउँदो पाएको बताइन्।
एमाले सांसद रघुजी पन्तले निकै राम्रो फिल्म बनेको बताए। उनले यस्त फिल्मले विकाससँगै गाउँमा पारेको प्रभाव र त्यहाँको संस्कृतिमाथिको असरलाई सुन्दर ढंगले प्रस्तुत गरेको तर्क गरे।
सुदन किँरातीले आफू राई समुदायमा जन्मे हुर्केकाले पनि फिल्मले निकै छोएको सुनाए। नेपालमा यस्ता सिनेमा बन्न जरुरी भएको बताउँदै उनले नवीन सुब्बालाई आगामी दिनमा पनि यस्ता विषयमा धेरै फिल्म बनाउन सुझाव दिए।
यस फिल्ममा दयाहाङसहित पशुपति र प्रसनसहित केशव राई, सुमित्रा राई, प्रेम सुब्बा, राज थापाको पनि अभिनय छ।
सुब्बासहित अमोद राईको लगानी रहेको फिल्मको छायांकन भोजपुर, सुनसरी र संखुवासभामा भएको थियो।
अन्तर्राष्ट्रिय फेस्टिभलमा यो फिल्म ‘अ रोड टु भिलेज’ नामबाट प्रदर्शन भइसकेको छ। क्यानडाको टोरोन्टो फिल्म फेस्टिबलमा वर्ल्ड प्रिमियर भइसकेको यो फिल्म दक्षिण कोरियाको बुसान, ब्राजिलको साउ पाउलो, भारतको मुम्बई, स्वीडेनको गोटबर्ग, चीनको बेइजिङलगायत डेढ दर्जन चलचित्र महोत्सवमा छनोट भइसकेको छ।
फिल्मको पटकथा लेखनमा निर्देशक सुब्बाले महेश राईसँगको सहकार्यमा गरेका छन्। अमोद राई र निर्देशक सुब्बा फिल्मको निर्माता हुन्। राई जातिको सामाजिक पृष्ठभूमिमा आधारित यो फिल्म आगामी जेठ २५ गते रिलिज हुँदै छ।
Shares

प्रतिक्रिया