ad ad

कला


यी हुन् २०८१ को रिलिज सेड्युलमा चढेका दुई दर्जन फिल्म

यी हुन् २०८१ को रिलिज सेड्युलमा चढेका दुई दर्जन फिल्म

लक्ष्मी बलायर
बैशाख १, २०८१ शनिबार १९:३९, काठमाडौँ

आज नयाँ वर्ष २०८१ को पहिलो दिन। नयाँ वर्षको छेकोमा शुक्रबारबाट ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ प्रदर्शनमा आइसकेका छन्। दर्शकले आफ्नो रुचिअनुसार यी फरक-फरक जनराका यी फिल्मसँगै नयाँ वर्षको सुरुवात गर्न सक्नेछन्।

रामबाबु गुरुङको लेखन र निर्देशनमा बनेको डिग्री माइलामा दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिकामा छन्। फिल्मले शैक्षिक बेरोजगारीको कथा समेटेको छ। कबड्डीजस्ता हिट सिरिज दिइसकेका रामबाबुको यस फिल्मले राम्रै व्यापार गर्ने देखिन्छ।

फिडेल देवकोटा डेब्यु निर्देशित फिल्म ‘द रेड सुटकेस’ इटालीको भेनिसमा प्रिमियर भएको थियो। विभिन्न अन्तर्राष्ट्रिय फेस्टिबलको फन्को लगाएपछि नेपालमा प्रदर्शन गरिएको हो। यस फिल्मले वैदेशिक रोजगारीका सामाजिक असरको कथा भन्छ। यसमा सौगात मल्ल, सृष्टि श्रेष्ठ, विपिन कार्की र प्रवीण खतिवडाको अभिनय छ।

यो साता विदेशी फिल्म नहुनु। अर्को शुक्रबार नेपाली फिल्मको रिलिज सेड्युल नहुनु। यस्तोमा डिग्री माइलासहित द रेड सुटकेसलाई पनि फाइदा पुग्ने देखिन्छ।

यो वर्षका लागि दुई दर्जन फिल्मले रिलिज डेट तोकिसकेका छन्। जसमा धेरैजसो बहुप्रतीक्षित फिल्महरू नै रहेका छन्। जसकारण २०८१ फिल्म क्षेत्रका लागि विशेष हुने देखिन्छ।

वैशाख १४ गतेबाट केकी अधिकारी निर्मित फिल्म ‘बोक्सीको घर’ आउँदै छ। नाटकमाथि आधारित रहेर बनेको यो फिल्म रिलिजअगावै निकै चर्चामा छ। फिल्मको ट्रेलरदेखि गीतलाई दर्शकहरूले निकै मन पराएका छन्। सुलक्षण भारतीको निर्देशन/लेखन रहेको फिल्ममा केकी र सुलक्षणसहित रमा थपलिया, स्वेच्छा राउत लगायतको अभिनय छ।

वैशाख २८ गतेबाट पूर्वमिस इन्टरनेसनल नीति शाहको डेब्यु फिल्म ‘खजुरे ब्रो’ रिलिज हुँदै छ। सुरज सुनुवारको लेखन र निर्देशनमा बनेको फिल्ममा नीतिसहित रेयर राई, महेश त्रिपाठी, पवन लिम्बू, नवीन मानन्धरलगायतको अभिनय छ।

खजुरे ब्रो फिल्मको दृश्य
वैशाख २९ बाट उपेन्द्र सुब्बा निर्देशित बहुप्रतीक्षित फिल्म ‘मनसरा’ पनि हलमा लाग्दै छ। यस फिल्ममा मिरुना मगर, प्रवीण खतिवडा, दयाहाङ राई र मेनुका प्रधानको अभिनय छ।

यस फिल्मले राम्रै कमाइ गर्ने अनुमान गरिएको छ। किनकि गत वर्ष वैशाखमा रिलिज भएको उपेन्द्र सुब्बाको पहिलो निर्देशकीय फिल्म ‘जारी’ बक्सअफिसमा सुपरहिट भएको थियो। जुन २०८० कै सर्वाधिक कमाइ गर्ने फिल्म पनि हो।

जेठमा त बक्स अफिसमा ठूलै भिडन्त हुने देखिन्छ। किनकि, जेठ १० गतेको लागि तीनवटा फिल्मले सार्वजनिक हुने तिथि तोकिसकेका छन्। सुरुमा यस मितिमा अनमोल केसी स्टारर ‘फर्की फर्की’ को डेट तय भएको थियो। त्यसपछि पूजा शर्माको ‘दान्भी’ पनि यसै मितिमा जुध्न आयो।

एकसाताअघि मात्रै दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ ले पनि जेठ १० गतेकै मिति तोकेको छ। यस फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका छ।

यसकारण जेठ १० गतेले यतिखेर धेरैको ध्यान तानेको छ। 

जेठ १८ गतेबाट भने नवीन सुब्बाको फिल्म ‘गाउँ आएको बाटो’ सार्वजनिक हुने तालिका छ। दयाहाङ राई र पशुपति राईको मुख्य भूमिका रहेको फिल्मको प्रिमियर टोरन्टो फिल्म फेस्टिभलमा गरिएको थियो।

अन्तर्राष्ट्रिय फेस्टिभलमा ‘अ रोड टु भिलेज’ नामबाट फन्को लगाएपछि यो फिल्म नेपालका हलमा देखापर्न लागेको हो। फिल्ममा दयाहाङ र पशुपतिका साथै प्रसन राई, केशव राई, सुमित्रा राई, प्रेम सुब्बा र राज थापाको अभिनय छ। सुब्बा र महेश राईको पटकथा रहेको फिल्मले गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावको कथा समेटेको छ। यो फिल्म राई जातिको सामाजिक पृष्ठभूमिमा आधारित छ। 

जेठ २५ गते ‘लन्डन टु पेरिस’ को प्रदर्शन मिति घोषणा भइसकेको छ। घनश्याम लामिछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’ साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा र कवीर खड्काको अभिनय छ।

असार २८ बाट ‘घर ज्वाइँ’ रिलिज हुने पक्का छ। अनिल बुढा मगरको निर्देशनमा बनेको फिल्मको चैतको पहिलो साता मात्रै सुटिङ सकिएको हो। यस फिल्ममा दयाहाङ राई र मिरुना मगर नै मुख्य भूमिकामा छन्।  

साउनको लागि अहिलेसम्म प्रदर्शन मिति तय गरिएको छैन। त्यसपछि सिधै भदौ फिल्म रिलिज हुनेछन्। सुटिङ सुरु नहुँदै सुदर्शन थापाले ‘रावायण’ को रिलिज डेट तोकेका छन्। पल शाह र पूजा शर्मा मुख्य भूमिकामा बन्ने यो फिल्म भदौ २१ गते तीजका अवसरमा रिलिज हुनेछ। राजकुमार साने निर्देशित सिटामोललाई पनि तीजमा रिलिज गरिनेछ। सौगात मल्ल र बेनिशा हमालले केही समयअघि यस फिल्मको छायाङ्कन सकेका थिए। 

दसैँका अवसरमा पनि तीन नेपाली फिल्म भिड्दै छन्। दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा ५’ दसैँमा हलमा लाग्नेछ। दिनेश राउतको ‘गाउँ नै रमाइलो’ २०८१ को दसैँमा रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको छ। यस फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल र मिरुना मगर मुख्य भूमिकामा छन्।

त्यस्तै, स्वस्तिमा खड्काको ‘बेहुली फ्रम मेघौली’ को पनि दसैँकै लागि तयार हुँदै छ। सजन काफ्ले र आकाश बरालले निर्देशन गरेको फिल्ममा स्वस्तिमासहित निश्चल बस्नेत, विजय बराल, सिम्रन खड्का, आमिर गौतमलगायतको अभिनय छ।

जितु नेपाल र नीति शाहको फिल्म ‘ज्वाइँसाब’ तिहारमा रिलिज गर्ने योजना छ। यस फिल्मको छायांकन भने वैशाख १५ गतेबाट सुरु गर्ने निर्माण टिमको तयारी छ। 

केही निर्माताले भने डेट नतोके पनि सन् २०२४ (आउँदो पुस मध्य) भित्रै आफ्नो फिल्म प्रदर्शन गर्ने घोषणा गरेका छन्। नवीन चौहान डेब्यु निर्देशनमा बन्ने  ‘ऊनको स्वीटर’ सन् २०२४ भित्रै रिलिज गर्ने योजना छ। यस फिल्ममा विपिन कार्की र मिरुना मगरको मुख्य भूमिकामा देखिनेछन्।

एक्सन अभिनेता विराज भट्ट पनि आफ्नो छोरा समीरलाई लिएर नयाँ फिल्म बनाउने तयारीमा छन्। विराजकै निर्देशनमा बन्ने फिल्म ‘१२ गाउँ’ पनि सन् २०२४ भित्र रिलिज गर्ने योजना रहेको छ।

बुलबुल फेम्ड विनोद पौडेलको निर्देशनमा बनेको ‘भूठान’ लाई २०२४ को अन्त्यसम्म विश्वव्यापी रिलिज गर्ने लक्ष्य छ। चर्चित हलिउड अभिनेता ब्रुस डर्नले अभिनय गरेको यस फिल्ममा हरिवंश आचार्य र दयाहाङ राई मुख्य भूमिकामा छन्।

भूठान फिल्मको दृश्य

सन्तोष सेनको ‘बलिदान’ मुख्य अभिनेताका रूपमा समीर भट्टले डेब्यु गर्दै छन्। यस फिल्मलाई पनि २०८१ मा रिलिज गर्ने लक्ष्य छ। बलिदानसहित नाजिर हुसेनको ‘गुन्यो चोलो’, मलिका महतको ‘सतीदेवी’, मेनुका प्रधान स्टारर ‘गुराँस’ प्रदीप खड्का स्टारर ‘एक्टर’, आँचल शर्मा अभिनित ‘एक मुठ्ठी बादल’, वर्षा शिवाकोटीको ‘मोतीबेनी’, दीपेन्द्र लामाको ‘दु:खी आत्मा’  लगायतका फिल्म यसै वर्ष रिलिज हुने सम्भावना छ।

त्यस्तै, फुटबल खेलाडी अञ्जिला तुम्बापो सुब्बाको जीवनीबाट प्रभावित फिल्म ‘अञ्जिला’ को रिलिज मिति यसै वर्षको लागि तय भएको छ। मिलन चाम्स निर्देशित यो फिल्म २०८१ माघ ११ गते रिलिज हुनेछ।

दिवाकर भट्टराईको ‘मायावी’ पनि यसै वर्ष हलमा चलाउने गरी तयारी हुँदै छ। यस फिल्ममा दीपिका पसाइ र पल शाहको मुख्य भूमिका छ।यसको सुटिङ सकिइसकेको छ।

दीपेन्द्र के खनालको निर्देशनमा हाल ‘मेयर’ को छायाङ्कन सर्लाहीमा चलिरहेको छ। मेयर सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको जीवन संघर्षमा आधारित छ। हालै मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापामाथि भ्रष्टाचार गरी अकुत सम्पत्ति जम्मा गरेको आरोपमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। यस्तो विवादले यो फिल्म हलमा आइपुग्नेमा आशंकाको बादल मडारिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .