ad ad

कला


‘महाजात्रा’ हेर्दाहेर्दै ओलीले हरिवंशलाई भने : बदमास बनेको पनि सुहाउँदो रहेछ

‘महाजात्रा’ हेर्दाहेर्दै ओलीले हरिवंशलाई भने : बदमास बनेको पनि सुहाउँदो रहेछ

लक्ष्मी बलायर
चैत १४, २०८० बुधबार १९:२५, काठमाडौँ

गत शुक्रबार बिहान। पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेसबुकमा एक स्टाटस लेखे। जुन फिल्म 'महाजात्रा'सँग सम्बन्धित थियो।

फिल्म रिलिज भएकै दिन ओलीले फेसबुकमा पोस्टर सेयर गर्दै महाजात्राका कलाकार र निर्देशकको प्रशंसा गरेका थिए। हरिवंश आचार्य मन पर्ने कलाकार भन्दै उनले 'महाजात्रा' हेर्ने इच्छा समेत व्यक्त गरे।

नभन्दै सोमबार बेलुकी ओली 'महाजात्रा' हेर्न सुन्धारास्थित सीटीसी मलस्थित सीडीसी सिनेमाजमा पुगे। श्रीमती राधिका शाक्य, पार्टीका नेताहरू ईश्वर पोखरेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली, रघुजी पन्त, कोमल ओली लगायत ४० जनाजति उनीसँगै फिल्म हेर्न पुगेका थिए।

ओलीले आफू अभिनित फिल्म हेर्न आएको थाहा पाएपछि हरिवंश पनि हल पुगे। उनले ओलीसँगै बसेर फिल्म हेर्न थाले। फिल्म हेर्दा ओलीसहित नेताहरूले निकै रमाइलो मानेको सुनाउँछन् हरिवंश आचार्य।

हरिवंश यस फिल्ममा भ्रष्ट नेताको भूमिकामा छन्। फिल्म हेर्दा ओलीले आफूलाई किन बदमासको भूमिका गरेको भनेर सोधेको कलाकार आचार्यले सुनाए।

'म त हाफ टाइमपछि मात्रै पुगेको थिएँ। म ओलीजीसँगै फिल्म हेर्न बसेको थिएँ। मलाई सिनेमा हेरेर बस्दाखेरी तपाईं राम्रो मान्छे हो। तर, हरिबहादुरजस्तै यसमा पनि बदमास भएर खेल्नुभएको रहेछ। किन बदमास नै बदमास भएर खेलेको भनेर सोध्नुभयो। तर, तपाईंलाई त बदमास भएको पनि सुहाउँदो रहेछ पनि भन्नुभयो,' उनले भने।

ओलीसहित सम्पूर्ण टोलीले नै फिल्म हेरेर रमाइलो मानेको र सकारात्मक प्रतिक्रिया दिएको सुनाए। हुन पनि मिडियासँगको कुराकानीमा ओलीले फिल्मको कथा र अभिनय मन परेको बताएका थिए। उनले फिल्मलाई १० मा ९.५ अंक समेत दिन भ्याए।

'फिल्मलाई १० मा १० अङ्क दिन केही राजनीतिका विषयले रोक्यो, त्यसकारण ०.५ घटाएँ। फिल्म काल्पनिक कथामा बन्छ र राजनीति यथार्थमा चल्छ। फिल्ममा राजनीतिमा जति विकृतिहरू देखाइएको छ। त्यति चाहिँ छैन। राजनीतिमा सबै मान्छे बिग्रेका पनि छैनन्,' उनले भनेका थिए।

साथै ‌ओलीले हरिवंशले निर्वाह गरेको पात्र पुण्यप्रसादको बारेमा पनि प्रतिक्रिया दिए।

ओलीको प्रतिक्रियाबारे हरिवंश भन्छन्, 'उहाँले मेरो पात्रको बारेमा पनि प्रतिक्रिया दिनुभएको थियो। बाध्यताले पुण्यप्रसादले गल्ती स्वीकारे पनि अझै सप्रिएको देखिँदैन भन्नुभएको थियो। यो सिनेमा सकिए पनि बखेडा झिक्न सक्छ भन्ने उहाँको भनाइ थियो।'  

‌ओलीको मनपर्ने कलाकारको सूचीमा पर्दा दंग छन् हरिवंश। ओलीले आफूहरूप्रति जहिल्यै पनि राम्रो व्यवहार गर्ने उनको भनाइ छ।

नेपालखबरसँग हरिवंश भन्छन्, 'ओलीजीले जहिल्यै भेटे पनि हामीसँग सौहार्द्रपूर्ण कुरा गर्नुहुन्छ। हामीसँग सकारात्मक कुरा गर्नुहुन्छ। उहाँले मनपर्ने कलाकारमा राख्नुभएको छ। भेट्दा पनि मनपर्ने नै व्यवहार गर्नुहुन्छ। उहाँको विशेषता भनेकै सबैसँग राम्रो सम्बन्ध राख्ने सक्ने हो।'

हरिवंश ओलीलाई नेपालको कलासाहित्य र गीतसंगीत बुझ्ने व्यक्ति मान्छन्।

'उहाँ कला/साहित्य र गीतसंगीत बुझ्ने मान्छे हो। मैले बुझेअनुसार उहाँ जेलमा बस्दा पनि मादल, हार्मोनियमदेखि गिटार बजाउनुहुन्थ्यो। गीत पनि गाउनु हुन्थ्यो रे। त्यसकारण पनि कलाप्रति उहाँ नजिक हुनुहुन्छ जस्तो लाग्छ।'

ओलीले नेपाली कलाक्षेत्रलाई माया गर्ने कलाकार आचार्यको अनुभव छ। आफ्नो हरेक कामको प्रतिक्रिया दिने गरेको सुनाउँछन् उनी।

'उहाँ प्रधानमन्त्री हुँदा एकदुई सामाजिक संस्थाको कामको लागि मदन दाइ र म भेट्न गएका थियौँ। १५ मिनेट भेट्न भनेर उहाँसँग एकडेढ घण्टा नै कुरा गरेका थियौँ। उहाँ निकै फ्रेन्ड्ली लाग्छ,' उनले भने, 'कहिलेकाहीँ म्युजिक भिडिओ हेरेर पनि प्रतिक्रिया दिनुहुन्छ। भेट्दा मैले हेरेको थिएँ, राम्रो लाग्यो भन्नुहुन्छ। उहाँलाई गीतसंगीतको विषयमा पनि ज्ञान रहेछ। गीतको सुर-बेसुर, तालहरू सबै थाहा छ।'

ओलीले फिल्म हेर्न इच्छा व्यक्त गरेपछि निम्तो गरेको हरिवंशले बताए। तर, ओली आफैँले हल बुक गरेर फिल्म हेरेको दाबी गर्छन् उनी।

'उहाँले फेसबुकमा राखेपछि हामीले कहिले आउनुहुन्छ भनेर सोधेका हौँ। रिलिजकै दिनमा शुभकामनासहित हेर्न इच्छा राखेपछि सोध्ने हाम्रो कर्तव्य हो। त्यसपछि उहाँहरूले नै हल बुक गरेर फिल्म हेर्न आउनुभएको हो। हल बुक गरेर नेताहरू हेर्न पुग्दा निकै खुसी लाग्यो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .