कला


शान्तिश्रीसँग स्टेज संवाद : बोलमाया गाउँदा धेरैपटक रोएकी छु

शान्तिश्रीसँग स्टेज संवाद : बोलमाया गाउँदा धेरैपटक रोएकी छु

लक्ष्मी बलायर
माघ ८, २०८० सोमबार ११:५०, काठमाडौँ

पछिल्लो समयकी सर्वाधिक चर्चित गायिका हुन्- शान्तिश्री परियार।

'बोलमाया' बाट हिट भएपछि शान्तिलाई पछाडि फर्किएर हेर्नु परेन। बोलमायासहित 'गलबन्दी च्यातियो', 'कुरा बुझ्न पर्छ', 'चौका दाउ','सोल्टी बजारमा', 'जाम भो साइली', 'आगो बिना बिडी जल्दैन', 'माझी दाइ' र 'अरेली काँडैले'  शान्तिले गाएका लोकप्रिय गीतहरु हुन्। 

आफ्नो स्वरले दर्शक-श्रोतालाई मोहित बनाएकी शान्तिको रेकर्डिङसहित मेला/महोत्सवमा पनि अत्याधिक माग हुँदै आएको छ। अहिले पनि शान्तिलाई मेला-महोत्सवकै चटारो छ। तिनै व्यस्त गायिका शान्तिश्री परियारसँग गरिएको स्टेजकेन्द्रित कुराकानी: 

अहिले त महोत्सवको सिजन, देशविदेशका मेला-महोत्सवमा पुग्न भ्याइन्भ्याइ होला है? 
होनी! मंसीर लागेदेखि नै मेला-महोत्सव निकै हुन्छन्। त्यो बेलादेखिनै देशविदेशका कार्यक्रममा व्यस्त छु। अहिलेपनि घरबाट निस्केको एक हप्ता भन्दा बढी भयो। पश्चिमतिरको महोत्सव लगभग सकिए। अब फेरि पूर्वतिरका थुप्रै कार्यक्रम तय भएका छन्। त्यतैतिर जाने तयारीमा छु।

स्टेजमा चढ्दा धेरैजसो कुन गीत गाउनुहुन्छ?

ठ्याक्कै यो गीत भन्ने त हुँदैन। त्यही कार्यक्रमको माहोल अनि अडियन्सको मेन्टालिटी हेरेर हुन्छ। यदी सुन्ने खालको  अडियन्स हुनुहुन्छ भने बोलमायाबाट कार्यक्रम सुरु गर्छु। तर, रमाइलो गर्ने खालका अडियन्स हुँदा गलबन्दीलगायतका गीत गाउँछु। 

स्टेज चढेपछि एकचोटीमा कतिवटा गीत गाउनुहुन्छ?
एकचोटीमा स्टेजमा जाँदा ८/१० गीत गाउन्छु। जसमा चर्चित गीतहरु छुट्दैनन्।

स्टेजमा कुन गीत गाउँदा दर्शकले बढी रमाइलो मान्नुहुन्छ वा वान्समोर भन्नुहुन्छ?
प्राय: सबैजसो गीतमा रमाउनुहुन्छ। तर, धेरैजसो गलबन्दीमा बढी वान्समोर आउँछ। यसपटक त अरेली काँडेले गीतको पनि वान्समोर आइरहेको हुन्छ। 

नछुट्ने गीतहरु कुन-कुन हुन्?
हरेक स्टेजमा नछुट्ने गीत गलबन्दीनै हो। अहिले अरेली काँडै बनेको छ। यस गीतको पनि दर्शकले निकै खोज्नुहुन्छ। 

स्टेजमा गइसकेपछि कति घण्टा प्रस्तुति दिनुहुन्छ?
मैले अहिले एक घण्टाजति प्रस्तुति दिइरहेकी हुन्छु। 

कार्यक्रमको लागि धेरै ठाउँ पुग्नुभएको छ। अहिलेसम्म यादगार प्रोगाम कहाँको रह्यो?
गतवर्ष म आफ्नै गृहजिल्ला रोल्पाको महोत्सवमा गएकी थिए। जहाँ मेरो बुवामम्मी पनि आउनुभएको थियो। प्रस्तुति दिनुअघि मैले उहाँहरुलाई स्टेजमा बोलाएर खादा लगाएर सम्मान गरे। उहाँहरुकै अघि चर्चित गीतहरु गाउने मौका पाए।  त्यो कार्यक्रम निकै याद आउँछ। आमाबुवालाई स्टेजमा बोलाएर खादा लगाएर स्टेजको सुरुवात गर्नु मेरोलागि ठूलो कुरा थियो। उहाँहरु निकै खुसी हुनुभएको थियो। त्यो पल म कहिल्यै बिर्सिदिन। 

अनि अडियन्ससँगको मिठो अनुभव छैन?
एउटा सानो बाबु आएर माया गरेको निकै सम्झना आउँछ। बोलमाया सार्वजनिक भइसकेको थियो। महोत्सवको लागि म नवलपुरको पुगेकी थिए। महोत्सवमा बोलमाया गीतमा प्रस्तुति सुनेपछि सात/आठ वर्षको बाबु स्टेजमा आउनुभयो। बाबुले स्टेजमा आएर रुन्चे अनुहारमा म तपाईंलाई किस गर्न सक्छु भन्नुभयो। खासमा बोलमायाको कथाजस्तै उहाँको रियलमा भएको रहेछ। उ पेटमा हुँदाखेरी बुवा विदेशमा बितेको रहेछन्। जसले गीत सुनेपछि उहाँ निकै भावुक भएर मलाई भेट्नु आउनुभयो। मैले बाबुलाई काखमा लिँदा उहाँले चुम्बन गर्नुभएको थियो। त्यतिबेला म पनि निकै इमोसनल भएकी थिए। 

तपाईं आफैँ पनि भावुक हुनुहुन्छ। गीत गाउँदा गाउँदै कहिले रुनुभएको छ?
स्टेजमा प्रस्तुति दिँदा धेरैपटक रोएकी छु नी। बोलमाया गीत गाउँदा दर्शकहरु रुदा म पनि निकै रोएकी छु। बोलमाया गीत सुन्दा अडियन्स रोइरहेको देखिन्छ। त्यो देखेर मेरो आँखामा पनि कैयौपटक आँशु आएको छ। 

तपाईंलाई मन पराउने दर्शकस्रोता निकै हुनुहुन्छ। मेला महोत्सवमा जाँदा दर्शकहरुका कारण कत्तिको दु:ख पाउनुभएको छ?
उहाँहरुको कारण दु:ख भन्ने हुँदैन। धेरैजसो फ्यानहरु फोटो खिच्न आउनुहुन्छ। कसैको चित्त नदुखोस् भनेर सकेसम्म म फोटो खिचिरहेकी हुन्छु। तर, कोही कोही भने पटक पटक फोटो खिच्न आएर हैरान गर्नुहुन्छ। कतिपयले त च्याप्पै अँगालो हालेर फोटो खिच्न खोज्नुहुन्छ। त्यस्तोमा असहज फिल हुन्छ। त्यतिखेर चाँहि म हात हटाइदिन्छु। यसरी हुन्न यसरी खिँचौं है भन्छु। 

तपाईं नेपाल र विदेशमध्ये कताको कार्यक्रममा बढी रमाइलो मान्नुहुन्छ?
सबैतिर नेपाली अडियन्सनै हो, मलाई सबैतिर रमाइलो नै लाग्छ। त्यही फरक हो नेपालमा हजारौँ हजारौँ अडियन्ससामु प्रस्तुति दिनुपर्छ। विदेशमा भने सिमित मात्रै हुनुहुन्छ। विदेशमा भएपनि उहाँहरुको लोक संगीतप्रतिको मोह निकै हुन्छ। त्यो हिसाबले नेपाल र विदेशको दाज्न मिल्दैन। सबैतिर गीतसंगीतलाई एकैखाले माया गर्नुहुन्छ। 

तपाईंलाई कार्यक्रमको लागि थुप्रै आयोजकबाट अफर आइरहेको हुन्छ। कार्यक्रम कसरी छनोट गर्नुहुन्छ?
कार्यक्रमको अफर त धेरै आइरहेको हुन्छ। तर, आयोजक कस्तो हो भनेर एकचोटि बुझ्छु। प्रोगाम गर्दा सबै त पहिलेदेखि चिनेको भन्ने हुँदैन। सुरुमा त जो पनि नयाँ भइहाल्छ। तर, एकचोटि भने के कस्तो हो भनेर बुझ्छु। 

यत्तिका कार्यक्रममा जानुहुन्छ, कमाइ पनि राम्रै हुन्छ होला है?
हाँस्दै, अहिले त सिजन हो। राम्रै कमाइ हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .