कला


यी हुन् युट्युबमा सर्वाधिक हेरिएका ६ नेपाली गीत

यी हुन् युट्युबमा सर्वाधिक हेरिएका ६ नेपाली गीत

लक्ष्मी बलायर
माघ १, २०८० सोमबार १६:५९, काठमाडौँ

गत शुक्रबार 'कुटुमा कुटु' बोलको गीतले युट्युबमा २० करोड भ्युज पाएको छ। असिम शाह निर्देशित फिल्म '२ रुपैयाँ' मा समावेश यो गीत युट्युबमा सर्वाधिक हेरिने नेपाली गीत हो।
 

राजनराज शिवाकोटीको शब्द र संगीत रहेको यो गीत झण्डै सात वर्षअघि सार्वजनिक भएको थियो। जसमा शिवाकोटीसहित मेलिना राई र राज इशानको स्वर सुन्न सकिन्छ।
 
यस गीतको भिडिओमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, आशिफ साह, बुद्धि तामाङ फिचर्ड छन्। गीतको ऐतिहासिक रेकर्ड सर्जकसहित कलाकारका लागि पनि प्लस पोइन्ट बनेको छ। 

कुटुमा कुटसहित अन्य केही गीतहरु पनि छन्, जसलाई युट्युबमा दर्शकहरुले निकै मन पराएका छन्। यी हुन् युट्युबमा सर्वाधिक भ्युज पाउन सफल गीत: 

माया लुकी लुकी 
'कुटुमा कुटु' पछि युट्युबमा सर्वाधिक हेरिने दोस्रो गीत हो: माया लुकी लुकी। टीका प्रसाईंको स्वर रहेको यस गीतले १४ करोड ५४ लाख बढी भ्युज पाइसकेको छ। आनन्द अधिकारीको शब्द रहेको गीतमा आशिष अविरलको कम्पोज र एरेन्ज छ।

५ वर्षअघि रिलिज भएको गीतको भिडिओमा सरोज अधिकारी र आश्मा विश्वकर्मासहित कार्टुन्ज क्रुको प्रस्तुति  छ। डान्सिङ प्याटर्न स्टेप र लय पनि गीत चल्नुका बलिया आधार हुन्। गीतको भिडिओलाई सरोजले नै निर्देशन गरेका हुन्। 

साली मन पर्यो
तेस्रो स्थानमा पनि रियल कपल निश्चल र स्वस्तिमाकै बर्चस्व छ। हेमराज विसी निर्देशित फिल्म 'घामड शेरे' मा समावेश 'साली मन पर्यो' बोलको गीत पनि सर्वाधिक भ्युज पाउने गीत हो। 

काली प्रसाद बाँस्कोटाको शब्द/संगीत रहेको गीतमा कालीसहित अस्मिता अधिकारीको पार्श्व गायन रहेको छ। सालीभेनाबीचका रमाइला संवाद प्रस्तुत गरिने गीत नेपाली समारोहमा अत्याधिक गुञ्जिन्छ। हालसम्म यस गीतलाई युट्युबमा १२ करोड २६ लाख बढी पटक हेरिएको छ। 

फुलबुट्टे सारी 
राजनराज शिवाकोटीकै शब्द र संगीत रहेको अर्को गीत सर्वाधिक हेरिने गीतको सूचीमा पर्छ। मिलन नेवारको आवाज रहेको 'फुलबुट्टे सारी' चौथो स्थानमा छ। 

यो गीत वि.सं २०६६ मार्मिक लामाको स्वरमा रेकर्ड गीतको फिमेल भर्सन हो। ‘फुलबुट्टे सारी’ गीत लकडाउनको समयमा निकै चर्चामा आएको थियो। त्यसपछि मिलनको स्वरमा यस गीतको फिमेल भर्सन सार्वजनिक गरिएको हो। 

राजेश पुमा राई निर्देशित गीतको भिडियोमा पल शाह र मलिका महत फिचर्ड छन्। प्रेमिल यो गीतमा पल र मलिकाको जोडीलाई दर्शकले निकै मन पराएका थिए। सञ्जिव बराइलीले एरेन्ज गरेको गीतको भिडिओले हालसम्म १० करोड ९३ लाख पटक भ्युज पाइसकेको छ। 

चर्चित यो गीत फिमेल भर्सनसहित लिजेन्डरी भर्सन र चाइल्ड भर्सनमा समेत रेकर्ड भइसकेको छ। 

पिरिम नलाउने (दारी फुल्यो बैँसैमा)
आशिष गौतम (सचिन) को 'पिरिम नलाउने' बोलको गीत पनि युट्युबमा सर्वाधिक हेरिने नेपाली गीतको पाँचौँ नम्बरमा छ। अभिनेत्री वर्षा राउतसहित आशिष नै फिचर्ड गीतको भिडियोले  हालसम्म १० करोड ६९ लाख बढी भ्युज पाइसकेको छ।

दीपक शर्माको शब्द र संगीत रहेको गीतमा आशिषसहित मेलिना राईले स्वर भरेकी छिन्। यो मेलिनाका सर्वाधिक हेरिएको दोस्रो गीत समेत हो। सुव्रतराज आचार्य निर्देशित म्युजिक भिडियोलाई नेपालसहित विदेशीहरुले पनि मन पराएका छन्। 

कसरी कसरी २
टंक बुढाथोकीको 'कसरी कसरी २' बोलको गीत पनि सर्वाधिक हेरिएका गीतहरुको सूचीको छैटौँ स्थानमा छ। टंक बुढाथोकीकै शब्द/ संगीत रहेको गीतमा बुढाथोकीसहित मेलिना राईको स्वर रहेको छ। यो गीतको भ्युज पनि झण्डै १० करोड पुग्न लागेको छ। 

कविराज गहतराजको निर्देशन रहेको म्युजिक भिडिओमा सुनिल क्षेत्री, एआर बुढाथोकी, आयुश गुरागाईं, अंशु गुरागाईं लगायतको अभिनय छ। यस गीतलाई हालसम्म युट्युबमा ९ करोड ९१ हजार पटक हेरिएको छ। 

त्यसैगरी, महेश काफ्ले स्वर रहेको 'माया बिरानी', विष्णु माझी र कुलेन्द्र बिकको सालको 'पात टपरी'  पनि १० करोड भ्युज पाउने सन्निकट छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .