कला


‘को–हजबेन्ड’ले क्यानडामा जित्यो उत्कृष्ट सर्ट फिल्म अवार्ड

‘को–हजबेन्ड’ले क्यानडामा जित्यो उत्कृष्ट सर्ट फिल्म अवार्ड

नेपालखबर
मंसिर २, २०८० शनिबार २१:६, काठमाडौँ

बहुपति प्रथाका आधारित डकुमेन्ट्री ‘को–हजबेन्ड’ (सहायक श्रीमान्) ले क्यानडामा नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको छ। 

क्यानडाको टोरोन्टोमा आयोजित सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिबलमा को–हजबेण्डले तीन सय अमेरिकी डलरसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको हो।

आज आयोजित समारोहमा फेस्टिबलका सहनिर्देशकद्वय युनिभर्सिटी अफ साउर्दन क्यालिफोर्नियाकी एशोशियट प्रोफेसर जेनिफर कुल र युनिभर्सिटी अफ कोलारोड बोउल्डरका एशोशियट प्रोफेसर क्रिश्चियन ह्यामन्सले को–हजबेण्डका निर्देशक गणेश पाण्डे र निर्मात्री शारदा गैरेलाई पुरस्कार हस्तान्तरण गरे।

अमेरिकन एन्थ्रोपोलिजिकल एशोशियन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीले ३६ वर्षदेखि हरेक बर्ष अन्तर्राष्ट्रिय सम्मेलनसँगै फिल्म महोत्सव गर्दै आएको छ।

अमेरिका र क्यानडासहित विश्वका विभिन्न देशबाट ५ हजार जना मानवशास्त्रीहरुको सहभागितामा यसबर्ष टोरोन्टो सम्मेलन केन्द्रमा सम्मेलनका साथै फिल्म र मिडिया महोत्सव भइरहेको छ।

उक्त महोत्सवमा संसारभरीबाट मानवशास्त्र र समाजशास्त्रसँग सम्बन्धित हजारौं चलचित्र तथा वृत्तचित्रहरुको प्रतिस्पर्धामा नेपालको विशिष्ट परिवेशमा बनेको वृत्तचित्र को–हजबेण्डलाई उत्कृष्ट अवार्ड घोषणा गरिएको हो।

‘विश्वका प्रतिष्ठित प्राध्यापक र मानवशास्त्रीहरुको माझमा पुरस्कार थाप्न पाउँदा निकै खुसी र गर्व लागेको छ। नेपालमा बनेको डकुमेन्ट्री फिल्मले विभिन्न देशका डकुमेन्ट्रीबीच प्रतिस्पर्धामा जित्नु आफैमा गर्वको कुरा हो,’ निर्देशक पाण्डेले भने।

अमेरिका र क्यानडाका क्याम्पस र विश्व विद्यालयमा को–हजबेण्डलाई सन्दर्भ सामाग्रीका रुपमा पठनपाठनमा सहभागी गराइदिने भएको कुरा थाहा पाउँदा निकै खुसी लागेको पनि उनले बताए। ‘मानवशास्त्रसँग सम्बन्धित अध्ययन गर्ने विभिन्न विश्वविद्यालयहरुलाई एउटा सन्दर्भ सामाग्रीको रुपमा सुवर्ण अवसर समेत प्रदान गर्ने उत्कृष्ट सन्दर्भ सामाग्रीको रुपमा राख्ने संस्थाको तर्फबाट घोषणा गरेकोमा आफैमा गौरवान्वित लागेको छ,’ उनले भने। 

यसअघि पनि को–हजबेन्डले विश्वका प्रतिष्ठित चलचित्र महोत्सवहरुमा अवार्डहरू जितिसकेको छ।

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री कर्णाली प्रदेशको हुम्लाको भरगाँउमा छायाङ्ककन गरिएको हो।

यस डकुमेन्ट्री फिल्ममा जेठो दाजुलाई मुख्य श्रीमान र भाइहरुलाई सहायक श्रीमानको रुपमा देखाइएको छ। डकुमेन्ट्रीले हुम्ला, डोल्पा लगायतका हिमाली क्षेत्रमा रहिआएको बहुपति प्रथाको यथार्थलाई चित्रण गरेको छ।

एक वर्षको अनुसन्धान र तीन वर्ष छायाङ्कन गरी ४ वर्षको मेहेनतपछि निर्देशक पाण्डेले बहुपति प्रथामा आधारित ‘सहायक श्रीमान्’ निर्माण गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad