ad ad

कला


जब नारायण गोपालले दिलमायासँग गीत गाउने इच्छा व्यक्त गरे

जब नारायण गोपालले दिलमायासँग गीत गाउने इच्छा व्यक्त गरे

गायिका दिलमाया खाती। जसको ८४ वर्षको उमेरमा गएराति निधन भएको छ।


टीका भण्डारी
असोज १७, २०८० बुधबार १५:८, काठमाडौँ

बिछोडको पीडा नसकी खप्न दसैँको बेलामा, तिमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा

सयभन्दा बढी कालजयी गीत गाएकी दिलमाया खातीको यो एउटा चर्चित गीत हो। ‘नाइटिङ्गेल अफ हिमालय’को उपमा पाएकी दिलमाया अविवाहित थिइन्। उनी २० को दशकको उम्दा गायिका हुन्। दार्जिलिङको घुम पहाडमा १९९६ साउन २३ गते अतिरूपा खाती र पिता नन्दलाल खातीका तेस्रो सन्तानका रूपमा जन्मेकी थिइन्- दिलमाया। तीन सन्तानमध्ये कान्छी दिलमायाले बाल्यकालदेखि नै गीत गाउन थालिन्। 

सुरुसुरुमा हिन्दी गीत गाउने दिलमायालाई रेडियो नेपाल र अल इन्डिया रेडियोबाट बज्ने नेपाली गीतले प्रभाव पार्न थाले। दार्जीलिङका सांस्कृतिक कार्यक्रमहरूमा प्रायः नछुट्ने दिलमायालाई आफ्नो पुर्ख्यौली थलोको माया लाग्दै गयो।  

वि.सं. २०१९ मा उनी नेपाल घुम्न आइन्। तात्कालीन मन्त्री काजीमान कन्दङबाको घरमा एक दिनको बसाइले उनको जीवनले कोल्टे फेर्‍यो। त्यहाँ उनको आवाज सुनेका कन्दङबाको परिवारले दिलमायालाई रेडियो नेपालसँग सम्पर्क गरायो।

मन्त्रीको घरबाट निम्तो आएपछि रेडियो नेपालका वरिष्ठ संगीतकार नातिकाजी, शिव शङ्कर र गायिका तारादेवी उनलाई भेट्न पुगे। त्यो भेटले दिलमायालाई रेडियो नेपालसम्म पुर्‍यायो। त्यसपछि नै उनको गायन यात्रा प्रारम्भ भयो।

वि.सं. २०१९ मा रेडियो नेपालद्वारा आयोजित राष्ट्रिय संगीत प्रतियोगितामा दिलमायाले पहिलोपटक भाग लिइन्। उक्त प्रतियोगितामा प्रथम भइन् र स्वर्ण पदक प्राप्त गरिन्। त्यसबेला  रेडियो नेपालमा उनलाई एकसे एक सांगीतिक हस्तीले गीत गाउन आग्रह गरे। यही क्रममा सङ्गीतकार शिव शंकरको सङ्गीतमा उनले पहिलो गीत गाइन्- ‘हिमालको काखमा छ सानो मेरो गाउँ।’

यो गीत पछि तारादेवीको स्वरमा पनि रेकर्ड भयो।

‘हिमालको काखमा’ बोलको गीतले दिलमायालाई निकै चर्चा दियो। ख्याति दियो। त्यसपछि उनले पन्नाकाजीसित ‘मनमा तिम्रो प्रित होस्’ (माधव प्रसाद खनालको शब्द अनि शिव शङ्करको सङ्गीत) बोलको गीत गाइन्। 

गीत गाएर मात्र गुजारा नचल्ने देखेपछि उनी दार्जिलिङमै शिक्षण सेवा गर्न थालिन्। यही क्रममा हिमालय कला मन्दिरसँग जोडिन पुगिन्। त्यस बेलाका चर्चित सर्जक कर्म योञ्जन र गोपाल योञ्जन आदिको सङ्गतले राम्रा-राम्रा गीत गाउँदै गइन्। त्यहाँ कर्म योञ्जन भायोलिन र गोपाल योञ्जन बाँसुरी बजाउँथे।

‘जिउन देऊ मलाई एक्लै’ बोलको गीत त्यसैबेला उनले गाएकी थिइन्। कर्म पनि उक्त गीतलाई आफ्नो टर्निङ पोइन्ट नै मान्छन्। त्यही गीतबाट कर्म वाद्य वादकबाट सङ्गीतकार बनेर चिनिएका थिए।

गोपाल योञ्जनले पनि उनलाई ‘गाउँकी छोरी बढ्यौ है तिमी लौ अब बुझ न’ बोलको गीत दिए। त्यस समय (केही पहिलेदेखि) गोरखा दुःख निवारण संघले संगीत प्रतियोगिता आयोजना गर्न थालिसकेको थियो। यसै क्रममा कर्म-गोपालले दिलमायालाई ‘सावन फर्की फेरि झर्‍यो माया लगाई निष्ठुरी फर्केन, चुडाइँ लग्यो यो मन मेरो जोडी दिने त्यो पापी आएन’ बोलको गीतबाट प्रतियोगितामा उतारे। उक्त गीतले तीनै विधामा पुरस्कार पायो।

गायनमा दिलमाया खातीले, सङ्गीतकारमा कर्मले अनि रचनाकारमा  गोपाल योञ्जनले प्रथम पुरस्कार प्राप्त गरे। 

एकपटक हिन्दी फिल्मका प्रसिद्ध निर्देशन राजकपुर घुममघामका निम्ति दार्जिलिङ आएका थिए। सोही समय हिमालय कला मन्दिरले कार्यक्रम आयोजना गर्‍यो। दिलमायाको स्वर सुनेर राजकपुर निकै प्रभावित भए। यसपछि दिलमायाका गीत ‘सावन फर्की फेरि झर्‍यो’लगायत गीत कलकत्ता एच.एम. भी.बाट पनि रेकर्ड भए।

केही वर्षपछि कर्म योञ्जन र दिलमाया खातीको स्वरमा ‘सम्झेर बुझेर दिइहाल यो जोवन’ बोलको गीत पनि रेकर्ड भयो। यी गीतले दिलमायालाई चर्चाको शिखरमा पुर्‍याए। 

‘तिमीलाई जानीजानी, फेरि भेटेको होइन’ गीतले निकै चर्चा कमायो। पछि रेडियो नेपालमा समेत उनका थुप्रै गीत रेकर्ड भए। उनले तारादेवीसित पनि कतिपय गीत गाएकी छिन्। ‘रातमा निँद मलाई लाग्दैन’ तारादेवीसँग उनले गाएको युगल गीत हो। 

वि.सं. २०१८ मै कलामन्दिरमा नारायण गोपालसित भेट भएपछि उनको जीवनले नयाँ मोड लियो। नारायण गोपालले दिलमाया खातीको स्वर र गायन क्षमता बुझेका थिए। त्यसबेला नारायण गोपाल स्वयंले दिलमायासँग गीत गाउने इच्छा व्यक्त गरेका थिए। नभन्दै केही समयपछि नारायण गोपाल र दिलमाया कलकत्ता गएर दुईवटा गीत रेकर्ड गराए।

‘बिछोडको पीडा नसकी खप्न दसैँको बेलामा’, (स्वर : नारायणगोपाल र दिलमाया, सङ्गीत : नारायणगोपाल, शब्द : रत्नशमशेर थापा) र ‘तिमी देख्दा रहर होला लागेर आउँछ’(स्वर : नारायणगोपाल र दिलमाया, सङ्गीत : गोपाल योञ्जन, शब्द : गोपाल योञ्जन) यी दुवै गीत कालजयी बने।

सुमधुर स्वरकी गायिका दिलमाया खातीले २०१८ देखि २०३० सालसम्म मात्र गीत गाइन्। धेरै गीत गाइनन् । मुस्किलले सयवटा गीत होलान् उनले गाएका। थोरै तर अजर-अमर गीत गाइन्।

‘छल गर्‍यौ हेर्दाहेर्दै मलाई एक्लो पार्‍यौ, रमाएर बाँच्दै थिएँ, रुँदै हिँड्ने पार्‍यौ’ दिलमायाको पछिल्लो गीत हो। यो गीतमा रत्नबहादुर खड्गी शब्द तथा नरेन्द्रराज प्रसाईं छ। 

‘नाइटिङ्गेल अफ हिमालय’बाट सम्मानित दिलमायाले देवकोटा सम्मान, भुपाल सङ्गीत पुरस्कार, नारायण गोपाल स्मृति सम्मान र सन् २०१९ मा गोरखा दुःख निवारक संघ दार्जिलिङ्द्वारा विशिष्ट सङ्गीत सम्मानलगायत विभिन्न विशिष्ट पुरस्कार र सम्मान प्राप्त गरेकी छन्। 

(लेखक भण्डारी संगीतकार हुन्।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .