ad ad

कला


दीपकराज गिरीको आह्वान– केही गरौँ, ‘एक भगवत् गीता’को रिलिज नरोकौँ

दीपकराज गिरीको आह्वान– केही गरौँ, ‘एक भगवत् गीता’को रिलिज नरोकौँ

नेपालखबर
भदौ २२, २०८० शुक्रबार १४:२५, काठमाडौँ

चलचित्र विकास बोर्डले सेन्सरका लागि सिफारिस दिन अस्वीकार गरेपछि यही भदौ २९ गतेदेखि गरिने भनिएको नेपाली चलचित्र ‘एक भगवत् गीता’को प्रदर्शन अन्योलमा परेको छ। 

हिन्दु जागरण नेपाल, शिव सेना नेपाल, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिलगायत १३ वटा धार्मिक संस्थाले चलचित्रको नामअनुसार कथाको कुनै सम्बन्ध नभएको, केवल व्यापारका लागि श्रीमद्‌ भगवद्‌ गीताको दुरुपयोग गर्न खोजिएको भन्दै चलचित्र विकास बोर्डमा निवेदन दिएपछि ‘एक भगवत् गीता’ले सेन्सरका लागि सिफारिस नपाएको हो। 

ती संस्थाले संयुक्त रूपमा दिएको निवेदनमा भनिएको छ, ‘समग्र स्क्रिप्ट अध्ययन गर्दा हालको नामअनुसार ‘एक भगवत् गीता’मा कहीँ कतै छेउ न टुप्पो कुनै सम्बन्ध नभई केवल भगवद्‌गीताको नाम राखेर व्यावसायिक प्रयोजनको लागि पब्लिक सेन्टिमेन्ट मात्र प्रयोग गर्न खोजिएको र सनातनीहरूको पवित्रग्रन्थ श्रीमद्‌भगवद् गीताको दुरुपयोग गर्न खोजेको हाम्रो ठहर छ। तसर्थ यो चलचित्रमा राखिएको नाम एक भगवत् गीता नाम हटाई अर्को नाम राखेर चलचित्र चलाउँदा हाम्रो कुनै आपत्ति नरहेकोले चलचित्रको नाम नफेरी बोर्डबाट सेन्सरको लागि सिफारिस नगरिदिनुहुनको लागि अनुरोध छ। अन्यथा यसबाट पर्न जाने क्षतिको सम्पूर्ण जिम्मेवारी चलचित्र विकास बोर्ड, सेन्सर बोर्ड, निर्माता निर्देशक तथा सरोकारवाला सबै पक्षले नै लिनुपर्ने छ।’

हेर्नुहोस् निवेदन-

जसका कारण ‘एक भगवत् गीता’का निर्माता सुनिलकुमार थापा बिहीबार दिनभर चलचित्र विकास बोर्डमा कुरेर सेन्सरको सिफारिस नलिईकन फर्किन बाध्य भएका छन्। सोही कारण उनले अब चलचित्र बनाउन छाडेर अमेरिका पलायन हुनेसम्मको निराशा व्यक्त गरेका छन्। 

यसैबीच फिल्म निर्मातासमेत रहेका कलाकार एवं अभिनेता दीपकराज गिरीले नामकै कारण चलचित्र रोक्नु उचित नभएको टिप्पणी गरेका छन्।

मन्दिर दर्शनका बेला निर्माता सुनिलकुमार थापाको परिवारसँग सेल्फी लिएको तस्बिरसहित गिरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँहरू भगवान् श्रीकृष्णको धेरै भक्ति गर्नुहुन्छ। उहाँहरूले बनाएको फिल्म ‘एक भगवत् गीता’ अहिले सेन्सरको चपेटामा परेको छ। स्वयं एक भक्तले बनाएको फिल्ममा, धर्मको खिल्ली उडाए भनेर कसरी पत्याउनु!’

उनले प्रश्न गरेका छन्, ‘यदि नामकै कारण मात्रै हो भने चलचित्र रोक्नु जायज होला र?’

यस क्रममा कलाकार गिरीले नेपाली चलचित्र उद्योगमा एकता अभाव भएको गुनासो गर्दै अरूको बारेमा किन बोल्ने, किन टाउको दुख्ने भन्ने प्रवृत्ति रहेको टिप्पणी पनि गरेका छन्। 

कटाक्ष गर्दै उनले अगाडि लेखेका छन्, ‘बलिउडमा एउटा फिल्म ब्लक बस्ट हुँदा पूरा उद्योग खुसी मनाउँछ, यहाँ कुनै फिल्म ब्लक बस्टर भो भने पूरा उद्योग शोकमा डुब्छ!’ 

अन्यायविरुद्ध बोल्दा गाली खाने सम्भावना भए पनि बोल्न नछाड्न उनले आह्वान पनि गरेका छन्।   

उनले अगाडि लेखेका छन्, ‘संघसंस्था राजनीति गर्ने मञ्च र अधिकारविहीन  विकास बोर्ड जागिर खाने थलो मात्रै नहोस्, केही गरौँ, रिलिज नरोकौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .