राजनीति


वर्तमान संविधान बीपीले चाहेको समावेशी अवधारणाको सार  : राष्ट्रपति पौडेल

वर्तमान संविधान बीपीले चाहेको समावेशी अवधारणाको सार  : राष्ट्रपति पौडेल

नेपालखबर
भदौ २२, २०८० शुक्रबार १४:३२, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान संविधान बीपी विचारकै सार भएको बताएका छन्। 

बीपी कोइराला स्मृति ट्रस्टले कोइरालाको ११० औँ जन्मजयन्तीका उपलक्ष्यमा शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा गरेको बीपी साहित्य तथा स्वतन्त्रता सेनानी सम्मान कार्यक्रममा उनले यसो भनेका हुन्। 

राष्ट्रपति पौडेलले अहिलेको संविधानले गरेको समावेशी व्यवस्थासहितका लोकतान्त्रिक मूल्य मान्यता बीपीले चाहेको समावेशी समाजको अवधारणाको सार भएको बताए। 

उनले बीपीको विचारलाई अन्यथा व्याख्या नगर्न पनि आग्रह गरेका छन्। 

‘राष्ट्रिय एकता र मेलमिलापबाटै मुलुकसामु देखापर्ने समस्याको समाधान खोज्नुपर्छ भन्ने उहाँको धारणालाई समय र परिस्थितिसापेक्ष बनाउँदै त्यसैलाई अनुकरण गरेर आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि लिन सफल भएका छौँ’, उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र यसैका माध्यमबाट मुलुकमा देखा पर्ने समस्या समाधान गरी जनताका अपेक्षाअनुसार समृद्ध नयाँ नेपाल निर्माण गर्न बीपीले अघि सारेको कल्याणकारी राज्य प्रणालीको अवधारणा सिद्धान्त, मूल्य, मान्यता र आदर्श आज पनि उत्तिकै सान्दर्भिक छन्।’

बीपी राजनीति र साहित्यका एक अनुपम पुञ्ज भएको पनि उनले बताए। ‘राजनीतिको कुनै प्रभाव साहित्यमा पर्न नदिई दुवै क्षेत्रमा उत्तिकै अब्बल देखिनसक्ने बीपीको जस्तो गुण विश्वका विरलै व्यक्तिमा पाइन्छ’, उनले भने, ‘त्यस्तो व्यक्तित्व पाउनु नेपालीका लागि गर्वको विषय हो।’

राष्ट्रपति पौडेलले नेपालको इतिहासमा जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाउन कठोर जेलनेल एवम् निर्वासनसहितको लामो संघर्षपूर्ण जीवन यात्रामा समर्पित कोइरालाको बहुआयामिक व्यक्तित्व राष्ट्रिय एवम् अन्तराष्ट्रिय जगतमा रहेको उनले बताए।

कार्यक्रममा ट्रस्टका सदस्य एवम् सांसद डा शशांक कोइरालाले धन्यवाद दिँदै बीपीको लोकतन्त्रप्रतिको निष्ठा, विचार र दर्शनलाई अझै व्यापक बनाउनुपर्नेमा जोड दिए।

ट्रस्टका महासचिव रामचन्द्र पोखरेलले बीपीको समग्र व्यक्तित्वको अध्ययन अनुसन्धानका लागि ट्रस्टले आफ्नै भवन निर्माण गरी अनुसन्धान केन्द्र बनाउन लागेको जानकारी गराए।

कार्यक्रममा बीपी साहित्य सम्मानबाट जनकपुरका डा. राजेन्द्र बिमल पुरस्कृत भए। उक्त पुरस्कारको राशि एक लाख एकहजार रुपैयाँ र सम्मानपत्र छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .