कला


लीना चन्दावरकर : दुई पटक विधवा बनिन्, आत्महत्याको निर्णय त्यागेर फिल्ममा चम्किइन्

लीना चन्दावरकर : दुई पटक विधवा बनिन्, आत्महत्याको निर्णय त्यागेर फिल्ममा चम्किइन्

नेपालखबर
भदौ १२, २०८० मंगलबार १९:१६, काठमाडौँ

बलिउडमा ६० देखि ७० को दशककी चर्चित अभिनेत्री हुन् लीना चन्दावरकर। सौन्दर्य प्रतियोगिता जितेर फिल्ममा प्रवेश गरेकी लीनाले त्यो जमानाका हरेक सुपरस्टारसँग काम गरिन्। लीना ७३ वर्षकी भइन्। उनी फिल्ममा सक्रिय छैनन्। तर, उनलाई आज पनि दर्शकले उस्तै माया गर्छन्।

अभिनयबाट ख्याति कमाएकी लीनाको व्यक्तिगत जीवन भने सुखद थिएन। उनको जीवन एउटा त्रसित कहानी जस्तै लाग्छ। २५ वर्षको उमेरमा लीनाले उद्योगमा कमाएको ख्याती र उचाइमा रहेको करिअर छोडेर विवाह गरिन्। विवाहको ११ दिनमै उनका श्रीमानलाई आफैंले चलाएको गोली लाग्यो। उनी विधवा भइन्। त्यसपछि उनी २० वर्ष जेठा किशोर कुमारको प्रेममा परिन्। विवाहका लागि ठूलो संघर्ष गर्नु परेको थियो।

लीनाको जन्म २९ अगस्ट १९५० मा कर्नाटकको धारवाडमा कोंकणी मराठी परिवारमा भएको थियो। उनका बुबा श्रीनाथ चन्दावरकर आर्मी अफिसर थिए। सानै उमेरमा लीनाको  ग्ल्यामर उद्योगमा झुकाव भयो। केही महिना मोडलिङ गरेपछि उनले फिल्मफेयरले आयोजना गरेको ‘फ्रेश फेस ब्यूटी कन्टेस्ट’मा भाग लिइन्। यसमा देशभरका धेरै केटीहरुको सहभागिता रहेको थियो र लीनाले यो प्रतियोगितामा दोस्रो स्थान हासिल गरिन्।यो जितपछि उनले लगातार ठूला मोडलिङ प्रोजेक्ट पाउन थालिन्।

मोडलिङका क्रममा लीनाले १८ वर्षको उमेरमै धेरै व्यावसायिक विज्ञापनमा काम गरिसकेकी थिइन्। उनलाई त्यो समय थुप्रै फिल्मबाट अफर आएका थिए। उनले पनि सुनील दत्तको फिल्म मेसिहा (१९६७) को लागि अडिसन दिएकी थिइन्। यो फिल्ममा उनी सेलेक्ट पनि भइन्। तर यो फिल्म निर्माण भएन। त्यसपछि सुनिलले लीनालाई आफ्नो दोस्रो फिल्म ‘मन का मीत’मा काम दिए। सन् १९६८ मा रिलिज भएको यो फिल्मबाट लीना रातारात स्टार भइन्।

हेमा मालिनी र मुमताजसँग प्रतिस्पर्धा
७० को दशकमा हेमा मालिनी र मुमताजलाई सबैभन्दा चर्चित अभिनेत्री मानिन्थ्यो। लीनाले यी दुईलाई पछि पारेर आफू शिर्ष अभिनेत्रीका रुपमा आएकी थिइन्। १९६९ देखि १९७९ सम्मको १० वर्षमा लीनाले त्यस युगका हरेक सुपरस्टारसँग काम गरिन्। उनले राजेश खन्नासँग ‘मेहबूब की मेहन्दी’, दिलीप कुमारसँग ‘बैराग’ र जितेन्द्रसँग ‘हमजोली’मा काम गरेकी थिइन्।

२५ वर्षको उमेरमा विवाह, ११ दिनमा विधवा
२४ पुगेर २५ लाग्दै गर्दा लीनाले सिद्धार्थ बन्दोडकरसँग मागी विवाह गरेकी थिइन्। सिद्धार्थ चर्चित राजनीतिक परिवारका थिए। उनीसँग बिहे गर्न लीनाले धेरै फिल्म छोडिन्। त्यो समय लिनाका कारण थुप्रै फिल्म अधुरा भएका थिए। बिहे भएको ११ दिन मात्रै बितेको थियो चिराग दुर्घटनामा परे।

वास्तवमा उनी घरमा बन्दुक सफा गर्दै थिए। गल्तीले उनलाई गोली लाग्यो। उनको अवस्था गम्भीर देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। धेरै प्रयास र उपचारको बावजुद ११ महिनापछि सिद्धार्थको मृत्यु भयो।

श्रीमानको मृत्युपछि आत्महत्याको प्रयास
सिद्धार्थको मृत्युपछि लीना आफ्नो परिवारसँग बस्न गइन्। श्रीमानको मृत्युको कारण उनलाई उनलाई नै देखाएर धेरैले खिसि गर्थे। पीडा दिन्थे। आफन्तको यो रवैयाबाट दिक्क भएर लीनाले आत्महत्या समेत गर्न खोजिन्। यो समय लिनाले धेरै सोचिन्। अन्ततः उनले फिल्ममा फर्किने निधो गरिन्।

फिल्ममा फर्केर उनले दिलीप कुमारसँग फिल्म ‘बैराग’मा काम गरिन्। नायकका रूपमा दिलीप कुमारको यो अन्तिम फिल्म थियो, जुन बक्स अफिसमा फ्लप भयो। उनले ‘यारों का यार’, ‘आखरी गोली’, ‘नालाय’ लगायतका फिल्ममा काम गरे।

लिनासँग विवाह गर्न किशोर कुमारको धर्ना
‘प्यार अजनबी है’ फिल्ममा सँगै काम गर्दा किशोर कुमार लीना चन्दावरकरको प्रेममा परे। दुवैले सँगै समय बिताउन थाले र त्यसपछि लीनाले पनि उनलाई मन पराउन थालिन्। तर लीनाका परिवारका सदस्यहरू उनीहरूको सम्बन्धमा खुसी थिएनन्।

वास्तवमा लीनासँग सम्बन्धमा आउनुअघि किशोर कुमारले तीनवटा विवाह टुटिसकेको थियो। उनको पहिलो श्रीमती रुमा घोषसँग सम्बन्ध विच्छेद भएको थियो भने दोस्रो श्रीमती मधुबालाको निधन भएको थियो भने तेस्रो श्रीमती योगिता बालीसँग पनि सम्बन्धविच्छेद भएको थियो। दोस्रो ठूलो कारण किशोर दा लीनाभन्दा २० वर्ष जेठो हुनु थियो।

लीनाका बुबाले यो बिहेको प्रस्तावलाई ठाडै अस्वीकार गरे। जब किशोर दा लाई लीनाका बुबा बिहेको विरुद्धमा रहेको थाहा भयो तब उनी धारवाडमा उनीहरुको घर बाहिर बसेर दिनहुँ विरोध गर्न थाले। विरोध गर्दै किशोर चर्को स्वरमा ‘घृणा गर्नेको मन मायाले भरिदेउ’ भन्दै गीत गाउँथें।

लीनाका बुबा आर्मी अफिसर हुनुका साथै एकदमै कडा थिए। तर पनि किशोरले उनलाई आफ्नो अलराउन्डर चरित्रबाट मनाउन सफल भए।

बिहे हुँदा लीना ७ महिनाकी गर्भवती
लीना चन्दावरकर र किशोर कुमारले सन् १९८० मा विवाह गरेका थिए। वास्तवमा परिवारको स्वीकृति लिनुभन्दा एक वर्षअघि किशोर र लीनाले अदालती विवाह गरिसकेका थिए। परिवारको स्वीकृतिमा विवाह गर्दा लीना ७ महिनाकी गर्भवती थिइन्। विवाहको केही महिनामै लीनाले छोरा सुमित गांगुलीलाई जन्म दिइन्।

किशोरसँग बिहे गरेर उद्योग छाडिन्
किशोर कुमारसँग विवाह गरेर आमा बनेपछि लीनाले फिल्ममा काम गर्न छाडेकी थिइन्। उनको अन्तिम फिल्म सन् १९८९ मा ‘ममता की छाउन में’ अभिनय गरेकी थिइन्। जसमा उनी राजेश खन्नाको अपोजिट देखिएकी थिइन्। उनले उद्योग छोडेको वर्षौंपछि यो फिल्म रिलिज भएको हो।

विवाह गरेको ७ वर्षपछि किशोर कुमारको निधन
लीना चन्दावरकर र किशोर कुमार मुम्बईको वार्डन रोडमा बस्थे। दुवैलाई गोपनीयता मन पर्थ्यो र बाहिरी संसारसँग कम सम्पर्क थियो। विवाह भएको ७ वर्षपछि १३ अक्टोबर १९८७ मा किशोर कुमारको निधन भयो।

मृत्यु हुनुभन्दा केही मिनेटअघि किशोरले आफ्नी श्रीमतीलाई मृत्युको नाटक गरेर डराउँदै थिए। वास्तवमा १३ अक्टोबरको बिहान लीना उनलाई लिन पुग्दा किशोर ओछ्यानमा अचेत अवस्थामा पल्टिरहेका थिए। उनी नजिक गएपछि किशोरले एक्कासी आँखा खोलेर भने, ‘डराएको हो? आज मेरो छुट्टी हो।’

आफ्नो मृत्युको दिन किशोरले लीनालाई ‘आज रिभर अफ नो रिटर्न’ फिल्म हेर्ने बताएका थिए। त्यो दिन उनले धेरै भेटघाट गरे। तर केही समयपछि उनी अर्को कोठामा गएर ढले। लीना कोठामा पुग्दा किशोरले उनलाई भने, ‘मलाई निकै कमजोरी लागेको छ।’

आतंकित भएकी लीना तुरुन्तै फोन गर्न दौडिन खोज्छिन्। तर किशोरले उनलाई रोक्छन्। रिसाउँदै भन्छन्, ‘डाक्टरलाई बोलाएमा मलाई हृदयघात हुन्छ।’

लीनाले सोचिन् उसले फेरि मजाक गरिरहेको छ। तर केहि सेकेन्ड पछि उनको मुटु रोकियो। ३७ वर्षको उमेरमा लिना फेरि विधवा भइन्।

किशोर कुमारको मृत्युको केही दिन पछि, लीना चन्दावरकर उनकी तेस्रो पत्नी रुमा गुहाका छोरा अमित कुमार र उनकी पत्नीसँग सरिन्। आज पनि उनीसँगै बस्छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad