अभिनेत्री काजल कर्णले नेपाली फिल्म क्षेत्रमा मधेसी मूलका कलाकारले भोग्नुपर्ने कुरूप विभेद र अपमानको खुलासा गरेकी छन्।
३५० भन्दा बढी भोजपुरी, मैथिली तथा नेपाली म्युजिक भिडियोमा काम गरिसकेकी काजलले फिल्म ‘चिरञ्जिवी भव:’ को छायांकनका क्रममा आफूमाथि नश्लीय टिप्पणी र अमानवीय व्यवहार भएको दाबी गरेकी हुन्।
सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै उनले फिल्मको सेटमा मधेसी भएकै कारण आफूलाई ‘मधेसेनी’ भन्दै जिस्काइएको र आफ्नो रङ तथा भूगोलमाथि उपहास गरिएको पीडा सार्वजनिक गरेकी छन्।
उनले लेखेकी छन्, ‘अहिले लाग्छ, मधेस र नेपाली फिल्म क्षेत्रबीचको दूरी पृथ्वी र चन्द्रमा जस्तै रहेछ- टाढाबाट हेर्दा चम्किलो, तर पुग्न खोज्दा सासै रोकिने शून्यता र विभेद।’
फिल्ममा अनुबन्धित हुँदा निकै उत्साहित भएकी काजललाई छायांकनको सुरुवातमै अपमानित गर्न थालिएको थियो।
डिजाइनर र प्रोडक्सन टिमले उनीमाथि गरेको व्यवहारबारे उनले लेखेकी छन्, ‘डिजाइनर आशिष दाइले मेरो नाप लिएर पनि काठमाडौँको सुटका लागि आफ्नै लुगा व्यवस्था गर्न भन्नुभयो। सुटिङको दिन बिहानै साढे ५ बजे गाडी पठाउँछु भन्ने प्रोडक्सनका सुवास काफ्लेजीले फोन उठाउनुभएन। अन्त्यमा भन्नुभयो, गाडी आउँदैन, आफैँ पठाओ गरेर आउनुस्, हामी भाडा तिरिदिन्छौँ।’ एउटा कलाकारलाई सेटसम्म पुग्न पनि कति सास्ती!’
छायांकनका क्रममा मुख्य अभिनेत्री प्रशंसा रायमाझीले काजलसँग मेकअप रुम साझा गर्न समेत अस्वीकार गरेको उनले बताएकी छन्। सो घटनाबारे उनले भनेकी छन्, ‘प्रशंसाजीले भन्नुभयो, ‘मैले यो कोठामा मेरो मात्र मेकअप होस् भनेर अनुमति दिएको हो, अरूलाई ल्याएर मेरो रुमको माहोल नबिगारिदिनुस्।’ सेटमा म एउटा कलाकार होइन, कुनै अवाञ्छित वस्तु झैँ भएँ।’ सोही समयमा चीफ एडी नेत्र सरले समेत आफूलाई लुगाको विषयमा थर्काएको उनले उल्लेख गरेकी छन्।
काजलको रङ र भूगोललाई लिएर सेटमा निकै कुरुप मजाक गरिएको उनले खुलासा गरेकी छन्। मेकअप आर्टिस्टहरूले उनलाई होच्याउँदै गरेको टिप्पणीबारे उनले लेखेकी छन्, ‘मेकअप आर्टिस्टले मेरो अनुहारमा जानीजानी कालो मेकअप दलिदिइन् र भनिन्, ‘तिमी त यहाँ आश्रममा काम गर्ने मान्छे, गाईगोठालो हेर्ने मान्छे, तिम्रो मेकअप यस्तै हुन्छ।’ अर्का एकजना पुरुष मेकअप आर्टिस्टले त झन् पराकाष्ठा नै नाघेर भने- ‘तिमी त तराईको मान्छे, तिमीलाई त भैँसी र गाईलाई कसरी बोलाउँछन् थाहा होला नि!’ यति भन्दै उनीहरू ममाथि खित्का छोडेर हाँसे, मेरो माटोको उपहास गरे,’ उनले अगाडि लेखेकी छन्, ‘यो मधेसी’ भन्दै सेटभरी मेरो मजाक उडाइयो।’
उनलाई कलाकारको रूपमा भन्दा पनि मजदुरको रूपमा प्रयोग गरिएको काजलको आरोप छ। उनले पीडा पोखेकी छन्, ‘स्क्रिप्टमा कहीँ नभएको कुरा सुटिङमा जबर्जस्ती गराइयो। मलाई फोहोर उठाउने र कुचो लगाउने सिनहरू गराइयो। दुई दिनसम्म मलाई एउटा कलाकारको रूपमा होइन, मजदुरको रूपमा मात्र प्रयोग गरियो।’
एक्जेक्युटिभ प्रोडुसर शैलेश खत्रीले पेमेन्ट हालिसकेको झूटो आश्वासन दिएर काजललाई इटहरी बोलाएका थिए। तर त्यहाँ पुग्दा निर्देशक दीपकप्रसाद आचार्यको आदेशमा उनलाई फिल्मबाट हटाइएको थियो। सो क्षणबारे उनले लेखेकी छन्, ‘म इटहरी पुग्दा त मेरो ठाउँमा अर्कै कलाकारलाई मेकअप गराइँदै थियो। निर्देशक दीपकप्रसाद आचार्यको आदेशमा ठाउँको ठाउँ मलाई फिल्मबाट हटाइयो। कारण सोध्दा हेयर स्टाइलिस्ट सञ्चिता ढकालले भनिन्- तिमी नहुने भयौ, तिम्रो लुगाहरू छुटेको भएर मात्र बोलाएको हो।’
पेमेन्टको विषयमा कुरा गर्दा शैलेश खत्रीले ‘अझै डबिङ बाँकी छ, अहिले फुल पेमेन्ट दिन्नँ’ भनेर पन्छाएको उनले बताएकी छन्।
नेपाली फिल्म उद्योगभित्र मधेसी कलाकारले भोग्नुपर्ने संकीर्ण सोचप्रति उनले कडा प्रश्न उठाएकी छन्। उनले लेखेकी छन्, ‘के मधेशी हुनु नै हाम्रो गल्ती हो? के हामीले आफ्नो श्रमको मूल्य माग्नु अपराध हो? ‘चिरञ्जिवी भव:’ को सेटमा मैले पाएको यो दुर्व्यवहारले फिल्म क्षेत्रको कुरुप अनुहार छर्लङ्ग पारेको छ।’
यद्यपि यो अपमानले आफ्नो हिम्मत नहारेको उनले स्पष्ट पारेकी छन्। उनले लेखेकी छन्, ‘स्मरण रहोस्, एउटा भूमिका खोस्दैमा मेरो सपना मर्ने छैन। मधेसको माटोले मलाई लड्न सिकाएको छ, हार्न होइन। म लड्नेछु, आफ्ना लागि र मजस्ता थुप्रै सपना देख्ने मधेसी छोरीहरूका लागि।’
पढ्नुस् काजलको अनुभूति जस्ताको त्यस्तै:
मधेशी भएकै कारण मैले नेपाली फिल्मको सेटमा जे भोगेँ...
सानैदेखि एउटा सपना थियो– ऐनाअगाडि उभिएर अभिनय गर्ने, ठूला पर्दामा देखिने र एउटा कुशल कलाकार बन्ने। मधेशको एउटा सानो आँगनबाट सुरु भएको त्यो रंगीन सपनालाई पछ्याउँदै मैले ३५० भन्दा बढी थारु, भोजपुरी, मैथिली र नेपाली गीतहरूमा काम गरेँ। आमा–बुवाको विश्वास र मेरो मेहनतले मलाई नेपाली फिल्म ‘चिरञ्जिवी भव:’ सम्म पुर्यायो। ‘परान’जस्तो सुपरहिट फिल्मका निर्देशकसँग काम गर्न पाउँदा खुशी नहुने कुरै थिएन। तर, फिल्मको सेटभित्र छिरेपछि मैले जुन संसार देखेँ, त्यसले मेरो कलाकारिताप्रतिको सम्मान मात्र होइन, मेरो आत्मसम्मान र मधेशी पहिचानमाथि यति क्रूर प्रहार गर्यो कि आज म ती घाउहरू खोल्न बाध्य भएकी छु।
अहिले लाग्छ, मधेश र नेपाली फिल्म क्षेत्रबीचको दूरी पृथ्वी र चन्द्रमा जस्तै रहेछ– टाढाबाट हेर्दा चम्किलो, तर पुग्न खोज्दा सासै रोकिने शून्यता र विभेद।
फिल्ममा अनुबन्धित हुँदा म धेरै खुसी थिएँ। हरिवंश आचार्य, करिश्मा मानन्धर जस्ता हस्तीहरूसँग काम गर्ने अवसर थियो। तर, सुरुवातमै मलाई अपमानित गर्न थालियो। डिजाइनर आशिष दाइले मेरो नाप लिएर पनि काठमाडौँको सुटका लागि आफ्नै लुगा व्यवस्था गर्न भन्नुभयो। सुटिङको दिन बिहानै साढे ५ बजे गाडी पठाउँछु भन्ने प्रोडक्सनका सुवास काफ्लेजीले फोन उठाउनुभएन। अन्त्यमा ६ बजे फोन उठ्दा भन्नुभयो– ‘गाडी आउँदैन, आफैँ पठाओ गरेर आउनुस्, हामी भाडा तिरिदिन्छौँ।’ एउटा कलाकारलाई सेटसम्म पुग्न पनि कति सास्ती!
इटहरीमा सुटिङ भइरहेका बेला म लोकेसनमा पुगेँ। मेकअप रुममा प्रवेश गर्दा मुख्य अभिनेत्री प्रशंसा रायमाझीको मेकअप भइरहेको थियो। त्यहाँ चीफ एडी नेत्र सरले मलाई ‘लुगा खोइ?’ भन्दै थर्काउनुभयो। मैले डिजाइनरको कुरा राख्दा उल्टै ममाथि झर्कनुभयो। त्यतिमै नपुगेर प्रशंसाजीले भन्नुभयो– ‘मैले यो कोठामा मेरो मात्र मेकअप होस् भनेर अनुमति दिएको हो, अरूलाई ल्याएर मेरो रुमको माहोल नबिगारिदिनुस्।’ सेटमा म एउटा कलाकार होइन, कुनै अवाञ्छित वस्तु झैँ भएँ।
सबैभन्दा पीडादायी क्षण त मेकअप गर्दा भयो। मेकअप आर्टिस्टले मेरो अनुहारमा जानीजानी कालो मेकअप दलिदिइन्। मैले सोध्दा उनले भनिन्, ‘तिमी त यहाँ आश्रममा काम गर्ने मान्छे, गाई–गोठालो हेर्ने मान्छे, तिम्रो मेकअप यस्तै हुन्छ।’ मेरो स्क्रिप्टमा त्यस्तो केही थिएन। अर्का एकजना पुरुष मेकअप आर्टिस्टले त झन् पराकाष्ठा नै नाघेर भने– ‘तिमी त तराईको मान्छे, तिमीलाई त भैँसी र गाईलाई कसरी बोलाउँछन् भन्ने थाहा होला नि!’ यति भन्दै उनीहरू ममाथि हाँसे, मेरो माटोको उपहास गरे। ‘यो मधेशी’ भन्दै सेटभरी मेरो मजाक उडाइयो। ‘तिमी त मधेसी हौ, मधेसीको रङ यस्तै त हुन्छ नि’, ‘ओई मधेसेनी, तिम्रो तिर त भैँसी र गाईलाई कसरी बोलाउँछन्, थाहा होला नि? ल, बोलाएर देखाऊ त!’, यस्तै यस्तै भनेर उनीहरू ममाथि खित्का छोडेर हाँसे।
स्क्रिप्टमा कहीँ नभएको कुरा सुटिङमा जबर्जस्ती गराइयो। मलाई र अर्को एकजनालाई फोहोर उठाउने र कुचो लगाउने सिनहरू गराइयो। दुई दिनसम्म मलाई एउटा कलाकारको रूपमा होइन, मजदुरको रूपमा मात्र प्रयोग गरियो। पेमेन्टको कुरा गर्दा प्रोडक्सनका सुवासले वास्तै गर्नुभएन।
जब सुटिङ इटहरी पुग्यो, मैले आफ्नो बाँकी पेमेन्ट र लुगा खर्च मागेँ। एक्जेक्युटिभ प्रोडुसर शैलेश खत्रीले मलाई ‘पेमेन्ट हालिसकेँ, सेटमा आउनुस्’ भनेर झूट बोल्नुभयो। म इटहरी पुग्दा त मेरो ठाउँमा अर्कै कलाकारलाई मेकअप गराइँदै थियो। मलाई कुनै जानकारी नै नदिई निर्देशक दीपकप्रसाद आचार्यको आदेशमा ठाउँको ठाउँ मलाई फिल्मबाट हटाइयो। कारण सोध्दा हेयर स्टाइलिस्ट सञ्चिता ढकालले भनिन्, ‘तिमी नहुने भयौ, तिम्रो लुगाहरू छुटेको भएर मात्र बोलाएको हो।’
मेरो पेमेन्ट क्लियर गर्न आग्रह गर्दा शैलेश जीले ‘अझै डबिङ बाँकी छ, अहिले फुल पेमेन्ट दिन्नँ’ भन्नुभयो। इटहरी बोलाएर, अर्कै कलाकार राखेर, मलाई ‘लुगा लिन मात्र बोलाएको’ भन्नु कति ठूलो अपमान हो?
यो केवल मेरो एउटा भूमिका खोसिएको कथा होइन। यो त नेपाली फिल्म उद्योगभित्र मधेशी कलाकारले भोग्नुपर्ने संकीर्ण सोच र विभेदको नांगो रूप हो। मधेशका छोरीहरूले घरको कुरा र समाजको रुढीवादी सोच जितेर यहाँसम्म आउन कति संघर्ष गर्नुपर्छ, त्यो सेटमा बस्ने ती ‘अहंकारी’हरूले कहिल्यै बुझेनन्। उनीहरूले त केवल मेरो पहिचानमाथि प्रहार गर्न र मलाई मानसिक तनाव दिन मात्र जाने।
म यो पत्रमार्फत प्रश्न गर्न चाहन्छु– के मधेशी हुनु नै हाम्रो गल्ती हो? के हामीले आफ्नो श्रमको मूल्य माग्नु अपराध हो? ‘चिरञ्जिवी भव:’ को सेटमा मैले पाएको यो दुर्व्यवहारले फिल्म क्षेत्रको कुरुप अनुहार छर्लङ्ग पारेको छ। तर स्मरण रहोस्, एउटा भूमिका खोस्दैमा मेरो सपना मर्ने छैन। मधेशको माटोले मलाई लड्न सिकाएको छ, हार्न होइन। म लड्नेछु, आफ्ना लागि र मजस्ता थुप्रै सपना देख्ने मधेशी छोरीहरूका लागि। उही तपाईंकी काजल कर्ण।
Shares

प्रतिक्रिया