ad ad

कला


प्रकाश सपुतको महानता देखेर बोतल हान्ने युवकले खुट्टा ढोगे, आयोजकले माफी मागे (भिडिओ)

प्रकाश सपुतको महानता देखेर बोतल हान्ने युवकले खुट्टा ढोगे, आयोजकले माफी मागे (भिडिओ)

प्रकाश सपुतको पाउमा पर्दै ती युवक


नेपालखबर
असार १२, २०८० मंगलबार २०:१०, काठमाडौँ

गायक प्रकाश सपुतले रोमानियामा आफूलाई स्टेजमै बोतल आक्रमण गर्ने नेपाली युवकलाई माफी दिएर महानता देखाएका छन्। उनकाे विशाल हृदय देखेर आक्रमणकारी युवक र आयोजक दुवै नतमस्तक भएका छन्। 

नेपाली समयानुसार आइतबार राति १२ बजे रोमानियामा आयोजित कन्सर्टमा गीत गाइरहेका बेला सपुतलाई दर्शकको भीडबाट अचानक बियरको बोतलले हानिएको थियो।

भाग्यवश बोतलले उनको नाकमा सामान्य चोट मात्र लाग्छ, रगत आउँछ। आधा घण्टापछि उनले फेरि गायनलाई निरन्तरता दिन्छन्। 

तत्काल आयोजकले बोतल हान्ने ती युवकको पहिचान गर्छ र उनीविरुद्ध प्रहरीमा रिपोट दर्ता गराउँछ। तर गायक सपुतले स्टेजबाटै ती युवकलाई कुनै प्रकारको कारबाही नगर्न आयोजकसँग अनुरोध गर्छन्। र, बरु एकपटक ती युवकसँग आफूलाई भेट्न मन लागेको बताउँछन्। 

यसैबीच गायक सपुतसँगै रोमानिया गएकी गायिका प्रिती आलेले एउटा मर्मस्पर्शी भिडिओ सार्वजनिक गरेकी छन्। जसमा सपुतले आफूलाई बोतलले हान्ने युवकलाई माफी दिँदै शालीन शैलीमा सम्झाएका छन्। 

भिडिओमा सपुतले भनेका छन्, ‘...हामीले यहाँ प्रहरीसँग डिल गरिरहेका छौँ, उल्लाई चैँ सकेसम्म, नेपाली हो दुःख नदिनू, तपाईंलाई चाहिँ यहाँबाट फर्किनु नपरोस्, प्रहरीको जेलमा बस्न नपरोस् अर्काको देशमा भनेर उहाँ (आयोजक नरेश गिरी) लाई रिक्वेस्ट गरिराछु। नरेशजीलाई एम्बेसीबाट फोन आइरहेको छ। उहाँलाई यहाँको प्रहरीले इन्क्वायरी गरिराछ। तैंले कार्यक्रम गरेर सुरक्षा दिन सक्दैनस् भने किन? हामी कि त्यो हान्ने मान्छेलाई समाउँछौँ, कि तँलाई समाउँछौँ भनेर उहाँलाई भनिराछ। उहाँ जेल जाने कि म जाने कि तपाईं जाने? राम्रो भयो त? 

तपाईंलाई मैले किन भेट्न बोलाको भने, तपाईंले मलाई हान्नुभयो, एकछिनलाई मलाई चैँ केही भएन, घाउ भयो, त्यो पनि सञ्चो होला। तर यस्तै तालले, यस्तै व्यवहारले तपाईंको भविष्य राम्रो होला त? तपाईंका बाआमा, घरपरिवार खुसी होलान् त? यही कुरा नेपालमा बस्ने बाआमाले थाहा पाउनुभयो भने कति दुःखी हुनुहोला?’ 

यहीबीच अर्का एकजना भन्छन्– थाहा पाइसक्नुभयो।

त्यसपछि ती युवक भन्छन्– हो, थाहा पाइसक्नुभयो, राम्रो गरेर बस्नू भन्नुभयो...।

उनलाई एकजनाले प्रश्न गर्छन्– तपाईंलाई कसैले उक्साको त होइन, हान् भनेर?

ती युवकले भनेका छन्– होइन। त्यै रमाइलो गर्दागर्दै त्यस्तो भयो.....। 

पुनः प्रकाश बोल्छन्– मेनचाहिँ तपाईंले ड्रिक्ङ्स गर्न छाड्नुपर्‍यो‍, उहाँहरू (आयोजक) लाई यो सार्वजनिक ठाउँ भएकाले प्रहरीले एकदमै इन्क्वायरी गरिरहनुभएको छ। तपाईंहरू बसेर कुरा गर्नू। र, म उहाँ (नरेश गिरी) कै अगाडि भन्छु– कुनै पनि प्रकारको, पुलिसमा राख्ने, नेपाल पठाउने नगर्नुहोला। तपाईंहरूको केही क्षति भएको छ भने एकापसमा बसेर सरसल्लाह गर्नुहोला। मेरो तर्फबाट मलाई जति दुख्या छ, मेरो नाकमा पनि दुख्या छ, मनमा पनि दुख्या छ। सायद तपाईं प्रिती आले र प्रकाश सपुतलाई सुन्न भनेरै त्यहाँ जानुभयो। तर मलाई भन्दा पनि तपाईंको लाइफलाई चाहिँ असर गर्छ। भोलि तपाईं नेपाल फर्किनुपर्‍यो भने, जेलमा बस्नुपर्‍यो भने के हुन्थ्यो भन्नूस् त? विश्वभरि बस्ने नेपालीहरूलाई तपाईंलाई गाली गरिरहनुभएको छ, दुःख मानिरहनुभएको छ। हामी देश छाडेर परदेशमा आएका छौँ। यस्तो हालतले तपाईं हाम्रो इज्जत रहन्छ त? रहँदैन नि! म कलाकार भएर मात्र होइन, मेरो ठाउँमा तपाईंले अर्काे कुनै मान्छेलाई हानेको भए पनि त्यो त राम्रो भएन नि! लाइफमा पहिलो कुराचाहिँ डिङ्क्स खाँदै नखानू, दोस्रो कुरा चैँ आफू कुन देशमा छु, कुन ठाउँमा छु, यत्रो २ वर्ष भइसकेछ, यहाँको नियमहरू तपाईंलाई थाहा होला, कस्तो हुन्छ? के हुन्छ? सो तपाईं (नरेश गिरी) ले चाहिँ उहाँलाई प्रहरीमा पठाउने, केही नगर्नुहोला, तपाईंले चैँ आफ्नो तरिकाले बसेर के गर्दा ठीक हुन्छ? त्यस्तो धेरै दुःख दिने कामचाहिँ नगर्नुहोला। आगामी दिनमा पहिलो कुरा चैँ तपाईं (ती युवक) ले रक्सी छाड्नुहोला। म तपाईंको घरमा गएर तपाईंका बाआमालाई भेट्छु, उहाँहरूलाई अझ सम्झाउन लगाउँछु। तपाईंले गर्दा सिंगो विदेशमा बस्ने नेपालीले, जहाँ जहाँ हामी जान्छौँ, मलाई फरि त्यस्तै अर्काे कार्यक्रममा कार्यक्रममा कसैले केही गर्ने हो कि, कसैले बोतल प्रहार गर्ने हो कि, कसैले ढुंगा हान्ने हो कि भन्याजस्तो मलाई भको छ।...तर तपाईंले आफ्नो गल्तीले आफैँ दुःख पाउनुहुन्छ। आगामी दिनमा चैँ यस्तो नगर्नुहोला। 

नरेश गिरी बोल्छन्– प्रकाशजीले माफी दिनुभयो है। जसरी उहाँले आफ्नो एउटा महानता देखाउनुभयो। म तपाईंहरूलाई यो (मोबाइलमा देखाउँदै) देखाउन चाहन्छु कि मैले यो अलरेडी पुलिसमा रजिस्टर गरिसकेको छु। ‍तपाईं यो रजिस्टर नम्बर देख्न सक्नुहुन्छ। मैले अलरेडी यो डकुमेन्टहरू केस गरिसकेको छु, जो हाम्रो यहाँ जहाँ हाम्रो प्रोग्राम भयो, त्यहाँको स्थानीय प्रहरीकोमा गएर मैले अलरेडी केस दर्ता गरिसकेको छु। र, मलाई प्रकाशजीले एकदमै, उहाँले आएर मलाई के भन्नुभयो भने जो उहाँले महानता देखाउनुभयो, उहाँले भन्नुभयो कि ठीक छ, उसको त एउटा फ्युचरलाई केही होला, ऊ मात्रै छैन, उसको फ्याम्लीमा, उसको आमाबुवा हुनुहुन्छ। नेपालमा उसको फ्याम्ली छ। उसको फ्याम्लीमा केही राहत होला कि, केही राम्रो होला कि भनेर (विदेश) पठाउनुभको छ, प्लिज नरेशजी, उसको बारेमा नसोचे पनि उसको फ्याम्लीको बारेमा सोच्दिनू भनेर जो उहाँले रिक्वेस्ट गर्नुभो, उहाँको यो रिक्वेस्टलाई म एकदमै एकदमै, त्यो सुन्दाखेरि म आफैं सिरिङ्ग भएँ, उहाँको यो हृदयदेखिको हामीप्रतिको मायालाई उहाँलाई जस्तो जे बिते पनि उहाँले हामीप्रति देखाउनुभएको मायालाई म बिग क्ल्याप गर्न चाहन्छु। उहाँले भन्नुभएको जो छ, त्यसलाई म सदैव माथि राख्नेछु।...तर म उहाँले भनेजस्तै एउटा नर्मल एक्सनमा जानेछु। ताकि यो गल्तीचाहिँ भोलि कसैले नगरोस्। मैले गरेको केसचाहिँ म फिर्ता लिनेछु। तर उहाँले सजायचाहिँ अवश्य मिल्नेछ। ताकि भोलि अरु कसैले नगरोस्।...म उहाँ प्रकाश सरको कुरा काट्न नसकेर उहाँले जे भन्नुभाछ, मेरो मनछुने कुरा गर्नुभयो, यो भाइका लागि, म उहाँको त्यो कुरालाई सेलुट गर्दै सलाम गर्दै उहाँको कुरालाई स्वीकारेर सबै हाम्रो केसहरू म फिर्ता लिनेछु। तर उहाँलाई म अनअफिसियल्ली सजाय चैँ दिन्छु। 

एक महिलाले ती युवकलाई प्रश्न गर्छिन्– ...सबै देशमा रहेका सबै कलाकारले तपाईंको विरोध गर्दै हुनुहुन्छ, कसैले परिचालन गरेको हो कि? कसैले हान्न लगाएको हो कि? तपाईं कहीँ कतैबाट पठाइएको मान्छे हो कि भन्ने कुराहरू आइराछ, के भन्नुहुन्छ? 

भिडिओमा हात जोड्दै ती युवक भन्छन्– सबैजनालाई म सरी माग्न चाहन्छु। र, म पनि भन्न चाहन्छु– अरु साथीभाइले कहिले पनि यस्तो नगर्नुहोला। मैले गल्ती गरिहालेँ। कसैले भनेर मैले गरेको होइन। रमाइलो गर्दागर्दै मैले गल्ती गरेँ। यसमा म धेरै माफी माग्न चाहन्छु।...

प्रकाश सपुतले ती युवकको कुममा थपथपाउँदै ल ब्रदर है...।

यसो भन्नासाथ ती युवक गायक सपुतको पाउमा पर्छन्, खुट्टामा ढोग्छन्। सपुतले प्लिज प्लिज भन्दै माथि उठाउँछन्। 

अर्का एकजना बोल्छन्– ...एकजना हाम्रो भाइले गर्दा रोमानियामा बस्ने हामी नेपाली लज्जित भएका छौँ। उहाँले थोरै मादक पदार्थ सेवन गरेर जुन किसिमको हर्कत देखाउनुभयो, त्यो असह्य छ। उहाँले गल्ती गरे पनि प्रकाश सरले चाहिँ एकदमै महान् सोच राखेर उहाँलाई माफी दिनुभयो। 

नरेश गिरी– हामीबाट पनि जो गल्ती भएको छ, हाम्रो कार्यक्रममा उहाँलाई त्यस्तो हुन पुग्यो, हामी रोमानियावासी र आयोजक टिमका तर्फबाट म माफी माग्न चाहन्छु।  

पूरा संवादका लागि तलको भिडिओ हेर्नुहोस्                                                                                                                                

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .