सांगीतिक ब्याण्ड नेपथ्यले अष्ट्रेलियाको सिड्नीमा अर्को भव्य कन्सर्ट गरेको छ। ब्याण्डको सांगीतिक प्रस्तुती हेर्नका लागि त्यहाँ रहेका नेपाली दर्शकले दुई घण्टाभन्दा धेरै समय प्रतिक्षा गरेका थिए।
भरिभराउ दर्शकबिच सिड्नीको ‘होडर्न पभिलियन’मा भएको कन्सर्टले दक्षिणी गोलाद्र्धमै नेपाली संगीतलाई एउटा नयाँ मानक खडागरिदिएको आयोजकले जनाएको छ।
‘तीन वर्षअघि सिड्नी कन्सर्टका बेला सम्पूर्ण टिकट इन्टरनेटबाटै बिक्रीभएको देखेर मैले नेपाली संगीतमा नयाँ युग उदाएको महशुस गरेको थिएँ’, नेपथ्यलाई ब्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसपाला अघिल्लो दिननै हाउसफूलको सूचना आइसकेको सिड्नी कन्सर्टमा हेर्न आउने दर्शकको आतुरताले ठ्याक्कै समयमा कन्सर्ट सुरुगर्ने हाम्रो नीतिको पनि उच्च सम्मान गरेको देख्दा थप खुशी लाग्यो।’
ब्याण्डले उसको स्थापनाकै पहिलो सिर्जना ‘आँगनै भरि’बाट आफुलाई अघि बढायो। त्यो गीतमा दर्शकहरुको एकाकार आवाजले भब्य ‘कोरस’को सिर्जना गरेको देखिन्थ्यो। यो क्रमले ‘छेक्यो छेक्यो’हुँदै अन्तिमको ‘रातो र चन्द्रसूर्जे’सम्मै नयाँ पुराना सबै गीतमा निरन्तरता पाएको थियो।
प्रस्तुतीलाई विशेष बनाउन सदाबहार र नयाँ गीतहरुको सन्तुलित चयन मात्र नभइ प्राविधिक हिसाबबाट पनि अझ जोड दिइएको थियो। अष्ट्रेलियामा यतिबेला आजसम्मकै सबैभन्दा ठूलो अर्थात् १३ सदस्यीय कलाकार, प्राविधिज्ञ र व्यवस्थापकको नेपथ्य टोलीले यात्रा गरिरहेको छ।
यो कन्सर्टका साथ नेपथ्यले अष्ट्रेलियाकै यस ब्यापारिक राजधानीमा छैठौंपटक सफलताका साथ आफूलाई उभ्याएको छ।
अष्ट्रेलियाभरमै सबैभन्दा बढी नेपाली बसोबास गर्ने सिड्नीमा नेपथ्यले सन् २००९ मा आफूलाई पहिलोपटक प्रस्तुत गरेको थियो। त्यतिबेला एक विश्वविद्यालयको हलमा १२ सय दर्शक मात्र उपस्थित थिए। त्यसयता ब्याण्डले यो विशाल टापुरुपी मुलुकमा पाँचपटक यात्रा गरिसकेको छ।
त्यसमध्ये सन् २०१२ विशेष उल्लेखनीय थियो, जतिबेला २२ सय क्षमताको सिड्नी टाउनहलमा दर्शक नअटाएर बाहिर रहनपुगेका भीँडले निकै बेरसम्म ट्राफिक अस्तब्यस्त पारिदिएको थियो।
त्यसपछि सन् २०१५ यता लुनापार्कको अडिटोरियममा बारंबार प्रस्तुत भएको नेपथ्यले यसपाला पाँच हजारभन्दा बढी दर्शक अटाउने ‘होडर्न पभिलियन’मा फड्को मारेको हो।
‘नेपालकै पनि सर्वाधिक प्रस्तुत भएको ठाउँहरुका हाराहारीमा उभिने सिड्नी मेरोनिम्ति घरजस्तै आत्मीय सहर भइसकेको छ’, नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘विश्वभर यसरी नेपाली समुदायको उपस्थिती बाक्लिँदै गइरहेकोमा खुशी लाग्छ । तर, स्वदेशमा अवसरको अभाव भएकैले यसरी नेपालीहरु बाहिरिन बाध्य भएको सत्य आत्मसात गर्नुपर्दा चाहिँ तितो लाग्दोरहेछ’
अमृतले शुक्रबार कन्सर्टकै बेला पनि यसरी ‘ब्रेन’ र तन्नेरीहरुको ‘ड्रेन’ छिट्टै थामिएर नेपाल आफैँमा अवसरहरुले भरिएको एक समृद्ध मुलुक बन्ने विश्वास प्रकट गरे। नेपथ्यका लोकप्रिय गीतहरु प्रस्तुत गर्नेमात्र नभइ देश र नेपालीय पहिचानका प्रति अमृतले प्रकट गरेका प्रत्येक भावनाहरुमा दर्शकले चर्को ताली र आवाजका साथ ऐक्यवद्धता प्रकट गरेको देखिन्थ्यो।
कन्सर्टमा सँधैजस्तै ड्रमसेटमा धु्रब लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
सिड्नीको कन्सर्ट सम्पन्न भएसँगै नेपथ्य अष्ट्रेलिया श्रृंखला अब मेलबर्नतर्फ लम्किएको छ।
त्यहाँस्थित ‘फोरम हल’मा १३ फेबु्रअरी सोमबारका दिन ब्याण्डले आफूलाई प्रस्तुत गर्नेछ। त्यसपछि अष्ट्रेलियाकै पुछारतर्फको टापु तास्मानियाको होबार्टस्थित ‘ओडियन थिएटर’मा फेबु्रअरी १७ तारिख शुक्रबार अन्तिम प्रस्तुती दिएर ब्याण्ड स्वदेश फर्कने छ।
Shares

प्रतिक्रिया