कृषा चौलागाईँको निर्देशन रहेको फिल्म ‘पारस’ असार १५ गतेबाट छायांकन सुरू हुने भएको छ।
निर्माण टिमले फ्लोरमा जाने समय तोक्दै बिहीबार कलाकारको फेस टेस्ट गरेको छ। बालाजु ल्याबमा कलाकारको पात्र अनुसार लुक्स हेरिएको हो।
कृषाले चलचित्रको अधिकांश पूर्वतयारीको काम सकिएकाले छायांकनमा जान लागिएको बताइन्। उनका अनुसार चलचित्रको छायांकन असार १५ गतेदेखि काठमाडौं आसपासका क्षेत्रमा गरिनेछ। सोहीको तयारीका साथ कलाकारको लुक्स हेरिएको निर्देशक कृषाले जानकारी दिइन्।
केपी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा निखिल उप्रेती, रमेश उप्रेती, निरुता सिंह, सुशील श्रेष्ठ, जसिता गुरुङ र पुस्कर गुरुङ अनुबन्धित भइसकेका छन्। अन्य कलाकारको छनोट प्रक्रिया भने जारी छ।
फिल्मको पटकथा भारतीय लेखक सचिन लादियाले तयार पारेका हुन्। छायांकन निर्देशक (डीओपी) को जिम्मेवारी पुरुषोत्तम प्रधानले सम्हालेका छन् भने मानकृष्ण महर्जन र शेखरबहादुर तामाङ क्यामेरा टिममा रहनेछन्।
केही साताअघि चलचित्रको पहिलो गीत रेकर्ड गरिएको थियो, जसमा गायन रियालिटी शो ‘नेपाल आइडल सिजन-३’ की विजेता सज्जा चौलागाईँले स्वर दिएकी छन्। उक्त गीतमा कोशिश क्षेत्रीको शब्द तथा संगीत रहेको छ।
Shares

प्रतिक्रिया