युवा पुस्तामाझ लोकप्रियता कमाएका गायक हुन् - स्वप्न सुमन। उनी अब अभिनेताका रुपमा देखिने भएका छन्। निर्देशक सुरेश राउतको अनटाइटल फिल्ममा उनलाई शीर्ष भूमिकाका लागि अनुबन्ध गरिएको छ।
प्रेमकथा र सामाजिक कथावस्तुमा बन्ने फिल्मको छायांकन वैशाखमा हुने छ। निर्देशक राउतले गायक सुमनलाई प्रमुख चरित्रमा अनुबन्ध गरिएको जानकारी दिए।
तीन महिनादेखि यो भूमिकामा लागि सुमनले अभिनय सिकिरहेका छन्। उनलाई अडिसनबाट छनोट गरिएको पटकथा लेखक विकास सुवेदीले बताए।
वैशाखमा छायांकन सुरु गरी असारसम्म निर्माण सम्पन्न हुने बताइएको छ। वर्षात्को मौसम चाहिने हुनाले छायांकनमा लामो समय लाग्न सक्ने पनि निर्देशक राउतले बताए।
फिल्ममा नायिका को हुने भन्ने फाइनल हुन बाँकी रहेको राउतले सुनाए। फिल्ममा सहरी कथावस्तु समेटिने लेखक सुवेदीले बताए।
सुवेदी भन्छन्, ‘यसले सहरी सभ्यताको ढोंगीपन र भ्रमको कथा भन्छ। सहरभित्रको एउटा कथा हो। यसले सहरको दुई चरित्र झल्काउँछ।’
फिल्म घोषणासँगै रिलिज मिति पनि तय गरिएको छ। यो फिल्म आगामी दसैंमा रिलिज हुने छ।
वास्तविक नाम सुमन थापा भएका गायकको स्टेज नाम स्वप्न सुमन हो। उनलाई ‘के साह्रो राम्रो भको’ र ‘ए हेलो’ लगायतका गीतले स्थापित गराएका हुन्। मोडल तथा अभिनेत्री ज्योत्सना योगीसँग गत वर्ष विवाह गरेका उनले संगीत र अभिनयलाई सँगै अघि बढाउने बताएका छन्।
Shares
प्रतिक्रिया