कला


आरजुको प्रशंसा गर्दै कांग्रेसलाई भोट हाल्ने बताएपछि विवादमा परिन् एलिना

आरजुको प्रशंसा गर्दै कांग्रेसलाई भोट हाल्ने बताएपछि विवादमा परिन् एलिना

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार ११:५३, काठमाडौँ

गायिका एलिना चौहान एक टिकटक भिडिओका कारण विवादमा परेकी छन्। केही दिनअघि अन्य कलाकारसँगै प्रधानमन्त्री निवास पुगेकी एलिनाले भिडिओमा आफूले नेपाली कांग्रेसलाई भोट हाल्ने बताएकी छन्। 

उनले टिकटकमा भनेकी छन्, ‘मलाई हजुरहरुसँग सानो कुरा सेयर गर्न मन लाग्यो। अस्ति म प्रधानमन्त्री निवास बालुवाटार गएको थिएँ। हामीलाई प्रधानमन्त्रीज्यूले निमन्त्रणा दिनुभएको थियो। म पार्टी र चुनावको हिसाबले भन्दा देशको प्रधानमन्त्रीले बोलाउनुभयो भनेर गर्व महसुस गरेर गएको थिएँ। गएपछि एक प्रकारको खुसी हुन्छ, त्यही खुसीमा उहाँसँगको फोटो फेसबुकमा सेयर गरेँ र धेरैको गाली पनि खाएँ।’

उनले अगाडि भनेकी छन्, ‘तर प्रधामन्त्री निवास गएपछि फरक पाएँ। आरजु म्यामसँग कुरा गर्‍यौँ। उहाँले पनि हामीलाई प्रत्यक्ष भेटेर कुरा गर्नुभयो। प्रधानमन्त्रीज्यूले पनि हामीसँग कुरा गर्नुभयो। आरजु म्यामको बारेमा बाहिर जति पनि नराम्रो कुरा सुनिन्थ्यो, हामीलाई पनि होला भन्ने लाग्थ्यो तर उहाँलाई भेटेपछि यो सब गलत रहेछ भन्ने मलाई लाग्यो। त्यसपछि अर्को खुसीको कुरा - कलाकारको बारेमा अहिलेसम्म कसैले पनि सोच्दिनुभएको थिएन। कलाकार फिल्म चलुन्जेल नेपालमा बस्छन्। चल्न छाडेपछि नेपालमा भविष्य नभएर विदेश जानुपर्छ। यो बारेमा पनि उहाँहरुले कुरा उठाउनुभयो। कलाकारका लागि पनि सोच्दिने मैले नेपाली कांग्रेस मात्रै पाएँ। त्यो भएर मैले आफ्नो भोट नेपाली कांग्रेसलाई दिने निर्णय गरेँ।’

उनले अरुलाई पनि विचार गरेर भोट हाल्न आग्रह गरेकी छन्। उनको यो भिडिओको भने आलोचना सुरु भएको छ। धेरैले उनले केटाकेटीपन देखाएको भन्दै आलोचना गरेका छन्। कतिले भने एलिनाले पैसा लिएर कांग्रेसको प्रचार गरेको टिप्पणी गरेका छन्। कतिपयले उनलाई झोले भन्दै आलोचना गरेका छन् भने कतिले उनका गीत नसुन्ने घोषणासमेत गरेका छन्।

अहिले एलिनाको उक्त टिकटक भिडिओलाई सामाजिक सञ्जालका अन्य प्लेटफममा पनि सेयर गरेर आलोचना सुरु भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad