कला


महिना दिन लामो नेपाल भ्रमणमा नेपथ्य

महिना दिन लामो नेपाल भ्रमणमा नेपथ्य

नेपालखबर
कात्तिक १४, २०७९ सोमबार १५:५०, काठमाडौँ

लामो समयदेखि मुलुकको समसामयिक भोगाइलाई सम्बोधन गर्ने नारा बोकेर साँगीतिक यात्रा गर्दै आएको नेपथ्यले अब फेरि नयाँ नारा र अठोटकासाथ आफूलाई एक महिना लामो देशब्यापी यात्रामा प्रस्तुत गर्ने भएको छ।

आगामी मंसिर १६ गतेदेखि पुस १६ गतेसम्म नेपालको पूर्वी कुनादेखि पश्चिमी कुनासम्म पुग्ने तयारीमा रहेको यो ब्याण्डले यसै पालादेखि नयाँ अठोटका रुपमा ‘मानवता प्रवर्द्धन अभियान’ मा सहभागी हुँदैछ।

यसभन्दा पहिले विद्यालयमा हतियारधारीहरुको हस्तक्षेप हटाउन ‘शान्तिको लागि शिक्षा’ र द्वन्द्वको चक्रबाट मुलुकलाई मुक्तगर्ने कामनाका साथ ‘सुन्दर शान्त नेपाल’ जस्ता अभियानहरु नेपथ्यकै सक्रियता एवं सहभागीतामा अघि बढेको थियो। 

‘मानवताको लागि संगीत’ कार्यक्रमको पहिलो प्रस्तुती बिराटनगरमा हुनेछ। मंसिर १६ गते शुक्रबारका दिन त्यहाँस्थित ‘हाटखोला मैदान’मा नेपथ्य गुञ्जिनेछ। त्यसपछि ब्याण्ड वीरगन्ज प्रस्थान गर्नेछ । मंसिर १९ गते वीरगन्जको ‘आदर्शनगर रंगशाला’मा ब्याण्ड प्रस्तुत हुनेछ। त्यसैगरि मंसिर २२ गतेका दिन  हेटौंडाको ‘भूटनदेवी स्कुल मैदान’मा लोक रक गीतहरु सुनाइनेछन्।

हेटौंडा मानवसेवा आश्रमको मुख्य कार्यालय रहेको स्थान पनि हो । त्यहाँबाट विस्तार भएको यो संस्थाले मुलुकभर ७७ वटै जिल्लामा हाल आफ्नो सेवा परिचालन गरिरहेको छ ।

हेटौंडापछि २५ मंसिरका दिन नारायणघाटको ‘क्याम्पाचौर’मा ब्याण्ड उपस्थित हुनेछ। मंसिर महिनाको अन्तिम शो भने नेपालगन्जमा २९ गतेका दिन आयोजना गरिनेछ। त्यसपछि पुसको ३ गते ब्याण्डले धनगढीको रंगशालामा आफूलाई प्रस्तुत गर्नेछ।

त्यसपछि थोरै मास्तिर उक्लेर ब्याण्डले वीरेन्द्रनगर सुर्खेतको खुलामञ्चमा पुस ६ गतेका दिन कर्णाली प्रदेशका श्रोतालाई आफ्ना नयाँ तथा पुराना गीतहरु सुनाउनेछ। त्यसपछि फर्किएर बुटवल आइपुग्ने टोलीले त्यहाँस्थित ‘रामनगर खेलमैदान’मा तयार पारिने मञ्चमा आफूलाई पुस ९ गते प्रस्तुत गर्नेछ।

त्यसपछि नेपथ्य यात्राले ब्याण्डलाई उसको ‘होम ग्राउण्ड’मा प्रवेश गराउनेछ। पुसको १२ गते मंगलबारका दिन ब्याण्डले पोखरा नयाँबजारस्थित ‘प्रदर्शनी केन्द्र’मा आफूलाई उभ्याउने भएको छ।

यसरी मुलुकका सम्पूर्ण प्रदेशहरु घुमिसकेपछि अन्तिममा ब्याण्ड संघीय राजधानी काठमाडौं आइपुग्नेछ।

काठमाडौंमा भने पुस १६ गते शनिबारका दिन भृकुटी मण्डपमा ब्याण्ड प्रस्तुत हुनेछ। नेपथ्यले यसभन्दा अघिल्लोपटक पनि काठमाडौंका श्रोता दर्शकसामु आफूलाई भृकुटी मण्डपमै उभ्याएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad