ad ad

कला


मोदीविरुद्ध बोल्न किन डराउँछन् बलिउडका हस्ती?

मोदीविरुद्ध बोल्न किन डराउँछन् बलिउडका हस्ती?

नेपालखबर
पुस १, २०७६ मंगलबार ११:१२,

भारतमा नागरिकता संशोधन कानुन र त्यसविरुद्ध प्रदर्शनमा उत्रिएका विद्यार्थीमाथि भएको प्रहरी दमनबारे बलिउडका केही कलाकारले मुख खोलेका छन्। तर, सबैभन्दा चर्चित र ठूला कलाकार भने यस विषयमा मौन छन्।

दिल्लीको जामिया युनिभर्सिटीभित्र पसेर प्रहरीले प्रदर्शनकारी विद्यार्थीमाथि ज्यादती गरेको थियो।

सामाजिक सञ्जालमा भाइरल भएका भिडियोमा प्रहरीले निर्ममतापूर्वक विद्यार्थीलाई पिटेको दृश्य देख्न सकिन्छ।

यो घटनापछि अनुराग कश्यप, तापसी पन्नु, अभिनव सिन्हालगायतले प्रहरीको विरोध गरेका छन्।

पछिल्लो समय एकपछि अर्को हिट फिल्म खेलिरहेका अभिनेता आयुष्मान खुरानाले ट्विट गरेका छन्, ‘विद्यार्थीमाथि जे भइरहेको छ, त्यसबाट अत्यन्त दुःखी छु। यो निन्दनीय छ।’

मनोज बाजपेयीले लेखेका छन्, ‘म विद्यार्थी र तिनको लोकतान्त्रिक अधिकारको पक्षमा छु। विद्यार्थीमाथि भएको हिंसाको निन्दा गर्छु।’

परिणिति चोपडाले लेखेकी छन्, ‘आफ्नो विचार व्यक्त गर्नेमाथि यस्तो पिटाइ? बर्बर!’

तर, सुपरस्टार मानिने कलाकारहरु अमिताभ बच्चन, आमिर खान, शाहरुख खान र सलमान खान यसबारे मौन छन्। किन त?

यसको कारण खोज्न त्यति मुस्किल छैन।

अमिताभ बच्चन जहिले पनि सत्तामा रहेको शक्तिको निकट रहँदै आएका छन्। उनले सत्ताको विरोधमा कहिल्यै अभिव्यक्ति दिएका छैनन्।

तीन खान भनेर चिनिने आमिर, शाहरुख र सलमान तिनैजना मुस्लिम हुन्। यसअघि पनि आफ्ना टिप्पणीहरुका कारण उनीहरुमाथि अनेक लान्छना लगाइने गरेको छ।

सन् २०१५ मा शाहरुखले मुलुकमा धार्मिक असहिष्णुता बढेको बताएपछि भाजपाका नेता कैलाश विजयवर्गीयले उनलाई ‘देशद्रोही’ भनेका थिए।

पछिल्लो समय त भारतमा वातावरण नै यस्तो बनिसकेको छ, सत्तामा रहेको नरेन्द्र मोदी नेतृत्वको भाजपा र उसका कदमको विरुद्ध बोल्ने जोकोहीलाई देशद्रोहीको बिल्ला भिराउने गरिएको छ।

त्यसैले यस्ता घटनामा मुख खोलेर यी कलाकार आफ्नो स्टारडमलाई दाउमा राख्न चाहँदैनन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .