ad ad

कला


हरिवंश आचार्य भन्छन् : विवाह नगरेको भए पछुतो लाग्ने रहेछ!

हरिवंश आचार्य भन्छन् : विवाह नगरेको भए पछुतो लाग्ने रहेछ!

नेपालखबर
कात्तिक २, २०७९ बुधबार ९:२१, काठमाडौँ

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य फिल्म ‘महापुरुष’मार्फत सिनेमा घरका पर्दामा देखिने तयारीमा छन्। यो फिल्ममा श्रीमतीको निधनपछि श्रीमानले विवाह गर्न चाहेको कथा देखाइएको छ। 

ट्रेलरमा यो कथा देखेपछि धेरैले फिल्मको कथा आचार्यको वास्तविक जीवनसँग गाँसिएको अड्कलबाजी गरिरहेका छन्। उनले श्रीमतीको निधनपछि दोस्रो विवाह गरेका थिए। त्यसैले पनि धेरैले फिल्मको कथासँग उनको जीवन गाँसेर हेरिरहेका छन्। 

आचार्यले भने फिल्म र आफ्नो जीवन नमिलेको बताएका छन्। उनले भने, ‘यो मेरो जीवनभन्दा अलग छ। त्यो समयमा अरुले आफ्नो जीवनका बारेमा सोच्नुपर्छ भन्नुभयो। मैलाई पनि लाग्थ्यो - मेरा छोराहरु मेरा लागि घरमा बसिरहनु हुँदैन। उनीहरु आफ्नो करिअर अगाडि बढाउने क्रममा मबाट टाढा जानुपर्ने हुनसक्छ । मैले छोराहरुकै सल्लाहमा विवाह गरें।’

उनले अघि थपे, ‘विवाह गरेपछि काममा फर्किन सकेँ। मेरो छोराहरूले आमा पाए, मैले जीवनसाथी पाएँ। त्यस्तो घटना हुनु नराम्रो हो। त्यस्तो घटना सबैभन्दा ठूलो दुर्भाग्य हो। आफूले सोचेर हुँदैन।’

हरिवंशले १० वर्षअघि ५२ वर्षको उमेरमा दोस्रो विवाह गरेका थिए।

विवाहपछि आफ्नो जीवन सहज भएको बताउँदै आचार्यले भने, ‘अहिले जीवन सजिलो भएको देखेर लाग्छ - विवाह नगरेको भए पछुतो लाग्ने रहेछ।’

फिल्ममा देखाईको उमेर ढल्किएपछि आफूले विवाह गरेको भाग मात्रै आफ्नो जीवनमा मेल खाने आचार्यले बताए। उनी फिल्ममा त्यही पुरुषको भूमिकामा देखिँदै छन् जुन पुरुषले उमेर ढल्किएपछि विवाहको चाहाना राखेको देखिन्छ।

प्रदीप भट्टराईले निर्देशन गरेको महापुरुषमा आचार्यसँगै मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रविन्द्र सिंह बाँनिया, अञ्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला लगायतका कलाकारले अभिनय गरेका छन्। 

षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा म्याक्स दिपेश खत्रीले लगानी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .