कार्यकाल सकिएर विदा हुँदै गर्दा कुलपति गंगाप्रसाद उप्रेतीले नेपाल प्रज्ञा प्रतिष्ठानलाई आर्थिक बोझ बोकाएका छन्।
उनले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै सरुवाबढुवा, ग्रेडवृद्धि र नियुक्तिहरु गर्दा प्रतिष्ठानलाई आर्थिक भार थपिएको हो।
कुलपति उप्रेती र सचिव जगतप्रसाद उपाध्यायको मिलेमतोमा प्रतिष्ठानलाई आर्थिक अप्ठ्यारोमा पार्ने काम भएको स्रोतले जनाएको छ।
स्रोतले भन्यो, 'प्रतिष्ठानको इतिहासमै सबभन्दा बढी नोक्सान पुर्याएको कार्यकालको रुपमा पनि उहाँको कार्यकाल गणना गर्न सकिन्छ।'
उनीहरुले अन्तिम समय जाने दिनसम्म पनि आफ्ना सवारी चालकको श्रीमतीदेखि भतिज, भतिजको श्रीमतीलगायत सम्पूर्णलाई भर्ती गरेको स्रोतको भनाइ छ।
सोही कारण प्रज्ञा प्रतिष्ठान पनि साझा प्रकाशन जस्तै बन्ने बाटोमा अघि बढेको स्रोतले जनाएको छ।

प्रज्ञामा मनपरी चल्दासमेत यससम्बन्धी तालकुदार मन्त्रालय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मूकदर्शक बनेको छ।
दुवै जनाको कार्यकाल गत असोज २१ सम्म रहेकामा आधिकारिक रुपमा दुवै जना १४ गते नै विदा भएका थिए।
आगामी मंसिर ४ मा हुने निर्वाचनको आचारसंहिता असोज १२ मै लागू भइसकेको थियो। आचारसंहिताअनुसार कुनै पनि सरुवाबढुवा, नियुक्ति गर्न पाइँदैन।
तर कुलपति उप्रेतीले भने अर्थ मन्त्रालयको सहमति समेत नलिई मनपरी रुपमा कार्यालय सहयोगी, पद नै नभएको ठाउँमा भर्तीजस्ता गतिविधि गरेका थिए।

आचारसंहिताविपरीत गतिविधि गरेपछि निर्वाचन आयोगले समेत प्रतिष्ठानलाई पत्र लेख्दै स्पष्टीकरण सोधेको थियो।
गत असोज ११ र १४ गतेको प्रतिष्ठानको प्राज्ञ परिषद्को निर्णयअनुसार १४ गतेको पत्रबाट आजीवन सदस्यता प्रदान गर्न सिफारिस समिति गठन गर्ने, स्थायी तथा करार सेवाको कर्मचारीहरुलाई सरुवा, बढुवा, नयाँ करार नियुक्ति र म्याद थप, भत्ता तथा ग्रेडवृद्धि गर्ने काम भएको थियो।
निर्वाचन आचारसंहिता २०७९ को दफा ७ को खण्ड घ र ङ अनुसार प्रतिष्ठानको उक्त कार्य आचारसंहिता विपरीत हुन्छ। सोही कारण आयोगले यसबारे प्रतिष्ठानसँग स्पष्टीकरण सोधेको थियो।
आयोगले ती सबै निर्णय निर्वाचन सम्पन्न नभएसम्म र आयोगको सहमति नलिई कार्यान्वयन नगर्न निर्देशन दिँदै ३ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको थियो।
कुलपति उप्रेती प्रतिष्ठानमा निकै विवादित बन्दै आएका छन्। उनीमाथि नजिकका व्यक्तिलाई नियुक्ति, बढुवा, ग्रेडवृद्धिलगायतका काम गर्ने गरेको आरोप लाग्दै आएको छ।
अन्य प्रतिष्ठान ४०–४५ जना कर्मचारीकै भरमा चलिरहेका छन्। प्रज्ञामा भने कुलपतिले ५२ जना करारमा नियुक्ति गरेका छन्। प्रज्ञामा ८८ जना स्थायीसँगै कुल १४० जना कर्मचारी छन् भने पेन्सन लिनेको संख्या नै ११७ पुगिसकेको छ।
प्रज्ञाको कुल बजेट १४ करोड १९ लाख रहेकामा तलबभत्तामै १४ करोड खर्च हुने स्रोतको भनाइ छ।
Shares

प्रतिक्रिया