ad ad

कला


बलात्कारप्रति असंवेदनशील ‘सेलिब्रेटी’, आफ्नै अभिव्यक्ति बन्छ घाँडो

बलात्कारप्रति असंवेदनशील ‘सेलिब्रेटी’, आफ्नै अभिव्यक्ति बन्छ घाँडो

राधिका अधिकारी
भदौ २८, २०७९ मंगलबार ११:३४, काठमाडौँ

यही भदौ २२ गते गायक शिव परियारले फेसबुकमा लामो स्टाटस लेखे। लेखेको छोटो समयमै स्टाटस भाइरल भयो। धेरैले उनको स्टाटसको स्क्रिनसर्ट राखेर गाली गर्न थालेपछि परियारले स्टाटस हाइड मात्रै गरेनन्, फेसबुकबाट प्रोफाइल फोटो हटाए। ८/१० घण्टापछि परियारले उक्त स्टाटसको केही अंश सम्पादन गरेर पुनः पब्लिस गरे। 

उनले स्टाटसमा आफू बलात्कारमा परेको उजुरी दिएकी युवतीलाई ‘पेसेवर’को उपमा दिएका थिए। उनको यो वाक्यांशले सामाजिक सञ्जाल निकै तातियो। उनले लेखेको त्यस्तो वाक्यांशले स्रष्टाको चेतना स्तरबारे बहस चलिरहेको छ।

उनले सञ्जालमा लेखे ‘पेसेवर पीडित भनौदाहरूलाई पनि व्यवस्थित गरी कारबाही गर्ने कुनै कानुनको धारा होला नि?’

उनले कानुनको धाराप्रति प्रश्न गरिरहँदा धेरैले उनलाई कानुनका बारेमा कति ज्ञान छ भनेर प्रश्न गरिरहेका छन्। तर उनले यो प्रश्नको जवाफ दिन जरुरी ठानिरहेका छैनन्। बरु म नराम्रो सोच्ने मान्छे होइन भनेर पुनः स्टाटस लेखे।

बलात्कारजस्तो जघन्य अपराधबारे  टिप्पणी गर्दै परियारले नेपालमा बलात्कारको आरोप व्यवसायका रूपमा मौलाएको तर्क गरे। समाजलाई सचेत गराउनुपर्ने परियारले बलात्कारजस्तो जघन्य अपराधलाई कसरी त्यस्तो सोचे होलान्! आफूले लेखेको स्टाटस २४ घण्टा नबित्दै सम्पादन गरेका परियार आफूले सञ्जालमा सही कुरा उठाएको जिकिर गरे। 

देशमा मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरमै आफ्नो छवि बनाएका सन्दीपविरुद्धको जाहेरी पर्दा शिवलाई मात्रै होइन धेरैलाई नमीठो लागेकै हो। तर उनले ‘आइकन भनेको औकात हो र बलात्कार अपराध हो’ भन्ने सामान्य हेक्कासमेत राख्न सकेनन्। बलात्कारका घटना बारम्बार नदोहोरिन राज्यले प्रभावकारी भूमिका खेलोस् भनेर अपेक्षा राखेका परियारका शब्दले पीडितलाई झन पीडा दिने काम गर्यो। 

उनको यो स्टाटसलाई लिएर सञ्जालमा विरोध मात्रै भएन, उनलाई सार्वजनिक बहिष्कार गर्नुपर्नेसम्मका माग उठे। एक ट्विटर प्रयोगकर्ताले लेखेकी छन्, ‘नाबालिका सर्भाइभरलाई पेसेवर पीडित देख्ने, यौन हिंसालाई आइकन सिध्याउने खेल र पुरुष फसाउने गिरोह देख्ने शिव परियारजस्ता गायकहरूलाई कमसेकम ‘महिला हिंसामा शून्य सहनशीलता भन्नेहरूले सार्वजनिक बहिष्कार गर्न सक्नुपर्छ। किनकि हिंसाको पक्षपोषण गर्नु पनि हिंसा नै हो।’

परियारको चेतमा प्रश्न उठिरहेकै बेला यही केसमा मुछिए हास्य कलाकार सन्तोष पन्त। पन्तले सन्दीपको बचाउ गर्दै ‘राष्ट्रको नै बेइज्जत भयो’ भन्दै आगो ओकले। उनले ओकलेको आगोले अहिले उनैलाई पोलिरहेको छ। उनले पीडित युवतीतिर औंला तेस्र्याउँदै भने ‘कुनचाहिँले उक्साइदियो। सायद १० लाख पैसाका कारण कसैले उक्साइदिएको हो कि?’

पन्तले बोलेको उक्त वाक्यांशको भिडिओ अहिले सञ्जालमा भाइरल छ। पन्तको उक्त भिडिओ सेयर गर्दै राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले लेखिन्, ‘यूएन र राष्ट्रिय सबै भ्याएकाले कुरा सेन्सिटिभ हो। योसम्म बुझ्न जान्नेले यो किन सकिरहेको छैन कि कानुनले भनेको ‘१८ वर्षमुनिकाको बालिकाको अनुमतिले पनि यदि यौनसम्पर्क गरेको छ भने त्यो बलात्कार हो। यस्तो रोगीले गर्दा नै हो समाज उँभो नलागेको।’

सन्दीप प्रकरणमा नायिका रिमा विश्वकर्मा पनि विवादमा परिन्। उनले अध्यागमनले सन्दीपलाई कालोसूचीमा राखेपछि स्टाटस लेख्दै सन्दीपलाई कालोसूचीमा राखिनुको जवाफ मागिन्। उनले लेखेकी छन्, ‘सन्दीप लामिछाने दोषी होलान् या निर्दोष यो त छानबिनपछि नै थाहा होला। दोषी भएमा उनले देशको कानुनबमोजिम सजाय पाउनुपर्छ, अपराधीले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हँुदैन। तर आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भएजसरी एक अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय खेलाडीलाई  कालो सूचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ?’ उनको यो स्टाटसबारे सामाजिक सञ्जाल प्रयोगकर्ताले रिमालाई सामान्य कानुनी ज्ञान नभएको भन्दै टिप्पणी गरिरहेका छन्। 

बलात्कारजस्तो संवेदनशील विषयमा सस्तो प्रतिक्रिया दिने कलाकारको सूची निकै लामो छ। केही समयअघि नाबालिग बलात्कारको आरोप लागेका अभिनेता पल शाहको बचाउमा अभिव्यक्ति दिएका नायक रमेश उप्रेती उसैगरी विवादमा तानिए। उनले एक टेलिभिजन कुराकानीका क्रममा बलात्कारबारे मजाक गरे।  उनले बलात्कार हुँदा चिच्याउनुपर्छ भन्ने अभिव्यक्ति दिए। आफ्नै अभिव्यक्तिले विवादमा परेका रमेशले निकै दिन सामाजिक सञ्जालमा उपस्थितिसमेत जनाउन सकेनन्। 

पल प्रकरणमै नायिका पूजा शर्माको अभिव्यक्ति विवादमा तानियो। उनले ‘रियल हिरो’ भएकाले पलको जित हुने भन्दै अभिव्यक्ति दिइन्। उनले सामाजिक सञ्जालमा ‘जस्टिस फर पल’ भनेर लेखिन्। त्यही ताका उनको फिल्म चलेको थियो, फिल्मभन्दा धेरै पूजाको रोनाधोना चल्यो। उनले कलाकारका फ्यान समर्थक भनेका कसैका बिस्ताराका खेलौना होइनन् भन्ने सामान्य कुरासमेत बुझन् सकिनन्। उनले त्यसताका दिएका कतिपय अभिव्यक्ति सुनिसाध्य थिएनन्। 

बलात्कारको संवेदनशीलतालाई हलुका रूपमा लिने अभिनेत्रीको सूचीमा नायिका करिश्मा मानन्धर पनि पर्छिन्। उनले त बलात्कारपछि जन्मिएको छोराको डीएनए परीक्षणका लागि आमरण अनशनमा बसेकी निहारिका राजपुतका निजी तस्बिरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिन्। निहारिका बलात्कारमा नपरेको दाबी गरिन्। तर एउटी आमाले दुधे बालक च्यापेर डीएनए परीक्षणको माग गर्दै आमरण अनशनमा बस्नुपर्ने अवस्था कसरी आयो भन्नेतर्फ भने ध्यान दिन सकिनन्। 

अघिल्लो अनशनमा करिश्माले निहारिकालाई धर्म छोरी बनाउने भन्दै सस्तो लोकप्रियता बटुलिन्। २० हजार रुपैयाँ आर्थिक सहयोग गरिन्। केही दिन निहारिकालाई लिएर हिँडिन्। तर आफ्ना निजी तस्बिर सार्वजनिक भएपछि निहारिकाले करिश्मालाई १ हजार ब्याज थपेर पैसा फिर्ता गरिन्। करिश्मालाई पनि लाग्यो रमाएको, हाँसखेल गरेको, प्रेम गरेको मान्छेले बलात्कार गर्र्दैन भन्ने लाग्यो। निहारिकाले आफू बलात्कारमा पर्दा १७ वर्षको रहेको बताइरहेका बेला, १८ वर्षमुनिलाई बलात्कार गर्दा हुने कानुनी सजायका विषयमा सार्वजनिक रूपमा बहस भइरहेका बेला तस्बिर सार्वजनिक गर्दै लेखेको स्टाटसले विवादित बनायो। 

समाजले आइकन मानेका कलाकारले बलात्कारजस्तो संवेदनशील विषयमा दिएका अभिव्यक्तिले उनिहरूको चेतनामा बारम्बार प्रश्न उठाइरहेको छ। एउटाले गरेको गल्तीबाट अर्कोले पाठ सिक्न सकिरहेका छैनन्। हाम्रा कलाकारले समाजमा आफैंले खेल्नुपर्ने भूमिका भुलेर सस्तो लोकप्रियताको पछि दौडिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .