कला


नेपाल प्रहरीलाई समर्पण गर्दै विशेष ट्रिब्युट एपिसोड ल्याउँदै ‘कमेडी नाइट विथ च्याम्पियन्स’

नेपाल प्रहरीलाई समर्पण गर्दै विशेष ट्रिब्युट एपिसोड ल्याउँदै ‘कमेडी नाइट विथ च्याम्पियन्स’

नेपालखबर
जेठ २५, २०८३ सोमबार १४:७, काठमाडौँ

चर्चित कमेडी टेलिभिजन कार्यक्रम ‘कमेडी नाइट विथ च्याम्पियन्स’को सिजन-२ ले नेपाल प्रहरीलाई समर्पण गर्दै विशेष ट्रिब्युट एपिसोड ल्याउने भएको छ। एपिसोड-६० अन्तर्गत प्रसारण हुन लागेको सो नेपाल प्रहरीमय हुनेछ। 

कार्यक्रमका होस्ट तथा निर्देशक विशाल भण्डारीले जेनजी आन्दोलनपछिका विभिन्न घटनाक्रमले नेपाल प्रहरीको मनोबलमा परेको प्रभावलाई ध्यान दिई प्रहरी कर्मचारीहरूको आत्मविश्वास र मनोबल उच्च बनाउने उद्देश्यले यो विशेष एपिसोड तयार पारिएको बताए। 

उक्त एपिसोडमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की विशेष अतिथिका रूपमा सहभागी भएका छन्। साथै कार्यक्रममा करिब एक सयभन्दा बढी प्रहरी कर्मचारी बर्दीसहित उपस्थित छन्।

कार्यक्रममा कलाकारहरूले प्रहरी संगठनभित्रका विविध पक्षलाई हास्य र व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेका छन्। प्रहरी कर्मचारीहरूले भोग्ने पारिवारिक समस्या, ड्युटीका क्रममा सामना गर्नुपर्ने चुनौती, जिम्मेवारीको दबाब तथा समाजमा शान्ति सुरक्षा कायम गर्न खेल्ने भूमिकालाई केन्द्रमा राखेर प्रस्तुत दिएका छन्।

उनीहरूको विभिन्न स्केच र अभिनयले उपस्थित प्रहरी कर्मचारीहरू उत्साहित देखिएको निर्देशक भण्डारीले बताए। 

कार्यक्रमको अध्यक्षतामा चर्चित कलाकार तथा निर्माता दीपाश्री निरौला छिन्। त्यस्तै कार्य्र्रक्रममा कलाकारहरू सुमन कार्की, साजन श्रेष्ठ, भरतमणि पौडेल, सुमन कोइराला, कैलाश कार्की, मेक्सम गौडेल, प्रभात लामा, पवन भट्टराई र कर्मा सिंह लामा लगायतले प्रस्तुति दिएका छन्।

यो एपिसोडले नेपाल प्रहरीको समर्पण, त्याग र सेवाभावप्रति सम्मान व्यक्त गर्नुका साथै संगठनभित्र सकारात्मक ऊर्जा प्रवाह गर्न महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा  छ। ‘कमेडी नाइट विथ च्याम्पियन्स’ को यो विशेष एपिसोड आगामी मंगलबार प्रसारण हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad