मौका मिल्दा खित्का छोडेर हाँस्छिन्, तर थोरै बोल्छिन्। फिल्म उद्योगमा लागेको एक दशक बढी भइसक्यो बोली चिप्लिएर गाली खानु परेको छैन। यो उद्योगमा बेला–बेला उम्दा भनिने अभिनेत्रीले बोलीमा लगाम लगाउन नजान्दा ट्रोलको सिकार भएका छन्। तर हलमा फिल्म लाग्दा पनि शान्त देखिन्छिन् सृष्टि श्रेष्ठ।
त्यसो त सृष्टिले शान्त स्वभाव जन्मिँदै लिएर आएकी हुन्। उनी सानैबाट शान्त र अन्तर्मुखी थिइन्। जागिरे पिताकी छोरी सृष्टिको बाल्यकाल एकै ठाउँमा हुर्किन पाएन। कहिले दाङ, कहिले चितवन, कहिले काठमाडौं गरेर उनले १३ वर्षसम्मको बाल्यकाल बिताइन्।
त्यसपछि लण्डन पुगेकी सृष्टिको शिक्षादीक्षा उतै भयो। बेलायतको ‘फाल्मोथ स्कुल’ प्राथमिक तहको सुरु गरेकी सृष्टिले ‘ट्रुरो कलेज’बाट ए लेभल र ‘किङ्स कलेज अफ लण्डन’बाट स्नातक गरिन्।
त्यसपछि सुरु भएको सृष्टिको कला यात्राले दशकको यात्रा पार गर्यो। यो दश वर्षे यात्रामा सृष्टिले धेरै कुराको अनुभव दियो। पूर्वमिस नेपाल सृष्टिलाई यही दर्शकले नेम–फेम दियो, मायालुको स्पर्श दियो, जीवनप्रतिको गहिरो बोध गरायो। सबैभन्दा ठूलो कुरा उनले आफैंलाई चिन्ने अवसर पाइन्।
उनले अहिलेसम्म दर्जन बढी विज्ञापनमा अभिनय गरिन्। आधा दर्जन ठूलो फिल्ममा अभिनय गरेकी सृष्टिले केही नाटकमा अभिनय गरेकी छिन्।
अभिनय गरेका केही फिल्म सफल भए, केही असफल पनि भए। यी सफलता र असफलताले उनलाई पाठ सिकाए। भन्छिन्, ‘अहिले साना कुरामा खुसी हुन सिकिरहेकी छु।’
उनै सृष्टि अभिनित पछिल्लो फिल्म ‘द सिक्रेट अफ राधा’ हलमा लागेको केही दिन भयो। उनी यो फिल्ममा शान्त, निर्दोष तर सशक्त महिलाको भूमिकामा प्रस्तुत भएकी छिन्।
उनको स्वभाव जस्तै फिल्ममा उनी कम बोल्ने पात्रका रुपमा देखिएकी छन्। गाउँकी सोझी राधामार्फत सृष्टिले महिला सशक्तीकरणको आवाज बोलेकी छिन्।
राधा पात्रका रुपमा सृष्टिले दर्शकको मन जितिरहेकी छन्। यो पात्रबाट आफूले जीवनको पाठ सिकेको सृष्टि बताउँछिन्। राधाले के सिकाइ त? सृष्टि भन्छिन्, ‘राधा पात्रले जीवनमा जतिसुकै आँधीहुरी र उतारचढाव आए पनि मन स्थिर राख्दै केन्द्रीकृत हुन सिकाएको छ।’
पछिल्लो समय मानिसहरु ‘बोल्ड’ र शक्तिशाली बन्ने होडमा हृदयविहीन बन्दै गएको सृष्टिले आभास गरेकी छन्। ‘भावना र संवेदनशीलतालाई कमजोरीका रूपमा बुझ्नु हुँदैन भन्ने मलाई लाग्छ। राधाले मलाई त्यही संवेदनशीलता सिकाएको छ,’ उनले भनिन्।
सन् २०१७ मा अभिनय सिक्न मुम्बई पुगेकी सृष्टिको जीवनले त्यहाँबाट फर्किँदा नयाँ मोड समात्यो। उनी आध्यात्मिक भएर आइन्। बाँचुञ्जेल श्वासको महसुस गर्न चाहन्छिन्। ‘मैले सिकेको जीवनको दर्शन भनौँ या अध्यात्म भनेको भनेकै ‘बी विथ माइ ब्रिथ’ भन्ने हो’, उनले सुनाइन्, ‘म जीवनलाई बाहिरीभन्दा पनि इन्टरनल रुपमा हेर्न चाहान्छु।’
सृष्टि कुनै योजना बनाएर मुम्बई पुगेकी थिइनन्। उनमा एउटा हुटहुटी थियो। अभिनयलाई निखार्ने। बिनायोजनाको यो यात्राले जीवनका लागि थुपै्र उपयोगी कुरा दिएको सृष्टि सुनाउँछिन्। ‘कहिलेकाहीँ योजनाबिना गरिने यात्राले पनि मान्छेलाई सही गन्तव्यमा लैजाने रहेछ,’ उनले भनिन्।
सृष्टिलाई हिरोवरिपरी नाच्ने हिरोइन मात्रै बन्नु छैन। उनलाई त लाइट हार्टेड रोल निर्वाह गर्नु छ। ‘मेरो चाहना मानवीय संवेदना बोकेका र नारीवादी चरित्र निर्वाह गर्नु हो,’ उनले भावी योजना सुनाइन्।
तर फिल्म त उद्योग हो, यहाँ उनको व्यक्तिगत चाहाना मात्रै चल्दैन। उनीमाथि लगानी गर्ने निर्माता, कुरिरहेका दर्शकका लागि पनि कतिपय भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। सृष्टिले पनि गरेकी छिन्। भन्छिन्, ‘मैले आफूलाई जस्ता फिल्ममा पनि ट्राई गर्नुका कारण यिनै हुन्।’
उनलाई गाउँको कथा मन पर्छ। गाउँको पात्र मन पर्छ। यसपाली उनले आफूलाई मन पर्ने पात्र भेट्टाएकी छिन्। उनी अभिनित फिल्मको व्यापार औसत छ। तर उनले फिल्मबाट राम्रो प्रतिक्रिया पाएकी छन्। फिल्मको सकारात्मक प्रतिक्रियाले भन्दा धेरै खुशी सृष्टिलाई विकासोन्मुख अवस्थाको नेपाली फिल्मको अवस्थाले दिएको छ। भन्छिन्, ‘नेपाली फिल्म क्रमशः सुन्दर ढंगले विकसित हुँदैछ।’
सशक्त महिलाको भूमिकामा देखा परेकी सृष्टि आफैँ चाहिँ महिला र पुरुष भएरभन्दा मानव भएर बाँच्नुपर्नेमा जोड दिन्छिन्। ‘महिला नै भनेर केन्द्रीकृत हुने हो भने पहिले आफू र आफूभित्रको शक्तिलाई चिन्न जरुरी छ’, उनले भनिन्, ‘हामी जसरी परिवार, इष्टमित्र, बालबच्चा, साथीभाइ, र पार्टनरलाई महत्व दिन्छौं, माया गर्छौं त्यसरी नै आफूलाई पनि माया गर्न र महत्व दिन आवश्यक छ। यति गर्न सक सबै क्षेत्रमा सफल भइन्छ।’
Shares
प्रतिक्रिया