भदौको पहिलो साता ३ नेपाली फिल्म एक साथ प्रदर्शन हुँदै छन्। भदौ ३ मा ‘कृष्ण लीला’, ‘प्रेमगञ्ज’ र ‘माइकल अधिकारी’ एक साथ रिलिज हुनेछन्। यी तीनवटै फिल्मको राम्रै प्रचार भैरहेको छ। कुन फिल्मले व्यापार आफ्नो पोल्टामा पार्ने हो त्यो भने यसै भन्न सक्ने अवस्था छैन।
भदौ सुरु भएसँगै ठूला ब्यानरका फिल्म लगालग प्रदर्शन हुँदै छन्। तर ठूला ब्यानरका फिल्म रिलिज हुने अघिल्लो साता भने हलमा कुनै पनि नयाँ नेपाली फिल्म रिलिज भएनन्। प्राय: सार्वजनिक बिदाका दिन आफ्नो फिल्म रिलिज गर्न निर्माताको तँछाडमछाड हुने गर्छ। तर अघिल्लो साता जनैपूर्णिमा तथा गाईजात्राको बिदा पर्दा भने हलमा नयाँ फिल्म रिलिज भएनन्।

हरेक शुक्रबार बक्स अफिसमा कम्तीमा एउटा नयाँ नेपाली फिल्म रिलिज गर्ने प्रचलन छ। प्रदर्शनका लागि तयार भएर बसेका फिल्मको सूची पनि निकै लामो छ। तर गत साता सिनेमा घरले नयाँ फिल्म पाएनन्। यसलाई धेरैले अर्थपूर्ण रुपमा हेरेका छन्। उनीहरुले ठूला ब्यानरका फिल्मको ठूलै हल्ला अघिको सन्नाटाका रुपमा हरेका छन्।
अबका केही महिना हरेक साता ठूला ब्यानरका फिल्म प्रदर्शन हुने छन्। यो अवधिमा सातामा कम्तीमा दुई नभए तीन फिल्म रिलिज हुनेछन्। यो अवधिमा कोरोना महामारी अघि निर्माण भएका फिल्म पनि प्रदर्शन हुनेछन्।
भदौ १० गते उद्योगकै प्रतिक्षित ‘प्रकाश’सँग सृष्टि श्रेष्ठको ‘राधा’ प्रदर्शन हुँदै छ। दुवै फिल्म उद्योगले आशा गरेका फिल्म हुन्।
भदौ ३ मा रिलिज हुने ‘माइकल अधिकारी’ र भदौ १० मा रिलिज हुने ‘राधा’मा सृष्टिले नै शीर्ष भूमिका निर्वाह गरेकी छन्। एउटा कलाकारको फिल्म रिलिज मिति नजिकै हुनु निर्माताका लागि सुखद मानिँदैन।
भदौ १७ गते ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ रिलिज हुने छन्। भदौ २४ मा ‘गोर्खा र ‘ऐना झ्यालको पुतली’ एकसाथ रिलिज हुँदै छन्। भदौ ३१ मा भने अहिलेसम्म ‘बाबरी’एक्लै प्रदर्शन हुने छ।
भदौमा नेपाली फिल्म मात्रै होइन बलिउडका ‘दोबारा’, ‘लाइगर’, ‘ब्रम्हास्त्र’ तथा हलिउडका ‘स्पाइडरम्यानः नो वे होमको द मोर फन स्टफ’, ‘बिस्ट’ र ‘द वुमन किङ’पनि प्रदर्शन हुनेछन्।
असोज लागेपछि दसैंको सिजन सुरु हुन्छ। दसैंका लागि प्रदर्शनको प्रचारमा रहेका प्राय: फिल्म उद्याेगले आशा गरेका फिल्म छन्। यसरी हेर्दा उद्योगमा ठूला ब्यानरको भिडन्त देखिएको छ।
Shares

प्रतिक्रिया