ad ad

कला


एक साता लम्बियो गीतिनाटक ‘सपना अनेक अनेक’को मञ्चन

एक साता लम्बियो गीतिनाटक ‘सपना अनेक अनेक’को मञ्चन

तस्बिर : राधिका अधिकारी/नेपालखबर


नेपालखबर
साउन २३, २०७९ सोमबार ७:२३, काठमाडौँ

साउन ५ गतेदेखि मञ्चन भएको गीतिनाटक सपना अनेक अनेकको मञ्चन अवधि थपिएको छ। 

बरिष्ठ रंगकर्मी अशेष मल्लको परिकल्पना तथा निर्देशनमा तयार भएको गीतिनाटक दर्शकहरुको विशेष आग्रहमा थपिएको मल्लले बताए।

विधाको हिसावले गीतिनाटक नयाँ प्रयोग भएपनि दर्शकको उत्साहजनक सहभागीताले उर्जा मिलेको मल्लले बताए।

यो नाटकसँगै सर्वनामले कोभिड पछि आफ्नो हल सञ्चालनमा ल्याएको हो। हाउसफूल दर्शकहरुको साथ पाइरहेको नाटक खत्रीको खण्डकाव्य आमा हुन् आमामा आधारित रहेर मल्लको परिकल्पना तथा निर्देशनमा तयार पारेका हुन्।

नेपाली रंगमञ्चको इतिहासमा चार दशकको इतिहासमा सर्वनामले पहिलो पटक गीति नाटक प्रस्तुत गरेको हो। गीतिनाटकमा वरिष्ठ संगीतकार राजु सिंहको संगीत तथा चर्चित गायक सत्यराज आचार्य र वानिका प्रधानको स्वर रहेको छ। 

गीतिनाटकमा सर्जकको काव्यिक भाव र तिनको समग्र प्रभावलाई केन्द्रविन्दुमा राखेर बिम्ब र प्रतीकलाई चित्रात्मकता दिने कोशिष गरेको निर्देशक अशेष मल्ल बताउँछन्।

नेपाली संगीतको हरेक विधामा तीन दशकदेखि कर्म गर्दै आएका संगीतकार राजु सिंहले सपना अनेक अनेक मार्फत संगीतकारको भूमिका निर्वाह गर्न पाउँदा खुशी व्यक्त गरे।

उनी भन्छन् – ‘प्रस्तुत गीति नाटक मार्फतपूर्ण संगीतकार भएको महसूस गरेको छु । गर्व पनि लागिरहेको छ।

यसले नेपाली गीति नाटकमा विशेष योगदान पुर्याउने विश्वास लिएको छु।’ साथै, यसरी दर्शकको उत्साहजनक सहभागिताले यो नाटकले आफ्नो सांगीतिक यात्रामा महत्वपूर्ण कोशेढुंगाकाे रुपमा कायम भएको बताए।

गायक सत्यराज आचार्यले गीति नाटकमा आफू पनि सहभागी हुन पाउँदा खुशी लागेको बताए। 

उनी भन्छन् – ‘यो गीति नाटकका गीतहरू गाउँदा मलाई गीत हैन जीवन बाँचेको अनुभूति भयो। धेरै गीतहरू गाएँ, प्राय हर दिन गीत गाईरहेकै हुन्छु तर सँधै गाउने भन्दा नितान्त र बेग्लै प्रवाहको यो गायनले मलाई अझै पनि तरङ्गित बनाइरहेको छ। सङ्गीतकारसँग सहकार्य गर्दै, निर्देशकको परिकल्पनालाई कोरियोग्राफर हुँदै कलाकारका अभिनयसम्म पुगेको यो प्रस्तुति साच्चै नै नवीतम प्रयोग भएको छ।’

विदेश पुग्न सपना बुन्नेहरू, विदेशको माटोमा पुगे पनि आफ्नै देशको यादले रात दिन तड्पिरहेका हुन्छन्। त्यो एउटा प्रतिक हो। चाहे जुनसुकै मुलुकमा पुगे पनि आफ्नै माटो र आफ्नै आमाको मायाले पिरोलिरहन्छ। आमा अर्थात् नेपाल आमा। आमाको त्यो विम्ब नै नाटकको सार हो। 

गीतिनाटकको कोरियोग्राफी प्रमिला कार्की उप्रेतीको रहेको छ भने मनोज महर्जन, भावना उप्रेती, रविना परियार, धिरज थापा, मिलन शाक्य, निरीक्षा घतानी, शूँ–गूको अभिनय रहेको छ। 

मञ्चन अवधि थपिए सँगसगै गीतिनाटक श्रावण २८ गतेसम्म बिहीबार बाहेक हरेक दिन साँझ ५ः३० बजे र शनिबार अतिरिक्त शो १ बजे मञ्चन हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .