नेपाली कथानक चलचित्र ‘प्रकाश’ बाट अभिनेत्री दीया मास्केको सीता लुक्स सार्वजनिक भएको छ।
यो चलचित्रमा दीया सीताको भूमिकामा देखिदैछिन्।
पोस्टर सार्वजनिक गर्दै दीयाले नेपाली फिल्ममामा हिरोका वरिपरि नाँच्ने चरित्रबाट हिरोइनहरु बिस्तारै बाहिर निस्किएको उल्लेख गरेकी छिन्। उनी लेख्छिन् ‘कहिलेकाहिँ हाम्रा फिल्ममा महिला पात्र केवल कोटा भर्न उभ्याइएका सहभागी पात्रजस्तो मात्र प्रतीत हुन्छ।’
चलचित्र ‘प्रकाश’मा आफूले चरित्र निर्वाह गरेको सीताप्रति लगाव प्रस्तुत गरेको र यो गौरव गर्न लायक रहेको उनको भनाइ छ।
नेपाली फिल्ममा साहित्य चेत बढेसँगै अभिनयमा पनि एक प्रकारको गहिराई आउन थालेको उनको तर्क छ।
उनी भन्छिन् ‘कथा छनोट र त्यसको उठानमा नै मेहनत गर्न कन्जुस्याइँ गर्ने हामी पात्र छनोट र चरित्र निर्माणमा पटक्कै ध्यान दिदैनौँ।’
सार्वजनिक पोस्टरमा दीया काँधमा हलो र जुवा बोकेर गोरु धपाइरहेकी देखिएकी छन्।
नेपाली फिल्ममा महिला पात्रहरु बिस्तारै उपस्थिति जनाउने तत्वबाट फिल्म न्यारेटिभको अंग बन्न थालेकोमा खुशी लागेको दीया बताउँछिन्।
उनी भन्छिन् ‘जसको उदाहरण हो, प्रकाश फिल्मको प्रतिनिधि पात्र सीता। दीयाबाट सीता बनिरहँदा फिल्मको छायाँकनस्थलमा रहेर त्यहाँको भाषा सिक्नु, रहनसहनसँग बानी पार्नु सजिलो पक्कै थिएन। तर, कठिन हो भन्ने पनि कहिल्यै महसुस भएन।’
फिल्मको टिजर हेरेर दर्शकले मिठो प्रतिकृया दिएको बताउँदै दीया थप्छिन् ‘फिल्मको कामलाई लिएर अहिले बोल्नु अलि हतारो होला। मात्रै यति भन्छु, समय बदलिएको छ। अहिले फिल्ममा एकपछि अर्को शसक्त भूमिकाद्धारा फिल्मलाई नै धान्ने शक्तिका रुपमा महिला पात्रलाई फिल्म आख्यानमा स्थापित गर्न थालिएको महसुस गरेको छु।’
Shares

प्रतिक्रिया