नेपाली मनोरञ्जन क्षेत्रमा सबैभन्दा लामो समयसम्म विवाहको प्रश्न अभिनेता राजेश हमालले खेप्नु पर्यो। प्रश्नहरुका घुमाउरा उत्तर दिँदै जीवनको झण्डै ५ दशक यात्रा एक्लै गरे राजेशले। त्यसपछि विवाह गरेका हमाल बल्ल ‘विवाह कहिले’ भन्ने प्रश्नबाट जोगिएका छन्।
यहि उद्योगमा हमालले मीतज्यू सम्बोधन गर्ने गायक राजेश पायल राई भने अहिलेसम्म पनि यहि प्रश्नको जवाफ दिँदैमा हैरान छन्।
गत साता मात्रै गायक राई विवाहको तयारीमा रहेको खबरले एकाएक चर्चा पायो। राईले राई थर एक युवतीसँग विवाहको तयारी गरेको खबर सार्वजनिक भयो। यी राई जोडी केहि समयदेखि डेटमा रमाइरहेको समेत सार्वजनिक भएको थियो।
आफू विवाहको प्राविधिक तयारीमा रहेको खबर सार्वजनिक भएपछि गायक राईले त्यसको खण्डन गरे। भर्खरै बेल्जियम यात्रा सकेर काठमाडौं फर्किएका राईले आफू यात्रामै ब्यस्त भएकाले विवाहको कुनै तयारी नरहेको उल्लेख गरे।
उनले आफ्नो विवाहका बारेमा सार्वजनिक भएका खबरलाई नकारात्मक रुपमा भने लिएका छैनन्।
भन्छन् ‘सबैलाई मेरो विवाह होस् भन्ने चाहाना छ। यसलाई मैले उहाँहरुको मायाका रुपमा लिएको छु।’
यस अघि पनि गायक राईको नाम थुप्रै सेलिब्रेटीसँग जोडियो। अहिले उनीसँग नाम जोडिएका सबै सेलिब्रेटीको विवाह भइसकेको छ। तर यस पटक नाम जोडिएकी युवतीसँग भने राजेशले अलि मन दुखाएका छन्।
आफूसँग नाम जोडिएकी युवतीका बारेमा बोल्दै राजेश भन्छन् ‘मेरो धेरै जनासँग नाम जोडियो। ती सबै सेलिब्रेटी थिए। तर अहिले जोसँग नाम जोड्नु भयो उनी एक सामान्य परिवारकी युवती हुन्। भोली उनीसँग मेरो विवाह भएन भने त्यसको जवाफदेहिता कसले लिन्छ?’
उनले भावुक हुँदै भने ‘मैले यो क्षेत्रमा यतिका वर्ष लगानी गरेको कदर यस्तै खबरले हुन्छ?’
Shares

प्रतिक्रिया