कला


मनोज गजुरेलसँग भेटपछि टेड्रोस: नेपालमा मेरो जुम्ल्याहा भेट्न पाउँदा खुसी लाग्यो

मनोज गजुरेलसँग भेटपछि टेड्रोस: नेपालमा मेरो जुम्ल्याहा भेट्न पाउँदा खुसी लाग्यो

नेपालखबर
बैशाख ११, २०७९ आइतबार ५:४९, काठमाडौँ

नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेलले सुरु–सुरुमा नेपालका नेताहरूको भेष धारण गरेर व्यंग्य गरे। बिस्तारै उनी विदेशीको नक्कल गर्न थाले। उनले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङको समेत क्यारिकेचर गर्न भ्याए।

यही क्रममा कोरोना माहामारी सुरु भएपछि कलाकार गजुरेलले टीभीमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयससलाई बारम्बार देखेपछि उनैको भेष बनाएर क्यारिकेचर गरे।

हास्य कलाकार गजुरेलले डा. टेड्रोसको रूप धारण गरिरहँदा कहिल्यै सोचेका थिएनन् कि उनीसँग एकदिन भौतिक रूपमै भेट हुनेछ। तर, भयो। 

गत बिहीबार विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस तीन दिन भ्रमणका लागि नेपाल आए। इथियोपियाका नागरिक एवं त्यहाँका पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका टेड्रोसले नेपाल बसाइका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतसँग भेट गरे। कोरोना महामारीविरुद्ध नेपालले खेलेको भूमिकाबारे स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग सोधखोज गरे।

नेपाल बसाइका क्रममा डा. टेड्रोसले आफ्नो ‘क्यारिकेचर’ गर्ने नेपाली हास्य कलाकार मनोज गजुरेललाई पनि भेट्न छुटाएनन्।

‘आज नेपालमा मेरो जुम्ल्याहालाई भेट्न पाउँदा खुसी लाग्यो’, महानिर्देशक डा. टेड्रोसले गजुरेलसँगको भेटपछि ट्विट गर्दै भनेका छन्, ‘उनलाई मेरो मजाक गर्न मन पर्छ तर उनले मलाई त्यसरी प्रमोट गरेको बताउँछ। विगत दुई वर्षमा मानिसहरूमा राम्रो हाँसो ल्याएकोमा धन्यवाद। हामी खोप, परीक्षण र सबैका लागि उपचार एवं शान्तिमा हामी गम्भीर रूपमा सहमत छौं।’

डा. टेड्रोसलाई भेटेर उनको क्यारिकेचर गरेको तस्बिर उपहार दिएका गजुरेल पनि यो भेटबाट निकै नै खुुसी देखिएका छन्। भेटपछि गजुरेलले भनेका छन्, ‘जसलाई पात्र बनाएर हास्यव्यंग्य गरिन्छ, उनैले भेट गर्न बोलाउनु एक कलाकारका लागि ठूलो सम्मान र खुसीको कुरो हो। अझ नेपालजस्तो सानो देशबाट पनि ठूल्ठूला विश्व नेताहरूलाई विषय बनाएर पब्लिक मेसेज दिएकोमा बधाइ पाउनु, त्यो पनि एक अन्तर्राष्ट्रिय व्यक्तित्वबाट! यो झन् देशकै लागि खुसीको कुरा हो।’

गजुरेलले फेसबुकमा लेखेका छन्, ‘मीठो हास्य चेत, अत्यन्तै भद्र स्वभाव र मित्रवत व्यवहारसहितका डा. टेड्रोसलाई धन्यवाद तथा नमस्कार।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad