नेपालका ३ वरिष्ठ अभिनेत्रीको झण्डै ३ करोड रुपैयाँ एक सहकारीमा फसेको छ। सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडबाट कलाकार समेत पीडित भएको भन्दै कलाकार संघले सरकार गुहारेको छ।
कलाकार संघले एक विज्ञप्ति निकाल्दै वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, अञ्जु कारञ्जितले उक्त सहकारीमा बचत गरेको पैसा फसेको जनाएको छ। विज्ञप्तिमा सहकारीका सञ्चालक इच्छाराज तामाङ लगायतबाट असुलउपर गराउन माग गर्दै कानुनी उपचारमा गएको जनाइएको छ।
सरकारलाई यस विषयमा चासो लिएर पीडितलाई न्याय दिन र दोषीलाई कारबाही गर्न संघले आग्रह गरेको छ। उक्त सहकारीमा ‘भुवन चैत्य बसुन्धरा फाउन्डेसन’ अक्षयकोषको रकम पनि राखिएको उल्लेख गरिएको छ।
भुवन चैत्य बसुन्धरा फाउन्डेसनले हरेक वर्ष डेढ लाख रुपैयाँको पुरस्कार वितरण गर्दै आएको तर पैसा सहकारीमा फसेपछि उक्त पुरस्कार वितरण गर्न पनि समस्या भएको बताइएको छ। संघका अनुसार तीन अभिनेत्री र फाउन्डेसनको गरी करिब तीन करोड रुपैयाँ उक्त सहकारीमा फसेको छ।

Shares

प्रतिक्रिया