ad ad

कला


फिल्म उद्योगमा कोरोनाको नयाँ भेरियन्टः अन्योलमा चलचित्रकर्मी

फिल्म उद्योगमा कोरोनाको नयाँ भेरियन्टः अन्योलमा चलचित्रकर्मी

राधिका अधिकारी
पुस २६, २०७८ सोमबार १२:४२, काठमाडौँ

नेपाली चलचित्र उद्योगले कोरोना महामारीको पहिलो लहरको असर अझै भोगिरहेको छ। दोस्रो लहरको कोरोनापछि बल्ल खुल्न थालेको चलचित्र उद्योग पुनः संकटमा परेको छ।

दोस्रो लहरको कोरोनापछि हल खुलेपनि नेपाली फिल्म भने चलिसकेका थिएनन्। केही नेपाली फिल्म हलमा लागे पनि ‘कठपुतली’ बाहेक अन्य फिल्मले उपस्थिती जनाउन बाहेक केहि गर्न सकेनन्।

बलिउड फिल्मको भरमा धानिएको उद्योगमा आशा गरिएका नेपाली फिल्म प्रदर्शनको तयारीमा थिए। थुप्रै ठूला ब्यानरका र प्रतीक्षित भनिएका फिल्म रिलिजको संघारमा छन्। तर कोरोनाको नयाँ भेरियन्टका संक्रमित बढ्न थालेपछि प्रदर्शन मिति तय गरेका फिल्म रिलिज हुने नहुने दोधारमा छन्। 

चैत २५ गतेलाई प्रदर्शन मिति तय गरेको ‘ए मेरो हजुर ४’पनि प्रदर्शन गर्ने नगर्ने अन्यौल बढेको छ। गत भदौमा नै प्रदर्शन गर्ने तयारी गरे पनि दोस्रो लहरको कोरोनाका कारण प्रदर्शन हुन पाएन। दोस्रो पटक प्रदर्शन मिति लिएको ‘ए मेरो हजुर ४’ पुनः तेस्रो लहरको कोरोनाको मारमा परेको छ। 

प्रदर्शन मिति नजिकिदै गर्दा प्रचारलाई तीव्रता दिनुपर्ने हो। तर गत शुक्रबार चलचित्रको टिजर रिलिज गर्ने भनेर पनि सार्वजनिक गरिएन। तयार भएको टिजर सार्वजनिक नगरी झरना थापा फिल्म प्रदर्शन नगर्ने मनस्थितिमा पुगेकी छिन। छिमेकी मुलुक भारत लगायत विश्वका धेरै देशमा कोरोना संक्रमणको तेस्रो लहर फैलिन थालेपछि निर्माता सुनिलकुमार थापाले तयार भएको टिजर पनि रोकेको बताइएको छ। 

फागुन १३ गतेलाई प्रदर्शन मिति पक्का गरेको चलचित्र ‘प्रेमगीत ३’ले पनि प्रदर्शन मिति स्थगित गरेको छ। कोरोना महामारीकै कारण आफ्नो फिल्म भनेको समयमा प्रदर्शन गर्न नसकिने निर्माता तथा निर्देशक सन्तोष सेनले बताएका छन्। आफ्नो फिल्म बलिउडमा बेचिसकेका निर्माता सेनले अनिश्चितकालका लागि प्रदर्शन सरेको जानकारी दिएका छन्। 

वितरकले दिएको सल्लाहका आधारमा फिल्मको प्रदर्शन रोकिएको सेनको भनाई छ। उनी भन्छन्, ‘त्यसैले नेपाल, भारत र विश्वभरि अलग-अलग मितिमा प्रदर्शन नगरी एकैसाथ प्रदर्शन गर्नुपर्ने प्रस्ताव आएको हुनाले नआत्तिकन यो अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै त्यो गहकिलो प्रस्तावलाई स्वीकार गर्दै अनिश्चित कालका लागि प्रदर्शन मिति स्थगित गरेका छौं।’

विश्वभर फैलिएको कोरोना महामारीका कारण झण्डै २ वर्ष नेपाली फिल्म उद्योगमा सन्नाटा छायो। यसबीचमा चलेका स्टार कलाकार पनि जीविकोपार्जनका लागि म्युजिक भिडियोमा सीमित भए। ठूला फिल्म निर्माण हुन सकेनन्।

धेरै यो क्षेत्रबाट पलायन पनि भए। कतिपय कलाकार वैकल्पिक बाटोका रूपमा विभिन्न व्यापार व्यवसायमा हात हाले। बनेका फिल्म प्रदर्शन हुन पाएनन्। कोरोनाअघि नै बनेका फिल्मले बल्ल प्रदर्शन मिति तय गर्न थालेका थिए। तर नयाँ भेरियन्टको कोरोना फैलिने क्रम बढ्दै गएपछि फिल्म उद्योगमा पुनः मनोवैज्ञानिक त्रास सुरु भएको छ। 

बन्द भएको डेढ वर्षसम्म त हल सञ्चालक तथा निर्माता निर्देशक हल खुल्ने सरकारी अनुमति कुरेर बसे। अन्य क्षेत्र चलायमान भइसक्दासम्म हल खोल्ने अनुमति नपाएका चलचित्रकर्मी धेरैपटक सञ्चार मन्त्रालय पनि पुगेका थिए।

सरकारी अनुमति विना गत वर्षको पुस १० गतेबाट एकतर्फी रुपमा हल सञ्चालन गरे। केही पुराना नेपाली फिल्म प्रदर्शन गरेर उद्योग चलायमान बनाउने प्रयत्न गरे। पुस २६ गतेबाट ५० प्रतिशत क्षमतासहित सञ्चालनको अनुमति पाएपछि केही नयाँ तथा पुराना चलचित्र रिलिज भए। तर पनि फिल्म उद्योगले लय समात्न सकेन। 

यसैबीच कोरोनाको दोस्रो लहर सुरु भयो। पुनः उद्योग ठप्प भयो। कोरोनाको दोस्रो लहरपछि भने देशभरका कयौं हल सधैंका लागि बन्द  भए। काठमाडौंकै सबैभन्दा धेरै दर्शकको उपस्थिति रहने गोपीकृष्ण मुभिजको भवन कोरोना कालमै भत्काइयो। उक्त स्थानमा ३ वर्षभित्र २५ तले मल सञ्चालनमा आउने भएको छ। 

कोरोनाका कारण २० वर्षदेखि सञ्चालन हुँदै आएको काठमाडौंकै जय नेपाल हल सधैंका लागि बन्द भयो। क्वेष्ट इन्टरटेन्मेन्टले जग्गा लिजमा लिएर सञ्चालन गर्दै आएको उक्त हल चलाउन सक्ने अवस्था नभएपछि बन्द गरियो। हलको खर्च धान्न नसकेपछि काठमाडौं बाहिरका पनि केही हल बन्द भए। 

कोरोना कालमा चलचित्र उद्योगले झण्डै १७ अर्ब, ७१ करोड रुपैयाँ घाटा बेहोर्नु परेको बताएका छन्। बन्द भएका सिनेमा हल, ती हलमा भएको लगानी, यो क्षेत्रका श्रमिकले गुमाएको रोजगारी सबैलाई हिसाब गर्दा १७ अर्ब ७१ करोड रुपैयाँ घाटा भएको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी बताउँछन्। यो समय १ अर्बभन्दा धेरै लगानी ‘फ्रिज’ भएर बस्यो।

गएको तिहारपछि भने कोरोनाका कारण पटकपटक प्रदर्शन मिति लिएर स्थगित भएका चलचित्रले पुनः प्रदर्शन मिति सार्वजनिक गरेका थिए।  विश्वमा पुनः कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएसँगै फिल्म प्रदर्शन अन्योलमा परेको छ।

प्रतीक्षित भनेर प्रचार गरिएको ‘प्रेमगीत–३’, ‘चपली हाइट–३’, ‘म यस्तो गीत गाउँछु–२’, ‘लप्पन छप्पन–२’, ‘ए मेरो हजुर ४’ले प्रदर्शन मिति पक्का गरेर प्रचार यात्रा सुरु गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .