ad ad

कला


‘सूर्यवंशी’ पछि ‘कठपुतली’ले फर्कायो दर्शक

‘सूर्यवंशी’ पछि ‘कठपुतली’ले फर्कायो दर्शक

नेपालखबर
पुस १८, २०७८ आइतबार १९:२४, काठमाडौँ

कोरोना महामारीले विश्वको अर्थतन्त्रमा असर गर्‍याे। कोरोनाको सबैभन्दा लामो भने मनोरञ्जन उद्योगले ब्यहोर्न पर्‍याे।। नेपालमै पनि सबै क्षेत्र चलायमान भएर पुरानै लयमा फर्कदासम्म मनोरञ्जन उद्योगमा चहलपहल देखिएन। ठूलो फिल्मका स्टार कलाकार म्यूजिक भिडिओमा रमाए। 

डेढ वर्षदेखि सुनसान रहेका फिल्म हलमा गएको दसैँमा शोभित बस्नेतको ‘डाँडाको बरपिपल’ रिलिज भयो। शोभितको उक्त फिल्मले पोस्टरमा गरेको लगानी पनि उठाउन सकेन। दसैँ–तिहारमा फिल्म लगाउन मारामार गर्ने नेपाली निर्माता निर्देशक चुपचाप बसे। 

तिहारमा अक्षय कुमार अभिनित बलिउड चलचित्र ‘सूर्यवंशी’ लाग्यो। यो फिल्मले दर्शक हलसम्म तानेपछि बलिउडको विरोध गरेर नथाक्ने नेपाली फिल्म मेकर्सले पनि खुलेर प्रशंसा गरे।

तर तत्काल आफ्ना फिल्म रिलिज गर्न आँट भने गर्न सकेनन्। ‘सूर्यवंशी’ रिलिज पछि भने हाम्रा निर्माता/निर्देशकले पनि प्रदर्शन मिति धमाधम तय गरे। 

यो बिचमा पनि केही नेपाली फिल्म प्रदर्शनमा आए। जुन हलमा लागेको र हलबाट बाहिरिएको दर्शकले थाहा नै पाएनन्। बरु चलचित्र ‘पुष्पा’ र ‘स्पाइडर म्यान’ले नेपाली हलमा पनि आफ्नो दबदबा देखाए। यी दुई फिल्म आउने भएपछि नेपाली निर्माता डराए।

‘सूर्यवंशी’ले फर्काएको क्रेज बिर्सिएर बलिउडलाई गाली गरे। चलचित्र ‘चपली हाइट ३’ निर्माता अर्जुन कुमारले त फिल्म प्रदर्शन गर्ने आँट गर्नै सकेनन्। बरु प्रचारमा खर्च भएको केही रकम माया मारेर आफ्नो चलचित्र पोस्पोन्ड गरे। 

यता हलमा बलिउड सिनेमाको दबदबा भएकै बेला प्रदर्शनको आँट गरेको चलचित्र ‘कठपुतली’ले राम्रो सन्देश दिएको छ। गत शुक्रबारबाट प्रदर्शन सुरु गरेको यो फिल्मको ओपनिङ नै सुखद देखिएपछि मल्टिप्लेक्समा शो थपियो। दर्शकले राम्रो साथ दिए। कोरोनापछि पहिलो पटक दर्शक तान्ने नेपाली फिल्म बनेको छ ‘कठपुतली।’

प्रदर्शनको दोस्रो र तेस्रो दिन ‘कठपुतली’को अकुपेन्सी काठमाडौंका मल्टिप्लेक्समा उच्च देखिएको छ। शनिबार बिहानैबाट काठमाडौंका क्यूएफएक्स, बिग मुभिज, वान सिनेमाज लगायतका हलमा दर्शकको राम्रो चहलपहल थियो।

दुई वर्षपछि नेपाली फिल्म हेर्नका लागि पहिलो पटक भीड देखिएको हो। चलचित्र वितरक अशोक शर्माले दुई वर्षपछि नेपाली फिल्मले दर्शक फर्काएको भन्दै बधाई दिएका छन्।

भीमसेन लामाले निर्देशन गरेको यो चलचित्रमा सम्पदा मल्लको लेखन रहेको छ। आफ्नो फिल्मले सुखद व्यापार गरेपछि चलचित्रका निर्देशक लामा निक्कै खुशी देखिएका छन्।

पृथ्वी रानाले निर्माण गरेको यो चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, ध्रुव कोइराला, उषा रजक, शिल्पा मास्के लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .