एक समय थियो, उनी ‘ग्रेटर नेपाल’ बोकेर देशको सीमाना खोज्दै हिँडे। ‘विशाल नेपाल’ बोकेर सिमानामा भौतारिएका उनै मनोज पण्डित १५ वर्षपछि फेरि अर्को एउटा चलचित्र ल्याएर आएका छन् ‘एक’।
देशको सिमाना मिचियो भनेर सधैँ चिन्तित हुने यी पात्रले चलचित्र ‘एक’मा मधेसलाई नेपालबाट अलग्याउने प्रयत्नविरूद्ध एक देशभक्त ‘गुप्तचर’को संघर्षको कथा बुनेका छन्।
डिजिटल प्लेटफर्ममा आगामी असोज २१ गते (घटस्थापना)का दिन प्रदर्शनमा आउने यो चलचित्रको ट्रेलर आज ओएसआर डिजिटलले सार्वजनिक गरिसकेको छ।
‘मधेसको त्यो विखण्डनकारी राजनीतिले अंगाल्न खोजेको अस्थिर मनोविज्ञान तथा काठमाडौंले खेलिरहेको असंवेदनशील राजनैतिक खेलका कारण नेपाल कतै विखण्डनतिर जान्छ कि भन्ने चिन्ताले सताइरहन्थ्यो’ चलचित्र ‘एक’का लेखक तथा निर्देशक पण्डित भन्छन् ‘यो सम्भावित खतराप्रति देशका जिम्मेवार निकायहरू गम्भिर हुनुपर्छ भनेर यो फिल्मको परिकल्पना गरिएको हो।’
‘रअ’, सिआइए, आइएसजस्ता अन्तर्राष्ट्रिय ख्याति प्राप्त गुप्तचर संस्थाहरूको बारेमा रोमाञ्चक किस्साहरू सुन्दै हुर्किएका पण्डितले नेपालको सुरक्षाका लागि ‘सेन्टर फर सेक्युरिटी इन्टिलिजेन्ट’(सिएआई) को परिकल्पना पनि यो फिल्ममा गरेका छन्।
फिल्ममा सिएआई एउटा गुप्तचर संस्था हुन्छ। राष्ट्रका यी चिन्ताहरूलाई उनले ‘रिल’मा उतार्ने प्रयत्न गरेका छन्।
‘राष्ट्रविरूद्ध हुने यस्ता वैदेशिक चलखेलहरूलाई असफल बनाउनका लागि फ्रन्टिएरको रुपमा काम गर्ने सिएसआईजस्ता संस्था नेपालमा बनाउन ढिला भइसकेको छ,’ उनी भन्छन् ‘यो तथ्यलाई सम्बोधन गर्न भए पनि यो फिल्मले मद्दत गर्नेछ।’
खासगरी स्वतन्त्र मधेसको राजनीतिक एजेन्डा देशका लागि निकै षड्यन्त्रमूलक भएको चित्रण यो फिल्ममा गरिएको छ। कलाकार प्रमोद अग्रहरिलाई स्वतन्त्र मधेसको राजनैतिक एजेन्डा बोकेको पात्रका रुपमा प्रस्तुत गरेको चलचित्र ‘एक’मा विशाल पोखरेल नेपालको गुप्तचर निकाय सिएसआईको गुप्तचर एजेन्टका भूमिकामा देखिएका छन्।
यी दुई पात्रबीच मिसन केन्द्रित अन्तरसंघर्षको कथात्मक प्रस्तुती रहेको यो स्पाइ जनर एक्सन प्रधान फिल्ममा ज्योत्सना योगी महिला एजेन्टको भूमिकामा देखिएकी छन्।
प्रमोद खड्काको एक्सन कोरियोग्राफी रहेको चलचित्र दीपक बज्राचार्यले छायाँकन गरेका हुन्। सिनेमाको सम्पादन भरत रेग्मीले गरेका छन्।
गोविन्द मधुर आचार्य, पुस्कर महतो र हरि लम्सालले चलचित्र ‘एक’मा संगीत भरेका छन्। सिनेमा फ्याक्ट्रीको ब्यानरमा निर्माण भएको यो चलचित्रका निर्माता आत्मा गुरागाईं र सोफिया थापा हुन्।
कोरोना महामारीका कारण थला परेको सिनेमा उद्योगको विकल्प खोज्दै डिजिटल प्लेटफर्ममार्फत यही असोज २१ गते घटस्थापनाका दिनदेखि सिनेमा घर एप, डिसहोमको च्यानल ५५५, नेट टिभी, म्याक्स टिभी, र भायोनेट र ओहो मूभिजबाट प्रदर्शनमा आउने छ।
यो चलचित्र ‘एक’मा प्रमोद खड्का, रामशरण पाठक, मदन ठाकुर, सुरेश शाह, सविर चुरौटे, हरून अली, रमेश महर्जन, रिसिका घिमिरे तथा बालकलाकार विश्वन्त पोख रेललगायतका कलाकारहरूले ‘स्पाई ड्रामा’मा अभिनय गरेका छन्।
Shares

प्रतिक्रिया