कला


दोहोरी गीत प्रतिष्ठानको निर्णय : दुर्गेशलाई बहिष्कार होइन, साधारण सदस्यबाटै निष्कासन

दोहोरी गीत प्रतिष्ठानको निर्णय : दुर्गेशलाई बहिष्कार होइन, साधारण सदस्यबाटै निष्कासन

नेपालखबर
साउन २४, २०७८ आइतबार २१:२९, काठमाडौँ

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले पटक पटक विवादमा पर्दै आएका गायक तथा मोडल दुर्गेश थापालाई साधारण  सदस्यताबाट निष्कासन गरेको छ।

यसअघि प्रतिष्ठानले दुर्गेशलाई बहिष्कार गरेको समाचार आइरहेका बेला प्रतिष्ठानले दुर्गेशलाई साउन १७ को निर्णयानुसार साधारण सदस्यबाटै निष्कासनको निर्णय लिएको हो।

‘कलाकार दुर्गेश थापालाई गीत प्रकाशन पूर्व नै ख्यास्स पुतली संशोधन गरिदिन लिखित अनुरोध गरिएकोमा निजले बिल्कुलै बेवास्ता गरी प्रतिष्ठानसँग आफ्नो कुनै सम्बन्ध नरहेको हलुका स्पष्टीकरण दिएको हुनाले निजको साधारण सदस्य समेत नरहने गरी सदस्यता खारेज गर्ने निर्णय गरिएको छ,’ प्रतिष्ठान अध्यक्ष रमेश बिजीसहित तीन अधिकारीले निकालेको विज्ञप्तिमा भनिएको छ। 

दुर्गेशले सातअघि तीज गीतको नाममा ‘ख्यास्स पुतली’ बजारमा ल्याएका थिए। म्युजिक भिडियोसहित गीत सार्वजनिक भएपछि विरोध भइरहेको थियो। तीजको मर्मविपरीत अश्लील र भड्किलो गीत निकालेर सस्तो लोकप्रियता कमाउन खोजेको भन्दै आलोचना भएको थियो । कोरोना महामारीका कारण तीजका गीतमा नाच्न नपाउने भन्दै दुर्गेशले ‘यसपालीको तीजमा ख्यास्स पुतली’गीत ल्याएका थिए। 

‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ गीत बजारमा आएपछि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले दुर्गेशलाई ‘बहिष्कार’ गरेको खबर आएको थियो। तर प्रतिष्ठानको तर्फबाट निकालिएको विज्ञप्तिमा बहिष्कार नभइ कारबाही गरेको उल्लेख छ।

प्रतिष्ठानले आफूलाई बहिष्कार गरेको भन्दै दुर्गेशले ‘आफ्नो प्रगति देख्न नचाहेको’ आरोप लगाएका थिए। उनले गीतको शब्द नफेर्ने पनि अडान लिएका थिए। 

तर यसबीचमा प्रतिष्ठानले आइतवार निकालेको विज्ञप्तिमा दुर्गेशलाई बहिष्कार नगरी साधारण सदस्यता खारेज गरिएको जनाएको छ। दुर्गेशलाई संस्थाको साधारण सदस्य समेत नरहने गरी हटाइएको जनाइएको छ। 

प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, प्रतिष्ठानअन्तर्गतको विकृति विसङ्गति न्यूनीकरण कार्यदलका संयोजक शिव हमाल र प्रतिष्ठानका महासचिव सुवास केसीले निकालेको विज्ञप्तिमा विधानत: परिच्छेद (७) धारा (२६)को उपधारा १ बमोजिम दुर्गेशको सदस्यता खारेज गरिएको जनाइएको छ।

प्रतिष्ठानले दुर्गेशको गीत आउनुअघि नै दुर्गेशलाई ‘ख्यास्स पुतली’शब्द फेर्न भनेको थियो। तर उनले प्रतिष्ठानको आग्रह बेवास्ता गर्दै गीत सार्वजनिक गरेका थिए। त्यसपछि प्रतिष्ठानले साउन १७ गते बहिष्कार गर्ने निर्णय लिएको बताइएको थियो। तर आइतवार निकालिएको विज्ञप्तिमा उनलाई बहिष्कार नभइ साधारण सदस्यबाट हटाइएको उल्लेख छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad