ad ad

कला


चार वर्षपछि रंगमञ्चमा फर्कँदै विपीन

चार वर्षपछि रंगमञ्चमा फर्कँदै विपीन

समर्पण श्री
साउन ११, २०७८ सोमबार १८:४९,

 अभिनेता विपीन कार्की चार वर्षपछि पुनः रंगमञ्चमा देखिने भएका छन्। उनले फ्रान्सेली लेखक झाँ–पल सात्र्रको नाटक ‘अनुपस्थित तीन’मा मुख्य चरित्र निर्वाह गर्दैछन्। नाटकमा उनी लेखकको भूमिका निर्वाह गर्दैछन्, जो आफूभित्रको अन्तद्वन्द्र्वमा फसिरहेको छ। विपीनसँगै नाटकमा कलाकार उशा रजक, पवित्रा खड्का र मानहाङ लावतीको अभिनय छ।

यो नाटक लकडाउनकै क्रममा गत जेठमा शिल्पी थिएटरले अनलाइनमार्फत् मञ्चन गरेको थियो। नाट्य निर्देशक घिमिरे युवराजले परिकल्पना गरेको नाटकलाई अवतार पाठकले अनुवाद गरेका थिए। 

यही नाटकलाई शिल्पीले १८ गतेदेखि अनलाइनका साथै नाटकघरमै पनि मञ्चन गर्ने छ। नाटकघरमा भने ४० जना दर्शक रहने गरी मञ्चन गरिने निर्देशक घिमिरे युवराजले बताए। 

यसरी भयो नाटकमा विपीनको इन्ट्री
विपीनले पछिल्लो पटक करिब चार वर्षअघि सुनिल पोखरेल निर्देशित नाटक ‘हरियो ढुंगा’मा मुख्य भूमिका निर्वाह गरेका थिए। रंगमञ्च पृष्ठभूमिबाट सिनेमामा प्रवेश गरेका विपीन ‘हरियो ढुंगा’पछि सिनेमामै बढी व्यस्त भए। हुन त डेढ वर्षयता केही नाटकमा उनको कुरा नचलेको होइन। 

गत मंसिरमा ‘पल्पसा क्याफे’को रिहर्सलमा पनि केही दिन व्यस्त भए। तर, समय अनुकूलता नभएपछि विपीन रिहर्सलकै क्रममा  बाहिरिए। भलै, लकडाउनका कारण उक्त नाटक भने मञ्चन हुन बाँकी छ। त्यसपछि विपीन गत फागुनमा रिलिज भएको नाटक ‘अर्को अर्थ नलागेमा’मा पनि काम गर्ने मुड बनाएका थिए। 

‘त्यसमा पनि केही दिन रिहर्सल गरेँ। पछि आमा बिरामी भएर समय दिन सकिनँ,’ विपीन भन्छन्। 

लकडाउनका कारण फुर्सदिलो देखिएका विपीनलाई केही महिनाअघि घिमिरे युवराजले नाटकको प्रस्ताव गरे। 

‘उहाँले प्रस्ताव गर्दा मेरो समयअनुकूल मिल्ने भयो, अनि नाटक गर्ने सम्झौता भयो,’ विपीन भन्छन्। 

उनी २० दिन देखि ‘अनुपस्थित तीन’को रिहर्सलमा व्यस्त छन्। ‘रिहर्सलमा म ११ बजेदेखि ५ बजेसम्म व्यस्त भइरहेको छु। रिहर्सलको अन्त्यतिर भएकाले यो समय पनि कम भएको छ,’ विपीन सुनाउँछन्।

लकडाउन नभए भदौबाट फिल्मको सुटिङ 
लकडाउनका कारण झण्डै डेढ वर्षदेखि सिनेमा क्षेत्र ठप्प छ। फिल्ममा काम नभएपछि कलाकारहरू फुर्सदिलो बन्न थालेका छन्। विपीनले अघिल्लो वर्ष फुर्सदिले बनेको बेला केही म्युजिक भिडिओमा अभिनय गरे। 
यसपालि पनि उनले दुई ओटा म्युजिक भिडिओका लागि सम्झौता गरिसकेका छन्।

‘अहिले दुई वटा कन्फर्म भइसकेको छ। पछि अरु पनि गर्छु,’ उनी भन्छन्। 

फिल्म नभएपछि विकल्पमा म्युजिक भिडिओ गर्न बाध्य भएको विपीन सुनाउँछन्।

‘अहिले फिल्मको काम ठप्प छ। बाँच्नका लागि भए पनि गर्नैपर्ने स्थिति छ,’ उनी भन्छन्। 

यद्यपि, लकडाउन भइदिएन भने भदौ १५ गतेबाट फिल्मको सुटिङमा निस्कने उनी बताउँछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .