कला


भित्तोमा चित्र कोर्न पाउनुपर्ने कलाकारहरुको माग

भित्तोमा चित्र कोर्न पाउनुपर्ने कलाकारहरुको माग

नेपालखबर
असार २०, २०७८ आइतबार १६:३८,

कलाकारहरुले कोरोना महामारीमा अग्रपंक्तिमा खटेर काम गर्ने व्यक्तिहरुको सम्मानका लागि रत्नपार्कस्थित आकाशे पुलको भित्तामा चित्र कोर्न पाउनुपर्ने माग गर्दै काठमाडौं ​महानरपालिकामा निवेदन दिएका छन्।

कोरोना विरुद्धको लडाइँमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शव व्यवस्थापन गर्ने व्यक्ति, पाइलट र सरसफाईकर्मीको सम्मानका लागि रत्नपार्क स्थित आकाशे पुलको भित्तामा बनाइएको चित्र महानगरपालिकाले मेटेपछि कलाकारहरुले चित्र कोर्न पाउनुपर्ने माग गर्दै महानगरलाई निवेदन दिएका हुन्।  

दुजाङ्ग शेर्पा नेतृत्वको कलाकारको टोलीले आइतबार काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेश्वर ज्ञवालीमार्फत् मेयरलाई निवेदन दिएका हुन्। शेर्पा नेतृत्वको कलाकार टोलीले काठमाडौं महानगरपालिका वडा नं. २८ को अनुमति लिई सो ठाउँमा चित्र बनाएको दाबी गरेको छ। तर महानगरपालिकाले स्वच्छ सफा सहर निर्माणको परिकल्पना अनुसार शहरको सौन्र्दभमा आँच पुगेको भन्दै सो चित्र मेटाएको थियो।  

कलाकार दुजाङ्ग शेर्पाले कोरोना महामारी विरुद्धमा अग्रस्थानमा रहेर काम गर्ने फ्रन्टलाइनरहरुलाई थोरै भएपनि प्रेरणा मिलोस् भन्ने उद्देश्यका साथ आफूहरुले वडाबाट अनुमति लिएर चित्र बनाएकाले फेरि सोही स्थानमा चित्र कोर्न पाउनुपर्ने माग गरे।

कलाकारहरुको निवेदन बुझ्दै काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेश्वर ज्ञवालीले महानगरपालिका भित्रको महत्वपूर्ण ठाउँहरुमा कुनैपनि काम गर्दाखेरी महानगरपालिकाबाट स्वीकृति र सहमति लिनुपर्ने बताए। उनले वडा कार्यालयसँग सहमति लिनु अघि महानगरपालिकालाई सोधेको भए समस्या नआउने बताए। महानगरपालिका आफैले पनि केही स्थानहरुमा सम्पदाको चिनारी गराउने कार्यक्रम राखेको उल्लेख गर्दै कलाकारहरुले बनाएको चित्रले दिनुपर्ने सन्देश तीन हप्तामै दिइसकेको विश्लेषणसाथ महानगरपालिकाले चित्र मेटेको बताए।

कलाकारहरुले ‘कलाको शहरमा कलाकै हत्या’, ‘सक्छस् सम्मान गर नत्र अपमान नगर’, ‘पुनर्स्थापना गर’, लगाएतका प्लेकार्डसहित महानगरपालिका अगाडि धर्ना पनि दिएका थिए।

याे पनि : राज्यलाई बिझाएको एउटा पेन्टिङ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad