नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले विजयकुमार गच्छदारसँगको मतअन्त। बढाउँदै लगेकी छिन्। गच्छदारको प्रभाव क्षेत्रमा समेत चौधरीका पक्षमा मत आएपछि सुनसरी क्षेत्र नं. ३ मा यो पटक महिला नेतृत्व आउने देखिएको छ।
करिब ३७ हजार मत गणना भइसक्दा भगवती चौधरीले ४ हजार ५ सय बढी मतले अग्रता कायम गरिरहेकी छन्। क्षेत्रको इटहरीका १० वटा वडा, दुहवी नगरपालिकाका ३ वटा वडा र इनरुवा नगरपालिकाको एउटा वडाको मतगणना हुँदा चौधरीले ४ हजार ५५७ मतले अग्रता लिएकी छन्।
गच्छदारले आफ्नै प्रभाव क्षेत्रको मत जोगाउन नसक्दा चौधरीसँग कमजोर देखिए। गढी गाउँपालिकाको वडा नं. १, दुहवी नगरपालिकाको वडा नं. ८ र ९ मा गच्छदारको करिब ७० प्रतिशत मत थियो। स्थानीय तहको निर्वाचनमा समेत कांग्रेसका उम्मेदवारले जितेका यी क्षेत्रमा उनलाई कम मत आयो।
दुहवी ८ सोनापुरमा २५ सय ६८ मत खसेकोमा गच्छदारलाई ९४० मत मात्र आयो, चौधरीले ४६ मतले अग्रता लिइन्। यस्तै दुहवी ९ को सम्पूर्ण मत गणना हुँदा गच्छदारले ११४ मतले अगाडि देखिए । यो क्षेत्रमा गच्छदार पक्षले ७० प्रतिशत मत खस्ने अनुमान गरेको थियो। इटहरीका १० वटा वडाहरुमा पनि गच्छदार कमजोर देखिए। वडा नं. ७, ८, ९, १० मा कांग्रेसको पकड भए पनि एमालेले बढी मत पायो।
गच्छदारले ३१ वर्षसम्म केही नगरेको, आफ्नो मात्र स्वार्थ हेरेको, पुराना साथीहरुलाई समेट्न नसकेको भन्दै कार्यकर्ताहरु नै रुष्ट थिए। ०६४ सालसम्म एकपक्षीय रुपमा चुनाव जित्दै आएका गच्छदार ०७० सालदेखि चौधरीसँगको प्रतिष्पर्धामा मुस्किलले जितिरहेका थिए। यसअघिका दुवै चुनावमा गच्छदारले धाँधली गरेको आरोप चौधरीको छ।
ललितानिवास जग्गा अपचलन काण्डमा मुछिएपछि निलम्बनमा परेका गच्छदार पछिल्लो कार्यकाल संसद् छिर्न पाएका थिएनन्। विशेष अदालतबाट उनी १० लाख रुपैयाँ धरौटीमा छुटेका हुन्। यो मुद्दा टुंगिइनसकेकाले जिते पनि उनी तत्काल संसद् छिर्न पाउने थिएनन्।
सो मुद्दाका कारण पुरै कार्यकाल जनप्रतिनिधिविहीन बनेका सुनसरी ३ का मतदाताले भगवतीलाई रोजेका हुन्।
प्रतिक्रिया