ad ad

निर्वाचन विशेष


डा. हरिराम सुवाल अर्थात् पीएचडीधारी वडाध्यक्ष

भन्छन् : वडाध्यक्ष बन्दा मेरो विद्यावारिधिको तौल घटेको छैन
डा. हरिराम सुवाल अर्थात् पीएचडीधारी वडाध्यक्ष

सीताराम बराल
जेठ ९, २०७९ सोमबार २०:२५, काठमाडौँ

भक्तपुर नगरपालिकाको नगर प्रमुख–उपप्रमुखका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले २०७४ कै उम्मेदवार क्रमशः सुनिल प्रजापति र रजनी जोशीलाई दोहोर्याउने निर्णय गर्यो। 

प्रजापति र जोशीझैँ केही वडाका जनप्रतिनिधिहरु पनि पुरानै जिम्मेवारीमा दोहोरिए। यसरी दोहोरिनेमा वडा नं ६ का अध्यक्ष हरिराम सुवाल पनि परे।  

भक्तपुरको मेयरमा प्रजापति र उपमेयर जोशीझैँ वडाध्यक्षमा सुवाल पनि २०७४ माभन्दा बढी मत प्राप्त गरी विजयी भइसकेका छन्। २०७४ मा विजय हुँदा सुवालले २ हजार ५ सय १ मत प्राप्त गरेका थिए। पुरानै पदमा दोहोरिँदा यसपटक ३ हजार २ सय ३१ मत प्राप्त गरेका छन्।   

पद उही, जिम्मेवारी पनि उही। तर, यसपटक उनको ‘परिचय’ मा भने निकै ठूलो परिवर्तन आएको छ।   

२०७४ मा वडाध्यक्ष निर्वाचित हुँदा उनी ‘हरिराम सुवाल’ मात्र थिए। यसपटक उनी ‘डा. हरिराम सुवाल’ बनिसकेका छन्।    

सुवाल २०७९ को निर्वाचनमा विजय प्राप्त गर्ने सम्भवतः एक मात्र यस्ता वडाध्यक्ष हुन्, जसले विद्यावारिधिको उपाधि हासिल गरेका छन्।     

उनी सम्भवतः नेपालकै पहिलो विद्यावारिधिप्राप्त वडाध्यक्ष पनि हुन्। किनभने २०७४ को निर्वाचनमा पनि विद्यावारिधि प्राप्त कुनै व्यक्ति वडाध्यक्षमा निर्वाचित भएका थिएनन्। त्यसबेला विद्यावारिधि हासिल गरेका मेयरका रुपमा भने जितपुर–सिमरा उपमहानगरपालिकाले डा. कृष्ण पौडेललाई प्राप्त गरेको थियो। 

सुवालले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सामाजिक समाजशास्त्र विभागबाट वडाध्यक्षको पहिलो कार्यकालमा २०७६ माघमा विद्यावारिधिको उपाधि प्राप्त गरेका थिए। विद्यावारिधिका लागि शोधको शीर्षक थियो, ‘भक्तपुर नगरका ज्यापुहरुको लोक संस्कृतिसम्बन्धी ऐतिहासिक अध्ययन।’  

‘मल्लकाल सुरु हुनुभन्दा धेरैअघि भक्तपुरमा ज्यापुहरु शासकका रुपमा थिए। शासन गुमाएपछि उनीहरु दासमा परिणत भए,’ विद्यावारिधिका क्रममा प्राप्त शोधको निष्कर्ष सुनाउँदै डा. सुवालले भने, ‘सत्ता (राजनीतिक शक्ति) बाट बेदखल भएपछि उनीहरुको  आर्थिक रुपमा पनि कमजोर भए। तर, राजनीतिक–आर्थिक रुपमा कमजोर भएकैले उनीहरु सांस्कृतिक पक्षमा भने सबल भए। भक्तपुरका ज्यापुहरु सांस्कृतिक रुपमा सम्पन्न हुनुको कारण यही हो।’ 

०७४ मा वडाध्यक्ष निर्वाचित हुनुअघि विद्यावारिधिका लागि उनको शोध–अन्तिम चरणमा पुगिसकेको थियो। तर, जनप्रतिनिधि बनेपछि त्यो रोकियो, कामको चापले गर्दा बेफुर्सदिला भए। 

‘जनप्रतिनिधि भएपछि व्यक्तिगत काममा भन्दा सामाजिक काममा बढी ध्यान दिनुपर्ने हुन्छ। फेरि स्थानीय तह लामो समय जनप्रतिनिधिविहीन भएकाले जिम्मेवारीको भार धेरै हुने भइहाल्यो,’ उनले भने, ‘तर पनि विद्यावारिधिको शोध पुरा गर्न पार्टीभित्रैका अग्रजहरुले निकै ठूलो सहयोग गर्नुभयो।’ 

नेमकिपा र उसको नेतृत्वमा रहेको भक्तपुर नगरपालिकाको शिक्षा सम्बन्धी नीति पनि विद्यावारिधिको अध्ययन पुरा गर्न सहयोगी बन्यो।  

भक्तपुर मात्र यस्तो नगरपालिका हो, जसले आफ्नै लगानीमा ‘ख्वपः’ नामका इन्जिनियरिङ, चिकित्साशास्त्र सम्बन्धी कलेजहरु सञ्चालन गरेको छ। र, यो क्षेत्रमा वर्षेनि सयौँ उत्कृष्ट डाक्टर–इन्जिनियर उत्पादन गरेर राज्यलाई प्रदान गर्छ। 

तर, उसको प्राथमिकतामा विज्ञानसँग सम्बन्धित चिकित्साशास्त्र र इन्जिनियरिङ विषय मात्र छैनन्। ‘समाजलाई राजनीतिशास्त्र, इतिहास, संस्कृति, भाषाशास्त्र अध्ययन गरेको जनशक्तिको पनि उत्तिकै खाँचो छ’ भन्ने मान्यताका साथ भक्तपुर नगरपालिकाभित्रका कुनै विद्यार्थीले देशका कुनै पनि विश्वविद्यालयमा उपरोक्त विषय अध्ययन गरिरहेका छन् भने उनीहरुलाई छात्रवृत्ति पनि प्रदान गर्छ। 

नीति नै यस्तो बनाएको नगरपालिकाकाकै एकजना वडाध्यक्षले नगरपालिकाभित्र बसोबास गर्ने एउटा समुदायको बारेमा विद्यावारिधि गरिरहेका छन् भने नेतृत्वले प्रोत्साहन गर्ने भइहाल्यो।

‘हाम्रो पार्टीको नीति नै छ– राजनीति गर्नेहरुले पनि कुनै निश्चित विषयमा विशेषज्ञता हासिल गर्नुपर्छ,’ उनले भने, ‘नीति निर्माण र निर्णय पनि अध्ययन र अनुसन्धानकै आधारमा गर्नुपर्छ। पार्टीकै नीति यस्तो भएकाले पनि विद्यावारिधिको शोधकार्यलाई अघि बढाउन म प्रोत्साहित भएँ। 

तर विद्यावारिधि गरिरहँदा उनले नगरपालिका र वडामा निर्वाह गर्नुपर्ने दायित्वबाट चुकेनन्। सुवाल दिउँसो जनप्रतिनिधिको भूमिकामा हुन्थे, राति विद्यार्थीको भूमिकामा। 

‘विद्यावारिधिका क्रममा गाइडका रुपमा काठमाडौँमा रहनुभएका गुरुहरुकहाँ र विश्वविद्यालयमा कहिलेकाहीँ दिउँसो जानुपर्ने हुन्थ्यो। दिउँसो यस्तो काममा व्यस्त भएँ भने भक्तपुर फर्केपछि दिउँसो गर्नुपर्ने काम पुरा गर्थेँ,’ उनले भने।   
 
२०७४ मा पहिलो पटक वडाध्यक्ष निर्वाचित हुनुअघि उनी त्रिविका विद्यार्थी (विद्यावारिधि) थिए। इतिहास र राजनीतिशास्त्रमा स्नातकोत्तर थिए। भक्तपुरमा ख्वपः कलेजनजिकै रहेको प्रभात इङ्लिस स्कुलमा अध्यापन पनि गर्थे। 

निर्वाचनका क्रममा डा. सुवाल र नेमकिपाका अन्य उम्मेदवारहरु 

नेपाल ल क्याम्पसबाट बीएल उत्तीर्ण गरेका उनी अधिवक्ताका रुपमा वकालत पेसामा पनि संलग्न थिए।  

हाइस्कुलका शिक्षक र त्रिविका विद्यार्थी भएकाले वडाध्यक्ष पदमा प्रतिस्पर्धा गर्नु जति स्वभाविक लाग्छ, विद्यावारिधि गरेर ‘डा. साब’ को उपाधि हासिल गरेपछि पनि उही पदमा दोहोरिनु उत्तिकै ‘अस्वभाविक’ जस्तो लाग्छ। 

तर, विद्यावारिधिपछि समेत पुरानै पदमा दोहोरिने निर्णयलाई उनले आवश्यकताको रुपमा व्याख्या गरे।  

‘राजनीति सबै नीतिहरुको अगुवा हो, राजनीति राम्रो भएपछि देश र समाजका सबै पक्षमा सकारात्मक परिवर्तन हुनसक्छ, त्यसैले सुसंस्कृत मानिस राजनीतिमा आउनु पर्छ,’ उनले भने, ‘त्यसैले, हिजो मास्टर्स (स्नातकोत्तर) मात्र हुँदासम्म वडाध्यक्षको जिम्मेवारी ठीकै थियो, आज विद्यावारिधि गरेपछि त्यो असुहाउँदिलो भयो भन्ने हुँदैन।’ 

‘खराब नेताहरुका कारण राजनीतिमा विकृति आएको हो भन्ने आम जनताको बुझाइ छ, अध्ययन–अनुसन्धान गरेका मानिसहरुको बाहुल्य भइदिएको भए हाम्रो राजनीतिमा यतिधेरै विकृति हुने थिएन होला,’ डा. सुवालले भने, ‘पैसा कमाउन र व्यक्तिगत प्रतिष्ठाका लागि राजनीतिमा नलागेको व्यक्ति भएकाले वडाध्यक्ष हुँदैमा मैले प्राप्त गरेको विद्यावारिधिको ओजन घट्छ भन्ने मलाई लाग्दैन।’

बरु, विद्यावारिधि गर्दा प्राप्त ज्ञान जनप्रतिनिधिका रुपमा जिम्मेवारी निर्वाह गर्ने क्रममा थप उपयोगी भएको सुवालले बताए। 

उनले भने, ‘विद्यावारिधिको शोधका क्रममा स्थानीय ज्यापु समुदायको इतिहास र संस्कृतिबारे गहिरोसँग जान्ने मौका पाएँ। जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने क्रममा त्यो ज्ञान उपयोगी भइरहेको छ।’  

‘विविध कारणले स्थानीयवासीबीच अन्तरविरोध सिर्जना हुन्छ, त्यो अन्तरविरोध झैझगडामा परिणत हुन्छ,’ उनले थपे, ‘अधिकांश झगडा अंशबण्डा र सम्पत्तिका कारणले हुन्छन्। यस्तो झगडा वडाको क्षेत्रधिकारको विषय होइन। तर पनि विद्यावारिधिको क्रममा प्राप्त ज्ञानले यस्ता समस्या समाधानमा ठूलो सहयोग पुग्यो।’ 

इतिहासशास्त्रले भन्छ, ‘वर्तमानमा घटेका कुनै पनि घटनाहरुको ऐतिहासिक कारण हुन्छ वा त्यसको सम्बन्ध इतिहाससँग जोडिन पुग्छ।’ 

इतिहासशास्त्रमा यसलाई ‘कजेसन इन हिस्ट्री’ भनिन्छ।  

इतिहास र संस्कृतिको अध्येता भएकाले आफू जनप्रतिनिधि रहेको वडाको स्थानीय नेवार–ज्यापु समुदायबीच देखिने समस्याहरुको ऐतिहासिक र सांस्कृतिक कारण जानकारी हुने भइहाल्यो।

‘यस्तो जानकारी प्राप्त भएकाले धेरै झैझगडाको समाधान हामीले वडामा नै गर्यौँ,’ उनले भने, ‘हामीले मेलमिलापमा जोड दियौँ, वडातहमै मेलमिलाप भएपछि उहाँहरु मुद्दा–मामिलामा जानु परेन।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .