ad ad

निर्वाचन विशेष


पोखराका ३३ वडामा एमालेको हिसाब : कलमले जित्ने सम्भावना कति?

पोखराका ३३ वडामा एमालेको हिसाब : कलमले जित्ने सम्भावना कति?

लक्ष्मी जि.सी
जेठ ६, २०७९ शुक्रबार १:४१, काठमाडौँ

नेकपा एमालेको गढ मानिएको पोखरामा एमालेबाटै विभाजित एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मेयर पदमा अग्रता लिइरहेका छन्। एमालेको बलियो पकड भनिएको पोखरामा अनपेक्षित परिणाम आएको भन्दै एमाले नेता आश्चर्यचकित छन्। 

नेकपा एमालेको लालकिल्ला मानिएको पोखरा महानगरपालिकामा यसअघि एमाले विभाजनको असर नदेखिने आकलन गरिए पनि गठबन्धन र एमालेभित्रकै अन्तर्घातका कारण एमाले कमजोर देखिएको छ। पछिल्लो समय नेकपा एमाले विभाजन भएपनि पोखरामा एमालेकै ओली समूहको वर्चश्व रहेको अनुमान गरिएको थियो। तर यो निर्वाचनले भने त्यसलाई गलत साबित गरिदिएको छ। पार्टीभित्रको गुटको असर यो पटकको चुनावमा प्रष्ट देखिएको छ। 

पोखरा महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनबाट चुनाव लगेको नेपाली कांग्रेसले पोखराका केही वडामा एक्लै केही वडामा मिलेर चुनाव लडेको छ। 

किन कमजोर देखियो पोखरामा एमाले?
महानगरपालिका भित्रको तथ्याङ्क हेर्दा एमाले वडा तहबाटै कमजोर साबित भएको छ। मेयरमा मात्र हैन वडाध्यक्षमा समेत ०७४ को चुनावमा एमाले जितेका ठाउँहरु धमाधम कांग्रेसले खोसिरहेको छ। 

स्थानीय तहको निर्वाचन अन्तर्गत देशका ७ सय ५३ तहमा चुनावी मत गणना भैरहेको छ। सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीले अग्रता बनाइरहेका छन्।

०७४ साल र अहिलेको चुनावमा वडातहबाटै एमालेमा देखा परेको अन्तर कस्तो छ? यसलाई तथ्याङ्कमा विश्लेषण गरौँ।

देशकै ठूलो महानगरपालिका पोखरामा गणना भएको ५२ हजार ८१७ मतलाई हेर्ने हो भने गठबन्धन बलियो देखिएको छ। 

पोखरा महानगरपालिकाको ३३ वटामध्ये १२ वडाको मत परिणाम सार्वजनिक भैसकेको छ। बाँकी केही वडाको मत गणना भइरहेको छ। केही वडाको मतपेटिका खोलिएको छैन। 

जारी मतगणनाबाट सार्वजनिक नतिजाले एमालेले आफ्नो लालकिल्ला दाबी गर्दै आएको वडामा आफ्नो पकड गुमाउँदै गएको स्पष्ट देखिएको छ। एमालेले आफ्नो पकड मानेको वडामा कम मत ल्याउँदा पार्टी भित्रकै अन्तर्घात र नेतृत्वसँगको असन्तुष्टिलाई यो चुनावले छर्लङ्ग पारेको छ। 

मतपरिणाम सार्वजनिक भैसकेका वडा मध्ये १, ५, ६ वडामा मात्र एमालेले जित निकालेको छ। बाँकी वडा नम्बर २, ३, ४, १२, १३, २३, २४, २५, र २६ नेपाली कांग्रेसले जितेको छ। वडा नम्बर २३ र २४ मा भने कांग्रेस गठबन्धनसँग मिलेर चुनाव लडेको थियो। वडा नम्बर ६ को अध्यक्षमा एमालेले बाजी मार्दा कांग्रेसका २ सदस्य विजयी भएका छन्। 

गएको चुनावमा एमालेले जित निकालेको १३, २४, २५ र २६ मा यो पटक नेपाली कांग्रेसले जित निकालेको छ। वडा नम्बर २५ को अध्यक्षमा नेपाली कांग्रेसले जित निकाल्दा अन्य पदमा भने एमालेले जित हात पारेको छ। यो मत परिणामलाई अध्ययन गर्दा एमालेले आफ्नो साख गुमाउँदै जाँदा गठबन्धन बलियो देखिएको छ। 

गणना हुन बाँकी वडाको विश्लेषण 
गणना हुन बाँकी २१ वटा वडाका नतिजाले पोखरा महानगरपालिकामा एमालेको प्रभाव कस्तो छ भनेर स्पष्ट चित्र आउनेछ। 

यी २२ वडा मध्ये स्व. रवीन्द्र अधिकारीको पकड रहेको वडा नम्बर २१ नेकपा एमालेको लालकिल्लाको रुपमा परिचित छ। यो वडामा एमाले निकै बलियो देखिँदै आएको छ। त्यसैले पनि एमालेका नेता तथा कार्यकर्ता धेरैले यो ठाउँबाट आएको नतिजाले राहतको सास फेर्न पाउनेछन्। यद्यपि यो वडाको मत परिणामले एमालेले मतान्तर मात्र कम गर्न सक्नेछ। गएको स्थानीय तहको चुनावमा यो वडामा नेकपा एमालेले मात्रै २५४४ मत ल्याएको थियो। यो ठाउँमा नेपाली कांग्रेसले ८१३ र माओवादीको जम्मा ७०७ मत छ। यो स्थानमा गठबन्धनको मतलाई जोड्ने हो भने पनि एमाले नै बलियो छ। 

वडा नम्बर १७ पनि एमालेको राम्रो पकड भएको वडा हो। एमालेले गएको चुनावमा ६०४६ मत ल्याउँदा कांग्रेसले भने जम्मा १७८३ मात्रै मत ल्याएको थियो। यस्तै वडा नम्बर १८ मा एमालेले १६७९ मत ल्याउँदा कांग्रेसले ९७१ मात्र मत प्राप्त गरेको थियो। 

यस्तै गणना हुन बाँकी वडा नम्बर ७ मा गएको स्थानीय चुनावमा एमालेले जित निकालेको थियो। एमालेले १२१२ मत ल्याएको यो वडामा कांग्रेसले ११,११ मत ल्याएको थियो। तर यो पटक एमाले फुटको असर यहाँ देखिने आकलन गरिएको छ। 

वडा नम्बर ८ मा नेकपा एमालेले २ सयको मतान्तरले जित निकालेको थियो। एमालेका उम्मेदवारले १८०६ मत ल्याउँदा कांग्रेसले १६७४ मत ल्याएको थियो। वडा नम्बर १४ मा एमालेले १८०६ मत ल्याउँदा कांग्रेसले १४४७, १५ नम्बर वडामा एमालेले १९४४ मत ल्याउँदा कांग्रेसले भने १४४७ मत ल्याएको थियो। वडा नम्बर १६ मा एमालेले ३१३३ मत ल्याउँदा कांग्रेसले २८६६ प्राप्त गरेको थियो। 

अहिलेको चुनावमा भोट बाँडिएको देख्दा वडा नम्बर २२ र ३३ बाट यो पटक एमालेको मत काटिने सम्भावना धेरै छ। वडा नम्बर २२ मा पहिला एमालेले १४३० मत ल्याएर जिते पनि यो पटक एमालेलाई यो ठाउँमा गाह्रो छ। यहाँ कांग्रेसले १३९८ र माओवादीले ६५८ मत ल्याएको थियो।

यी दुई मत परिणामलाई जोड्ने हो भने गठबन्धन बलियो देखिन्छ। वडा नम्बर ३३ मा एमालेले २३७३ मत पाएको थियो। कांग्रेसले १९९१ र माओवादीले ४३८ मत प्राप्त गरेको थियो। 

यसअघि २०७४ मा भएको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले ११ वडामा मात्र जित निकालेको थियो भने बाँकी वडामा नेकपा एमालेले जित हात पारेको थियो। उतिबेला वडा नम्बर १, ५, ७, ८, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २४, २५, २६, २८, २९, ३०, ३१ र ३३ एमालेले जितेको थियो। नेपाली कांग्रेसले भने वडा नम्बर २, ३, ४, ६, ९, १०, ११, १२, २३, २७, ३२ को नतिजा आफ्नो पक्षमा पारेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .