ad ad

निर्वाचन विशेष


केपी ओलीले ‘झरेको रौँ’ ठानेका धनराज कसरी भए एमालेलाई भारी?

केपी ओलीले ‘झरेको रौँ’ ठानेका धनराज कसरी भए एमालेलाई भारी?

वाशुदेव मिश्र
जेठ ५, २०७९ बिहिबार ७:५१, पोखरा

एमाले अध्यक्ष केपी ओलीले वैशाख २७ गते पोखराको अमरसिंहमा आयोजित चुनावी सभामा गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्यलाई एमालेको टाउकोबाट झरेको एउटा ‘रौँ’को संज्ञा दिएका थिए। एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई त उनले धम्कीको भाषामा भनेका थिए– ‘वैशाख ३० पछि को कहाँ रहेछ, हेरौँला।’ 

२ लाख ७ हजार ७१२ मतदातामध्ये १ लाख ४३ हजार २२६ ले मतपेटिकामा मत जाहेर गरेको पोखरामा यो समाचार तयार पार्दासम्म ४१ हजार ४२३ मत गणना भएको छ। धनराज एमालेका कृष्ण थापाभन्दा २ हजार ३२ मतले अगाडि छन्। अहिले नै धनराजले जित्छन् भन्नु हतार हुन्छ तर अध्यक्ष ओलीले भन्ने गरेको त्यही एउटा रौँ एमालेको लागि भारी भएको छ। एमालेजस्तो बलियो संगठनको जग हल्लाइदिएको छ। पार्टीभित्रको अन्तरद्वन्द्व सतहमा ल्याइदिएको छ। आखिर कसरी भारी भयो त एमालेलाई एउटै रौँ? यसका मोटामोटी ४ वटा कारण छन्।

विद्रोहको जग 
गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीले पोखराको ‘भाग’ पाएमा मेयरको उम्मेदवार आफू हुनेमा धनराज आचार्य ढुक्क थिए। विद्रोह गरेर एमाले छाडेका उनले गएको साउनदेखि नै त्यसको तयारी थालेका थिए। सुरुमा उनले कास्कीमा संगठन बलियो बनाउने अभियान सुरु गरे। एमालेभित्र केपी ओली गुटबाट पेलिएकाहरुमध्ये धेरैले नयाँ पार्टीमा जाने हिम्मत गरेनन्। तर, १३ वर्ष एमालेको पूर्णकालीन कार्यकर्ताको रुपमा बिताएका धनराजले असन्तुष्टहरु पत्ता लगाए। 

खासगरी आफैँले संगठित गरेका, अवसर नपाएकाहरु एवं केपी ओलीको कदमलाई प्रतिगमन भन्नेहरु उनको ‘टार्गेट’मा थिए। उनी सफल भए। पुराना नेता तुलबहादुर गुरुङ, श्रीनाथ बराज, चुडामणि जंगली, नयाँ पुस्ताका पूर्ण लामा, होम नेपाली, शिवजी गुरुङसहित विद्यार्थी नेता राजन शर्मा, खेलाडी पृष्ठभूमिका नुना गुरुङहरुको साथ लिएर उनी संगठन बिस्तारमा निस्के। ५ हजारभन्दा बढी क्रियाशील सदस्य बनाएको उद्घोष गरे। 

माधव नेपाललाई बोलाएर पोखरामा प्रविधिसहितको कार्यालय स्थापना गरे। माधव नेपालकै मुखबाट प्रशंसा पाए। ५ हजारभन्दा बढी क्रियाशील सदस्य बनाएको उनको दाबी कति फलदायी भयो भने कांग्रेसले नपत्याउँदा नपत्याउँदा पनि उनले आफू कास्कीका तेस्रो शक्ति भएको जिकिर गरिरहे। कतिसम्म भने गठबन्धनका शीर्ष नेताको बैठकमा माधवकुमार नेपालले सदस्यको नामावलीसहितको दस्ताबेज देखाएर पोखराको मेयर नछाड्ने अवस्था सिर्जना गराइदिए।

कांग्रेसको विरोधका बाबजुद पोखराको मेयर एकीकृत समाजवादीले पायो। धनराज उम्मेदवार भइहाले। ५ हजार नै नभए पनि धनराजले समेटेको त्यो शक्ति ‘विद्रोही’ तथा अपहेलित थियो। पाका उमेरका ती सदस्यहरुले कम्तीमा यो पटक पुरानो एमालेलाई मत दिने सम्भावना थिएन। उनले पाएको मतले त्यसको पुष्टि गरेको छ।

कांग्रेसको बलियो आड र गठबन्धन 
टिकट पाएसँगै धनराज आचार्यको नीति थियो– एमालेका नेता÷शुभेच्छुकलाई नचिढ्याउने, कांग्रेसलाई नछाड्ने। त्यसपछि उनले हरेक मञ्चहरुबाट सबैभन्दा पहिला ‘जय नेपाल!’ को नारा उचाले। आफूहरुको विद्रोहका कारण शेरबहादुर देउवा नेतृत्वको संघीय र प्रदेश सरकारहरु बनेको दोहो¥याइरहे। यसले गर्दा कांग्रेसीहरुले धनराजलाई आफ्नै ठाने। 

महानगरमा एमालेको ५ वर्षे एकलौटी हैकमबाट चिढिएका कांग्रेसीहरुसँग विकल्प थिएन। उनीहरुले गठबन्धनलाई धोका दिन उचित ठानेनन्। एक कांग्रेसी नेताको भनाइमा भोलि वाम एकता हुन्छ भन्ने आशंकाकै बीच पनि धनराजलाई भोट हाले।

कांग्रेसीले गठबन्धनलाई धोका नदिनुको अर्को कारण थियो– चुनाव परिचालनको धनराज शैली। धनराजसँग यसअघि स्वर्गीय रवीन्द्र अधिकारी र विद्या भट्टराईको चुनाव हाँकेको अनुभव थियो। त्यसो त यसअघिका हरेक चुनावमा उनी कुनै न कुनै महत्वपूर्ण भूमिकामा थिए। शक्ति र स्रोतको प्रयोग कहाँ र कसरी गर्ने भन्ने उनलाई राम्रोसँग थाहा थियो।

‘आन्तरिक झगडाका कारण कांग्रेसीहरुले एकअर्कालाई सिध्याउँछन् तर उनीहरुलाई फकाउन सजिलो छ भन्ने धनराजले बुझेको देखियो,’ कांग्रेसका एक शुभेच्छुले भने, ‘उनले बुद्धिको प्रयोग गर्ने ठाउँमा त्यही प्रयोग गरे अन्यत्र पैसा नै दिएर प्रचारमा हिँड्न प्रेरित गरिदिए।’ 

हालै सार्वजनिक भएको एमालेभित्रका केही समूहलाई आर्थिक सहयोग गरेर धनराजको पक्षमा लाग्न आग्रह गरिएको आग्रहले पनि त्यसको पुष्टि गर्ने ती नेताले जिकिर गरे। 

‘आपसमा झगडा गर्ने कांग्रेसीले साझा र सहयोगी मित्र भेट्टाए, तैँ चुप, मै चुप भए,’ उनले थपे। 

कांग्रेसमा केही कट्टर हुन्छन् र रुखबाहेक अरु चिन्दैनन् भन्ने धनराजलाई थाहा थियो। उनले त्यता पनि ध्यान दिए। पहिलो कलम र दोस्रो रुखमा कसरी छाप लगाउने भन्नेबारे उनले राम्रै अभियान चलाए। त्यसैले बदर मतको संख्या सोचेभन्दा कम भयो। 

अर्कोतर्फ, विद्रोही कांग्रेसलाई धनराजले विकल्प दिएनन्। बागीहरुलाई थुम्थुम्याए। विकल्पको रुपमा आउन सक्ने सम्भावना भएको अटेरी अभियान आफैँ सुस्ताउँदा कांग्रेसी अभिमत धनराजको पोल्टामा गयो। गठबन्धनमा माओवादी र जनमोर्चा अनि जसपा पनि छ। माओवादी कास्कीमा बलियो शक्ति हो भने जसपा र जनमोर्चाको प्रभाव पनि राम्रै छ। गठबन्धनको मनौवैज्ञानिक भारीले त्यहाँका कार्यकर्तालाई पनि दायाँबायाँ गर्न दिएन।

विकल्पहीन व्यक्तित्व 
लायन्स क्लबदेखि उद्योग वाणिज्य संघसम्म सक्रिय उनीसँग तर्कको बल थियो। आफ्नो कुरा प्रष्ट राख्थे र मेयरका अन्य उम्मेदवारभन्दा सुन्दर सपना देखाउँथे। ती सपनाले युवाहरुलाई प्रभावित बनायो। काठमाडौंमा बालेन शाहको सपनाले लठ्ठिएका युवाहरु पोखरामा पनि त्यस्तै ‘जादूमयी’ उम्मेदवार चाहन्थे। कतिसम्म भने यहाँका केही युवाहरु बालेनको प्रचारमा काठमाडौं गए तर पोखरामा उनीहरुले बालेनको प्रतिबिम्ब भेटेनन्। 

बालेनलाई लौरो चुनाव चिन्ह लिन प्रेरित गर्ने पोखराका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले आफ्ना कुरा युवामाझ पु¥याउन सकेनन्। बालेनको इञ्जिनियर छवि मन पराउनेहरुले गनेसको लेखकको चरित्र कम्तीमा हालसम्म त्यति रुचाएको पाइएन। बालेन मन पराउने एक युवाले अनौपचारिक कुराकानीमा भनेको कुरा मान्ने हो भने यसको फाइदा धनराजले पाए।

‘विदेश जान तम्तयार हाम्रो पुस्ता वर्तमानप्रति विद्रोह चाहन्छ, परिवर्तन खोज्छ। हामीले खोजेजस्तो उम्मेदवार यहाँ भेटिएन बरु धनराज चाहिँ ठीकै रहेछन्,’ उनले भनेका थिए। 

लामो समय रवीन्द्र अधिकारीको सहयोगीको रुपमा उनले निभाएको भूमिकाका कारण पनि धनराजप्रति सहानुभूति बढेको छ। रवीन्द्रलाई पोखराले यो क्षेत्रको उदाउँदो नेता मान्थ्यो। रवीन्द्रको निधनपछि पोखराले त्यस्तै वाचाल, मृदुभाषी तथा दूरदर्शी नेता खोजिरहेको छ। धनराजमा केहीले त्यो सम्भावना देखेका छन्। मतपत्रमा अभिव्यक्त मतले त्यसै भन्छ।

एमालेभित्रको अन्तरद्वन्द्व र सहानुभूति 
धनराजले कुनै पनि भाषणमा एमालेलाई गाली गरेनन्। नेपालखबरसँगको कुराकानीको क्रममा उनले भनेका थिए– ‘एमाले मेरो पुरानो घर हो, त्यहाँको संगठन मैले नै बनाएको हो। त्यहाँ मेरा थुप्रै साथी हुनुहुन्छ। फरक यत्ति हो, मैले विद्रोह रोजेँ, उहाँहरुले सक्नुभएन। उहाँहरुप्रति मेरो श्रद्धा छ।’

यो भनिरहँदा उनी भावुक देखिन्थे।

हो, उनले चुनावअघि र चुनावी भाषणको क्रममा पनि केपी ओलीको विरोध त गरे तर एमाले कार्यकर्ताको मन दुखाएनन्। यसले उनलाई ठूलो लाभ भयो। आफू उम्मेदवार हुँदा एमालेको मत आवश्यक छ भन्ने बुझेका उनले त्यहाँका एकएक प्रभावशाली व्यक्तिहरुसँग सम्पर्क बढाए।

कतिसम्म भने हाल प्रतिस्पर्धा गरिरहेका एमालेका कृष्ण थापासँग पनि उनको उत्तिकै सुमुधुर सम्बन्ध भएको एमालेजन बताउँछन्। 

‘थापा काजी पनि धनराजप्रति आक्रामक हुनुहुन्न, उहाँले टिकट नपाएको भए के हुन्थ्यो होला भन्ने हाम्रो मनको अनुमान छ,’ ती नेताले भने, ‘धनराज अझ अगाडि बढ्थे।’ 

सग्लो एमाले हुँदा पनि माधवकुमार नेपाललाई भेट्न जान डराउने तर ओली प्रवृत्ति नरुचाउने एमालेको ठूलो पंक्ति ‘पुरानै घर’मा छन् भन्ने बुझेका उनले त्यो ‘तुरुप’ मज्जाले चलाए। त्यो तुरुपले अहिलेसम्म काम गरेको देखिएको छ। कतिसम्म भने, कृष्ण थापाको टोली भोट माग्न जाँदा केहीले भनिदिए, ‘सधैँ सूर्यमा भोट हालेँ, यो पटक एउटा भोट कलमलाई दिन्छु।’

एमाले कास्कीमा गुट छ। गुटभित्र पनि उपगुट छ। केपी ओलीकै पक्षमा भए पनि यहाँ उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र कास्कीका रैथाने संगठन विभाग प्रमुख खगराज अधिकारीले एकअर्कालाई प्रतिस्पर्धी ठान्छन्। अघिल्लो संसदीय चुनावमा पार्टीले उम्मेदवार चयन गर्नुअघि खगराज अधिकारीले आफूलाई मुख्यमन्त्रीको दाबेदारको रुपमा प्रस्तुत गरेका थिए। 

यहाँको न्यू एरा पार्टी प्यालेसमा उनले दिएको अभिव्यक्ति काम लागेन। उनले संघको टिकट पाए भने पृथ्वीसुब्बाले प्रदेशको। पृथ्वीसुब्बालाई टक्कर दिने किरण गुरुङ पनि प्रदेशमै थिए। उनले संसदीय दलको नेतामा दाबी त गरे। तर, खगराजहरुको जोडबल पुगेन। मतदान प्रक्रियामा गए पृथ्वीसुब्बाले जित्ने देखेपछि किरण पछि हटे। कालान्तरमा उनी पृथ्वीसुब्बाकै टिमका सदस्यमा परिणत भए। तर, आन्तरिक प्रतिस्पर्धा सकिएन। 

एमाले र माओवादी मिलेपछि खगराजले खासै भूमिका पाएनन्। पार्टीको गण्डकी इन्चार्ज पृथ्वीसुब्बा नै भए। त्यसप्रति रुष्ट खगराजले एक पटक पार्टी बैठकमा भनेका थिए, ‘अध्यक्षज्यू मलाई अब कास्कीको वडा नम्बर ३१ को जिम्मा दिनुहोस्।’ 

पछि उनलाई अध्यक्ष ओलीले गृहमन्त्री बनाए। तर, उनी १३ दिने गृहमन्त्री बने। १० औं महाधिवेशनमा प्रतिनिधि छनोट र पदाधिकारी बन्नेमा पनि दुई नेताको द्वन्द्व चल्यो। तर, पृथ्वीसुब्बाले बाजी जिते। महासचिव मागेका उनी उमहासचिव बने भने खगराज स्थायी कमिटी सदस्य र संगठन विभाग प्रमुख। 

यी दुवैले कास्कीलाई आफ्नो प्रभाव क्षेत्रको रुपमा विस्तार गर्दा यहाँका नेताहरु विभाजित बने। कृष्ण थापाहरु खगराजसँग रहे भने केन्द्रीय सदस्य जगत विश्वकर्मासहित टिकट खोसिएका दीपक पौडेलहरु पृथ्वीसुब्बातिर। पुरानो अन्तरद्वन्द्वबारे जानकार धनराजले यो चुनावमा त्यहाँ पनि खेलेको देखिन्छ। दीपकले टिकट पाउँदा उत्साहित उनले कृष्ण थापा बलियो प्रतिस्पर्धी भन्ने चिनेका थिए तर उनी विवादरहित छैनन् भन्ने पनि बुझेकै थिए।

‘गुटको लडाइँ छताछुल्ल नै छ, त्यही पार्टीका धनराज कमरेडले थाहा नपाउने कुरै भएन,’ एमालेका एक नेता भन्छन्, ‘एकले अर्कालाई सिध्याउने खेलमा लागेकाहरुले धनराजलाई रोजेको देखियो।’

उनका अनुसार थापा यसअघि मेयरको रुपमा परीक्षित भइसक्नु, रुखो व्यवहार, विभेदकारी नीतिले पनि धेरथोर धनराजलाई सघायो। कृष्ण थापालाई हराउने अभियान भन्दै सामाजिक सञ्जालमा सार्वजनिक भएका अडियोहरुले त्यसको पुष्टि गरेको उनले जिकिर गरे। 

अघिल्लो पटक झण्डै १४ हजार मतान्तरले जितेको ठाउँमा आफ्नै पार्टीबाट चोइटिएको पार्टीका नेताको​ अग्रताले हाललाई कम्तीमा एमालेभित्र आरोप–प्रत्यारोपको उपक्रम भने सुरु गराएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .