निर्वाचन विशेष


निर्वाचनमा धाँधली भएको भन्दै एमालेले दियो १५ ‘प्रमाण’

निर्वाचनमा धाँधली भएको भन्दै एमालेले दियो १५ ‘प्रमाण’

नेपालखबर
जेठ १, २०७९ आइतबार १६:५७, काठमाडौँ

स्थानीय तहको निर्वाचनमा सत्ता पक्षबाट धाँधली भएको नेकपा एमालेले आरोप लगाएको छ। 

एमाले महासचिव शंकर पोखरेलले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै धाँधली भएको प्रमाणस्वरुप १५ वटा तर्क पेश गरेका छन्।

स्वतन्त्र निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासविना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पूरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीको सहारा लिएको एमालेको आरोप छ। 

‘निर्वाचनका क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र एमालेको विपक्षमा परिचालित भयो। मतदान र मतगणनाको क्रममा सत्ता गठबन्धनले योजनाबद्ध धाँधली गरेको निम्न कार्यप्रति नेकपा एमाले खेद व्यक्त गर्दछ’, एमालेको विज्ञप्तिमा भनिएको छ। 

एमालेले निर्वाचनमा सत्ता गठबन्धनलाई सहयोग हुने गरी गृह प्रशासनद्वारा प्रहरी तथा कर्मचारी खटाएको, आफ्ना मतदातालाई हतोत्साहित गर्न अघिल्लो दिन गिरफ्तार गर्ने र मतदानपछि छाड्ने कार्य गरेको एमालेको आरोप छ। 

यस्तै एमाले कार्यकर्ताको अपहरण र पूर्व रुकुम तथा ताप्लेजुङमा एमाले कार्यकर्ताको हत्या भएको, ताप्लेजुङमा मृत्यु भएका कार्यकर्ताको पोष्टमार्टम पनि नगरेको गुनासो एमालेको छ। 

दोलखा, सिन्धुपाल्चोक, काभ्रे, बारा, अछाम, बझाङ, सर्लाही, रौतहट,लगायत जिल्लाका धेरै मतदान केन्द्रमा बुथकब्जा गरेको एमालेको आरोप छ।​

निर्वाचन सुरु हुनुभन्दा अगाडि–

  •  निर्वाचनलाई प्रभावित गर्न सत्ता गठबन्धनलाई सहयोग हुने गरी गृह प्रशासनद्वारा र प्रहरी तथा कर्मचारीहरु खटाएको। 
  •  हाम्रा मतदातालाई हतोत्साह गर्न अघिल्ला दिन गिरफ्तार गर्ने र मतदान पछि मात्र छाड्ने कार्य गरियो। निर्वाचन अगाडि एमाले कार्यकर्तालाई अपहरण र पूर्व रुकुम तथा ताप्लेजुङमा एमाले कार्यकर्ताको हत्या गर्ने कार्य भएको र ताप्लेजुङमा मृत्यु भएका एमाले कार्यकर्ताको पोष्टमार्टम गर्न समेत नगरी त्यसै राखिएको। मौन अवधिमा बुटवल लगायतको स्थानमा नेकपा (एमाले)का उम्मेदवारलाई हतोत्साहित गर्ने र मतदातालाई अनुचित प्रभाव पार्ने उद्देश्यले उम्मेदवारको गाडी खानतलासी गर्ने, उम्मेदवारलाई पक्राउ गर्ने, उम्मेदवारका परिवारका सदस्यलाई प्रचारात्मक रुपमा घेराबन्दीमा पार्ने, गिरफ्तार गरेको प्रचार गर्ने लगायतको हतकण्डाको प्रयोग गरी अर्कोतिर सत्ता गठबन्धनबाट हाकाहाकी पैसा बाँड्ने काम हुुँदा समेत रोक्न कुनै सार्थक प्रयास गरिएन।

मतदानको समयमा–

  •  निर्वाचन परिणामलाई सत्ता गठबन्धनको पक्षमा पार्नका लागि दोलखाको बैतेश्वर, तामाकोशी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोशी, काभे्रको पाँचखाल, बाराको पचरौता, अछामको साँफेबगर, पञ्चदेवल बिनायक, मंगलसेन, बझाङको छबिस पाथिभेरा, सर्लाहीको धनकौल, बलरा, रामनगर, बागमती, बरहथवा, रौतहटको करुनिया लगायत दर्जनौं स्थानमा बुथ कब्जा गर्ने कार्य भयो। 
  •  उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ मा साँझ ५ बजेपछि मतदान केन्द्रमा प्रवेश नगरेको मतदातालाई घरघरबाट ल्याई कानुनविपरीत मतदान गराउन खोज्दा प्रतिवाद भएपछि मतगणना नै नगरी रोकी राखिएको छ। प्रहरीलाई मतदान स्थल छाडेर भगाउने, कर्मचारीलाई समेत मुचुल्का नगरी मतदान स्थल छाड्न निर्देशन दिने गरी गृह प्रशासनको चरम दुरुपयोग भइरहेको छ। 
  •  पहिलो घेराको सुरक्षा गर्ने जिम्मा पाएको नेपाल प्रहरी हिँडेपछि सेनाको सुरक्षा घेरामा मुचुल्का सम्पन्न गरेकोमा निर्वाचन रोक्न सत्ता गठबन्धनले बाजुराको बुढीगंगा, बुढीनन्दा र खप्तडा छेडाछारमा नांगो नाच गरिएको छ। 
  •  निर्वाचन सम्पन्न भई मतगणना स्थलमा बाकस पुुर्याउन जाने क्रममा उम्मेदवार प्रतिनिधिलाई मतपेटिका राखिएको सवारी साधनमा साथै जान रोक लगाइएको छ। कतिपय स्थानमा सुरक्षित राखिएको बाकसको सिल तोडिएको समेत पाइयो। 
  •  निर्वाचनको दिन मतदान सुरु हुने क्रममा बनाएको मुचुल्कामा हस्ताक्षर गराउँदा मतदान सम्पन्नको मुचुल्कामा समेत एकै पटक हस्ताक्षर गराई धाँधली गर्ने कार्य गरियो। 
  •  निर्वाचनमा कर्मचारी खटाउँदा नेपालगञ्ज महानगर लगायतका केही स्थानमा पूर्व तयारीसाथ प्रहरीदेखि अन्य कर्मचारीसमेत गठबन्धनको पक्षधरलाई राख्ने जस्ता कार्य भए। 
  •  स्वच्छ निर्वाचन गर्न केही स्थानमा पुनः मतदानको माग भएको छ। केही स्थानमा मतगणना गर्दा खसेको मत भन्दा बढी मत बाकसमा फेला परेको, कतिपय स्थानमा मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नगर्ने, गलत स्थानमा हस्ताक्षर गर्ने कार्य भए। 

मतगणनाको समयमा–

  • मत गणना गर्दा सत्ता गठबन्धनलाई फाइदा पुुग्ने गरी उम्मेदवार भएको र नभएको दुई निर्वाचन चिन्हमा मतदान गरेकोमा सो मतपत्रको सम्बन्धित मत बदर हुनुपर्नेमा सदर गर्ने कार्यसमेत गरिएको छ। 
  • मतगणना स्थलमा कानुनविपरीत सत्ता गठबन्धन पक्षधर उम्मेदवारको मतलाई सदर गर्ने र नेकपा (एमाले) पक्षधर उम्मेदवारको मत बदर गर्ने गरी फरक–फरक मानक बनाई पक्षपातपूर्ण व्यवहार गरेको, सोको प्रतिवाद गरी पुनः मतगणनाको निवेदन दिँदा लिन अस्वीकार गरेको, लमजुुङको मध्यनेपाल नगरपालिकाको मतगणना स्थलबाट मतगणना प्रतिनिधिलाई हटाई एकलौटी मतगणना गरिंदैछ। 
  • मतगणनाको क्रममा काठमाडौंको चन्द्रागिरी वडा नं. ३ र ४ लगायतका स्थानमा खसेको मतभन्दा बढी मत बाकसमा देखिएपछि पुनः मतदानको माग गर्दा अस्वीकार गरी निरन्तर मतगणना जारी राखेको। 
  • मत गणना कार्य छिटो छरितो हुनुपर्नेमा अनावश्यक ढिलाई गर्ने कार्य भइरहेको छ। हामी मतगणना शीघ्र सम्पन्न गर्न र मतगणनाको क्रममा हुने धाँधली र अनियमितता नियन्त्रण गर्न निर्वाचन आयोगसमक्ष माग गर्दछौं। 
  • मतगणना गर्दा सत्तापक्षले गरेको पुनः मतगणनाको मागलाई तत्कालै स्वीकार गर्ने र नेकपा (एमाले)ले गरेको मागलाई बेवास्ता गर्ने कार्य भएको छ। 

यस्तो छ वक्तव्य 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad