निर्वाचन विशेष


पोखरेलीको जीवन सहज र सरल बनाउने कार्यक्रम ल्याउँछौँ : आचार्य

पोखरेलीको जीवन सहज र सरल बनाउने कार्यक्रम ल्याउँछौँ : आचार्य

नेपालखबर
जेठ ११, २०७९ बुधबार ९:२६, काठमाडौँ

पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्नु आफ्नो पहिलो काम भएको बताएका छन्।

महानगर प्रमुखमा निर्वाचित भएको घोषणापछि आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै आचार्यले महानगर र महानगरअन्तर्गतका वडा कार्यालयको सेवा व्यवस्थित र झन्झटरहित बनाउने प्रतिवद्धता व्यक्त गरे।

‘हाम्रो पहिलो काम पोखराबासीलाई सुशासनको प्रत्याभुत दिनु हुनेछ,’ 
 नेकपा (एकीकृत समाजवादी) का नेतासमेत रहेका आचार्यले भने, ‘महानगर र वडाबाट पोखरेली नागरिकलाई दिने सेवा व्यवस्थितरूपमा बिनाझन्झट प्रदान गर्ने छौँ।’

पोखराको समग्र विकासका लागि पूर्वाधार निर्माणलगायत अल्पकालीन र दीर्घकालीन ढंगले काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। 

निर्वाचन घोषणापत्रअनुसार निर्वाचित भएको एक महिना, छ महिना, एक वर्ष र पाँच वर्षभित्रमा के–के काम गर्ने भनेर कार्ययोजना निर्माण गरेर अघि बढ्ने उनले बताए। ‘पोखरेलीको जीवनयापन कसरी सहज र सरल बनाउन सकिन्छ भनेर कार्यक्रम ल्याउने छौँ,’ उनले भने। 

पाँच दलको शक्ति, सामाजिक क्षेत्रमा गरेको योगदानका कारणले आफ्नो जित सम्भव भएको उल्लेख गर्दै आचार्यले ठूलो सङ्ख्यामा मत बदर नभएको भए मतान्तर अझै बढ्ने बताए। 

आचार्य एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले पछि पार्दै पोखरा महानगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन्। आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी थापाले ५२ हजार ८४८ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad