पोखरा १७ बाट एमाले नेतृ राधिकाकुमारी शाही वडाध्यक्ष चुनिएकी छन्।
नेपाली कांग्रेसका देवराज आचार्यलाई ८३ मतले हराउँदै उनी पोखरा–१७ को वडाध्यक्ष निर्वाचित भएकी हुन्।
राधिकाले २ हजार ६२५ मत ल्याउँदा देवराजले २ हजार ५४२ मत पाएका छन्। माओवादी केन्द्रका ओमबहादुर पौडेलले ५७३ र राप्रपाका धनविक्रम मल्लले ३३७ मत पाए।
उक्त वडामा एमालेको प्यानल नै विजयी भएको छ। वडा नम्बर १७ एमाले भारी मतान्तरले विजयी हुने वडा हो।
सो वडामा यसअघि एमालेका तीर्थ अधिकारी ३ हजार १७ मतसहित विजयी हुँदा कांग्रेसका पुण्डरी बरालले १ हजार ७८३ मतमात्र पाएका थिए।
पोखरामा यो पटक कांग्रेसले वडा नम्बर १ मा सीता गुरुङ र वडा नम्बर ८ मा सारदा गिरीलाई उम्मेदवार बनाएको थियो। सीता झिनो र सारदा बढी मतान्तरले पराजित भएकी थिइन्।
एमालेले उम्मेदवार बनाएकीमध्ये वडा नम्बर १० की पवित्रादेवी गुरुङ पनि पराजित बनिन्।
अन्य दलहरुबाट पनि विभिन्न वडामा ७ जना महिला अध्यक्षका प्रत्यासी बनेका थिए। सबै पराजित बनेसँगै राधिका पोखराकी एक्लो महिला वडाध्यक्ष बन्ने पक्का भएको छ।
Shares

प्रतिक्रिया