निर्वाचन विशेष


सर्लाहीका ४ स्थानीय तहमा माओवादीको जित, साविकका २ तहको नेतृत्व गुमायो, नयाँ ३ पालिका थप्यो

सर्लाहीका ४ स्थानीय तहमा माओवादीको जित, साविकका २ तहको नेतृत्व गुमायो, नयाँ ३ पालिका थप्यो

नेपालखबर
जेठ ९, २०७९ सोमबार ९:४, काठमाडौँ

२०७४ को को स्थानीय तहको निर्वाचनमा भन्दा सर्लाहीमा यसपटक माओवादी केन्द्रले आफ्नो अवस्थामा सुधार गरेको छ।

गत निर्वाचनमा तीनवटा स्थानीय तहमा जित निकालेको माओवादीले यसपटक त्यसमा एउटा पालिका थप गर्दै जितेका पालिकाको संख्या चार पुर्याएको हो। माओवादीले बागमती नगरपालिका, हरिवन नगरपालिका, बलरा नगरपालिका र रामनगर गाउँपालिकामा जित दर्ता गरेको छ।

तर, जिल्लाका चार पालिका जित्दै गर्दा माओवादीले साविकमा जितेका दुई पालिकाको नेतृत्व गुमाएको छ। चक्रघट्टा गाउँपालिमा माओवादी उम्मेदवार पराजित भइसकेका छन् भने बरहथवा नगरपालिकामा माओवादी नेतृत्व गुम्ने निश्चित देखिएको छ। 

साविकको चक्रघट्ट र बरहथवा गुमाउँदै गर्दा माओवादीले नयाँ तीन पालिकामा भने विजयको झण्डा फहराएको छ। हरिवन र बलरा नगरपालिका तथा रामनगर गाउँपालिकामा माओवादीले यस वर्ष पहिलोपटक जित दर्ता गरेको हो। 

हरिवनमा माओवादीका कमल बुढाथोकीले निवर्तमान मेयर समेत रहेका एमालेका गणेश प्रसाइँलाई पराजित गरेका छन्। 

एउटै वडा सदस्य नजिती बुढाथोकीले हरिवनमा कसरी ढाले एमालेको किल्ला?

त्यसैगरी बलरा नगरपालिकामा माओवादीका रामाशंकर प्रसाद कुशवाहाले लोसपाका अभयकुमार सिंहलाई पराजित गरेका छन्। 

पहिलोपटक माओवादीले जित दर्ता गरेको रामनगर गाउँपालिकाको अध्यक्षमा २२ वर्षीय युवा राजाबाबु यादव विजयी भएका छन्। माओवादीका उम्मेदवार राजाबाबुले कांग्रेसका हरिनन्दन प्रसाद यादवलाई झण्डै दोब्बर बढी मतान्तरले पराजित गरेका हुन्। 

साविकमा जितेको बागमती नगरपालिकामा मात्रै माओवादीले यसपटक पनि प्रमुख उपप्रमुखसहित वहुमत वडा जितेको छ। यहाँ माओवादीका भरत थापा र लीला मोक्तानले दोस्रो कार्यकालको लागि प्रमुख उपप्रमुख जितेका हुन्।

गत निर्वाचनमा माओवादीले प्रमुख उपप्रमुखसहित बहुमत वडा जितेको बरहथवा नगरपालिका यसपटक एमालेको पोल्टामा पुग्ने निश्चित भएको छ। बरहथवाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा एमालेकी कल्पना कटुवालले माओवादीका देवानन्द महतोलाई करिब दोब्बर मतान्तरले पछि पारेकी छन्।

साविकमा माओवादीले जितेको चक्रघट्टा गाउँपालिकामा यसपटक जसपा विजयी भएको छ। जसपाका कृष्णकुमार यादव अध्यक्ष्मा विजयी हुँदा माओवादी केन्द्रका विक्रम यादव तेस्रो स्थानमा पुगेका छन्। 

चक्रघट्ट गाउँपालिकाको निवर्तमान अध्यक्षसमेत रहेका यादव माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री रामेश्वर रायका छोरा हुन्। 

आफ्ना पिता रामेश्वरको प्रभावले यसअघि चक्रघट्टाको अध्यक्षमा विजयी भएका विक्रमलाई यसपटक स्थानीयले नराम्ररी पराजित गरेका छन्। 

सर्लाहीका तीनवटा स्थानीय तहमा यसअघिको निर्वाचनको अवस्थामा सुधार गर्दै माओवादी केन्द्र दोस्रो दल बनेको छ। 

हरिपुर नगरपालिका, धनकौल र चन्द्रनगर गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार दोस्रो भएका हुन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad