निर्वाचन विशेष


‘केपी ओलीको भाषण दमकबासीले पत्याएनन्’

प्रधानपञ्चमा हारेका राम थापा गणतन्त्रका मेयर बने
‘केपी ओलीको भाषण दमकबासीले पत्याएनन्’

नेपालखबर
जेठ ८, २०७९ आइतबार २२:११, झापा

गत मंसिरमा राप्रपाको महाधिवेशन सकिएर कमल थापाको नेतृत्वमा भर्खरै राप्रपा नेपालको पुनर्गठन भएको थियो। स्थानीय चुनावको चर्चा पनि शुरु भइसकेको थियो। त्यतिबेलासम्म झापाका राप्रपा नेता राम थापा कमल थापातिर लाग्ने कि राजेन्द्र लिङदेनसँग रहने भन्ने दोधारमा थिए।   

कांग्रेस, माओवादीसहितको गठबन्धनका तर्फबाट दमक नगरपालिकाको मेयरमा निर्वाचित थापा राप्रपा प्रदेश १ का अध्यक्ष हुन्। दमकमा चिरपरिचित नेताको छवि बनाएका उनको राजनीतिक ‘प्रोफाइल’ रोचक कथाले भरिएको छ।

‘लो प्रोफाइल’ का थापाको ‘प्रोफाइल’ बारे चर्चा गर्नुपूर्व गत मंसिरमा सम्पन्न राप्रपा महाधिवेशनदेखि पार्टी विभाजनसम्मको अवधिमा उनले खेलेको उतारचढावपूर्ण भूमिकाबारे चर्चा गरौँ। 

महाधिवेशनमा लिङदेनलाई असहयोग
राप्रपाको महाधिवेशनका बेला झापाबाट काठमाडौं पुगेका राम थापाले राजेन्द्र लिङदेनलाई सघाएनन्। उनी महाधिवेशनसम्म कमल थापाकै क्याम्पमा रहे।

लिङदेनले त्यसबेला चक्रपथको सेल्सबेरी नजिकै पार्टी प्यालेसमा अस्थायी कार्यालय सञ्चालन गरेका थिए। राम थापाचाहिँ धुम्बाराहीको पार्टी कार्यालयमा कमल थापासँगै देखिन्थे।

आफ्नै गृहजिल्लाका पुराना साथी  लिङदेनले कमल थापाविरुद्ध पार्टी अध्यक्षमा उम्मेदवारी दिएका बेला राम थापा लिङदेनको विपक्षमा उभिएपछि धेरैलाई लागेको थियो अब राप्रपाका दुई झापाली नेताबीचको एकता टुट्नेवाला छ। तर, टुटेन। 

पाँचथरबाट ०२९ सालमा १३ वर्षको उमेरमा दमक झरेर ठूलोबुबाका घरमा आश्रय लिएका राम थापाले दमककै हिमालय माविबाट ०३० सालमा एसएलसी पास गरे। झापा झरेकै साल उनी पञ्चायती व्यवस्था समर्थक स्वतन्त्र विद्यार्थी मण्डलमा लागे। ०२८–०२९ सालमा झापामा कम्युनिस्टहरुको बिगविगी थियो, तर राम थापा कलिलै उमेरमा ‘मण्डले’ बने।

राम थापाजस्तै राजेन्द्र लिङदेन पनि पाँचथरबाटै झापा झरेका हुन्। थापा स्वतन्त्र विद्यार्थी मण्डलको केन्द्रीय सदस्य हुँदा लिङदेनचाहिँ हल्दिबारीमा विद्यालय कमिटीका कार्यकर्ता थिए। राजेन्द्र लिङदेन राम थापाका कार्यकर्ता हुन्। तर, भाग्यवस उनी पार्टीको केन्द्रीय अध्यक्ष बनेका छन् भने राम थापाचाहिँ सोही पार्टीको प्रदेश अध्यक्ष छन्। 

महाधिवेशनपछि कमल थापालाई असहयोग
महाधिवेशनमा लिङदेनसँग पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताए। उनले ‘सल्लाह गरौं’ भन्दै आफ्ना पुराना साथी राम थापालाई काठमाडौं बोलाए। काठमाडौंमा थापाद्वयबीच लामो छलफल भयो।

कमल थापा र राम थापाको सम्बन्ध ४८ वर्ष पुरानो हो। ०३१ सालमा वीरगञ्जमा स्वतन्त्र विद्यार्थी मण्डलको दोस्रो अधिवेशन हुँदा कमल थापा केन्द्रीय अध्यक्ष बनेका थिए भने राम थापा केन्द्रीय सदस्य चुनिएका थिए। राम थापाले ०३१ सालदेखि नै कमल थापालाई लगातार साथ दिँदै आएका थिए।

काठमाडौंमा भएको भेटमा कमलले रामलाई राप्रपा नेपालमा आउन आग्रह गरे। तर, रामले असहमति जनाउँदै पार्टी विभाजन गरेकोमा कमल थापाको आलोचना गरे। 

‘अहिले तपाईले यसरी राप्रपा फुटाउनु गलत हो, पार्टीभित्रै रहेर एउटा धारको नेतृत्व गर्दै अभियान चलाएको भए हुन्थ्यो’ राम थापाले त्यसबेला कमल थापालाई भनेका थिए, ‘पार्टी फुटाउने तपाईको निर्णयप्रति म असहमत छु, तर म तपाईकै मान्छे हुँ, २०३० सालदेखि तपाईँसँगै छु।’

यहीबेला, केपी शर्मा ओली र कमल थापाबीच चुनावी तालमेल गर्ने सहमति भयो। कमल थापाले सूर्य चिह्नबाटै चुनाव लड्ने सहमति जनाए। तर, कमल थापाका प्रियपात्र ठानिएका राम थापाले भने ओलीकै गृहनगरमा कांग्रेस र माओवादीसँग मिलेर एमालेलाई हराइदिए। र, यहीँनेरबाट कमल थापा र राम थापाको ४८ वर्ष पुरानो सम्बन्ध ‘मुल्तवी’मा परेको छ। 

तथापि, चुनाव प्रचारका बेला दमकमा एमाले नेताहरुले भन्ने गरेको सुनिन्थ्यो, ‘राम थापा अहिले राजेन्द्र लिङदेनको पार्टीबाट चुनाव लड्दैछन्, तर, उनी कमल थापाका मान्छे हुन्, चुनावपछि कमल थापाकै पार्टीमा लाग्छन्। 

राजेन्द्र लिङदेन र कमल थापा दुबै खुशी
कमल थापालाई ‘म तपाईकै मान्छे हुँ’ भनेर झापा फर्किएका राम थापा अन्ततः राप्रपाको हलो चिन्ह लिएर दमकमा चुनाव लडे र मेयर बन्न सफल भए। कमल थापाले एमालेसँग गठबन्धन बनाएका थिए, राम थापा एमालेकै विरुद्ध गठबन्धन बनाएर लडे। 

महाधिवेशनमा आफैंलाई हराउन लागे पनि स्थानीय चुनावमा राजेन्द्र लिङ्देनले राम थापालाई जिताउन भूमिका खेले। दमकमा आयोजित  चुनावी सभामा भाषण गरेर लिङदेनले थापाका लागि भोट मागे। अहिले राम थापाले मेयर जित्दा राजेन्द्र लिङदेनमा पनि खुशी छाएको छ। 

तर, आफ्नो पुरानो साथीले दमकमा मेयर जितेर खुसीयाली मनाइरहँदा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि खुशी देखिएका छन्।

हलो चिन्हमा चुनाव लगेर जितेका राम थापा अब पाँच वर्षसम्म कमल थापाको पार्टीमा आउने सम्भावना प्राविधिक रुपमा सकिएको छ।तर, आफ्ना पुराना मित्र, माया त लागिहाल्छ नि। चुनावकै मुखमा राम थापा बिरामी भएर धरानमा अस्पताल भर्ना हुँदा कमल थापाले ट्विटरमा लेखे, ‘शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।’

राम थापा मेयरमा निर्वाचित भएपछि कमल थापाले दुईचोटि फोन गरेर उनलाई बधाइसमेत दिइसकेका छन्।

राजनीतिका अथक यात्री 
वीरगञ्जमा स्वतन्त्र विद्यार्थी मण्डलको केन्द्रीय सदस्य बनेर फर्केपछि थापाले धरान कलेजमा अखिलका विद्यार्थीहरुबाट मरणासन्न हुने गरी पिटाइ खाए। त्यसपछि उनले कलेज छाडे। 

०३४ सालमा थापा आइए पढ्न बनारसतिर लागे। ०३९ सालमा नेपाल फर्केर मेची क्याम्पसमा स्नातक तहमा भर्ना भए। त्यसबेला राजेन्द्र लिङदेन गोलधाप स्कुलमा कक्षा ८ मा पढ्दै थिए।   

राजनीति गर्ने क्रममा राम थापा स्वतन्त्र विद्यार्थी मण्डलको केन्द्रीय उपाध्यक्ष भए भने राजेन्द्र लिङदेन गोलधाप माविको अध्यक्ष हुँदै झापा जिल्ला कमिटीको अध्यक्ष बने। 

०३९ सालमा राम थापा दमक १२ नम्बर वडाको वडाध्यक्ष बने। दोस्रो कार्यकाल पनि वडाध्यक्ष जिते। एक कार्यकाल उनी प्रधानपञ्चमा चुनाव लडेका थिए, तर पराजित भए। प्रधानपञ्चमा हारेपछि उनी युवक संघको सभापति भए।

०४६ बहुदल आएपछि पनि सोही वडामा वडाध्यक्ष जिते। ०४६ सालको परिवर्तनपछि उनी झापा जिल्ला विकास समितिको उपसभापतिमा उठेका थिए, एक भोटले पराजित भए।

०५४ को स्थानीय चुनावमा उनी दमक नगरपालिकाको मेयरमा उठेर पराजित भए। ०६१ सालको शाहीकालमा उनी ९ महिनासम्म दमकको मेयर बने।  

०७० को संविधानसभाको चुनावमा उनी केपी ओलीसँगै प्रतिस्पर्धामा उत्रेका थिए, तेस्रो भए। ०७४ मा भने उनी नगरपालिकाको मेयरमा लडे, जहाँ उनी दोस्रो भए। 

उमेरले ६५ वर्ष पुगेका थापाका एक छोरा र एक छोरी छन्। छोरा पार्ट टाइम क्याम्पस पढाउँछन् भने छोरी सपरिवार अमेरिकामा बस्छिन्। श्रीमती जनकपुर चुरोट कारखानामा काम गरेकी अवकाशप्राप्त कर्मचारी हुन्। थापाको घर दमक ७ मा छ। तल्लो तला सहकारीलाई भाडामा लगाएका छन्। 

अब नवनिर्वाचित मेयर थापासँगको संक्षिप्त कुराकानी –

झापामा केपी शर्मा ओलीजस्तो शक्तिशाली नेताको गृहनगरमा तपाई के जादु चलाएर चुनाव जित्नुभयो?
यसमा तीनवटा कुरा छन्। एउटा त पहिले म एक्लै लड्दा दोस्रो भएको थिएँ, अहिले गठबन्धनको ताकत भयो। दोस्रो चाहिँ मानिसहरुले मलाई यत्रो वर्ष दुःख पायो, एकचोटि यसलाई अवसर दिऔं भन्ने ठान्नुभयो। तेस्रोचाहिँ विगतका जनप्रतिनिधिहरुले सन्तोषजनक काम गरेनन् क्या। त्यसकारण यो परिवर्तनको एउटा लहर पनि हो। 

अर्को, अब चाहिँ राम थापाले जित्छ भनेपछि मप्रति मान्छेको आकर्षण, सहानुभूति बढ्यो। मान्छेको मनमा दुविधा हट्यो। पहिले त जित्छ कि हार्छ भन्थे। 

दमकमा एमालेले जितेका वडामा पनि तपाईले अग्रता लिएको हेर्दा तपाईलाई एमालेहरुको पनि भोट आयो?
मज्जाले भोट हाले।

चुनाव प्रचारका बेला एमाले कार्यकर्ताहरुसँग भेट भयो कि भएन? भेट भएको भए उनीहरुले के भने?
हामी तपाईलाई साथ दिन्छौं भन्थे। तपाईले विगतमा दुःख पनि पाउनुभयो, कसैलाई नभिन्दनु होला भन्थे। एमालेमा त्याग गर्ने मान्छेले टिकट पाएनन्, चाकरी गर्ने मान्छेले मात्रै पाए, त्यागको मूल्य भएन भनेर गुनासोचाहिँ धेरैले गरे। हामी तपाईलाई भोट हाल्छौं भन्ने धेरै मान्छे सम्पर्कमा आएका थिए। 

केपी ओली त्यत्रो प्रधानमन्त्री भइसकेको मान्छे, दमकमा उहाँको पार्टीले जित्यो भने विकास ल्याउन सकिन्छ, राम थापाले जितेर के हुन्छ? यस्तो मर्दा पर्दाका मलामी मात्रै हुन् भन्नेखालका तर्कहरु पनि त थिए नि दमकमा?

यसपालि त्यो तर्क जनताले पत्याएनन्। उहाँ (ओली)ले भाषणमै भन्नुभो, तर दमकबासीले पत्याएनन्। यतिमात्रै होइन, उहाँले भाषणमा  भन्नुभयो– यो अन्तरराष्ट्रिय महत्व राख्ने चुनावमा राम थापा अर्काको उक्साहटमा लागेर चुनाव लड्नुभो, मैले माया गरेकै मान्छे हो तर सही बाटो समात्नुभएन भन्नुभयो। 

चुनावअघि केपी ओलीसँग तपाईको कुनै सम्वाद भयो कि भएन ? उहाँले ०७४ सालको संसदीय चुनावमा जस्तै सहकार्य गरौं भन्नुभएन?
कमल थापाले सूर्य चिन्ह लिएपछि कोर्ष नै बदलियो। उहाँले मलाई पनि खोज्नुभएन, मैले पनि उहाँलाई खोजिनँ। तर, यहाँ एमालेका लोकल मान्छेहरुले राप्रपालाई उपमेयर र चारवटा वडाध्यक्ष दिने भनेर अन्तिमसम्म कोसिस गर्नुभएको थियो। 

यतापट्टि कमल थापासँगको तपाईको सम्बन्ध अब के हुन्छ?
अब व्यक्तिगत सम्बन्ध मात्रै रहने भयो। राजनीतिक सम्बन्ध रहेन अब।

अब हलोबाट चुनाव जितेपछि दल बदल गर्न मिलेन हैन?
त्यो पनि मिलेन, अब नैतिकताले पनि दिएन। आज बिहान पनि कमल थापाजीसँग मेरो कुरा भएको थियो। मैले उहाँलाई यो कुरा भनें पनि। उहाँ मेरो विषयमा सन्तुष्ट नै हुनुहुन्छ। 

के भन्नुभयो कमल थापाले?
उहाँले मलाई दुईचोटि बधाइ दिनुभयो। उहाँले भन्नुभयो– तपाईको ईच्छा पूरा भएकोमा म सन्तुष्ट छु। मलाई कुनै किसिमको मनमा दुःख छैन। तपाईको जुन आराधना हो, त्यो पूरा भएकोमा म खुशी छु भन्नुभयो। 

केपी ओलीजीले त बधाइ दिनुभएको छैन होला....
मैले पनि सम्पर्क गरेको छैन, उहाँले पनि खोज्नुभएको छैन।  

मेयरमा चुनाव त जित्नुभयो, अब दमकमा के गर्नुहुन्छ? कसरी काम गर्नुहुन्छ?
आखिर जनताको सेवा गर्ने हो।  निर्वाचनमा जहाँ जे जस्तो भए पनि सबैसँग मिलेर काम गर्ने हो। अब विवाद गर्नुपर्ने के विषय रह्यो र। अब पाँच दल त छँदैछ। अरु विपक्षमा रहेका साथीहरुसँग पनि समन्वय गरेरै अगाडि बढ्ने हो। 

तपाईँका सपना, योजनाहरु के छन्?
अरु केही पनि छैन। मैले ठूलो महत्वाकांक्षा पनि लिएको छैन। अब धेरै कुरा बोलेको छु, ती कुराहरु कसरी म व्यवहारमा उतार्न सक्नु भन्ने मेरो एउटा चिन्ता छ। कतिपय कुराहरु केन्द्र सरकारबाट हुने कुराहरु छन्। कतिपय राष्ट्रिय गौरबका योजनाहरु पनि चलिराखेका छन्। सबैसँग समन्वय गरेर अगाडि बढ्नुपर्छ।

अन्य जिल्लाका मान्छेलाई अचम्म लागेको कुरा के हो भने झापा आन्दोलनदेखि नै कम्युनिष्टको गढ मानिने झापामा यसरी राप्रपाको बिऊ मौलाउनुको कारण के होला? यसको पछाडिको रहस्य के हो? एकचोटि माओवादीको हावा आयो, अहिलेफेरि राप्रपाको हावा आएको छ....
हैन, यो परिवर्तनपछि जो जो साथीहरुले धेरै अवसर पाए, उनीहरुप्रति वितृष्णा भयो क्या। यिनीहरुको क्रियाकलाप नै दोषी छ क्या। जस्तो–  पहिले काँग्रेसले जहाँ जितेको थियो त्यहाँ हारेको छ, एमालेले पहिले जितेको ठाउँमा अहिले हारेको छ।

दोस्रो कुरा के हो भने हामी पहिल्यैदेखि अलि काम गर्ने जमात रह्यौं। सामाजिक सेवामा समर्पित मानिसहरुको समूह हामीसँग रहिरह्यो। दमकमा हामीसँग पूर्वनगर सदस्यहरुको ४०,४२ जनाको समूह हामीसँग छ। उनीहरुको केही न केही प्रभाव हुने नै भयो नि त।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad