कन्चनपुरको सबैभन्दा ठूलो भीमदत्त नगरपालिकको मेयरमा नेपाली कांग्रेसका पदम बोगटीको जित निश्चित भएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार बोगटीले मेयरमा १३ हजार ७ मत ल्याएका छन्।
उनका प्रतिस्पर्धी एमालेका महेश पन्तले ६ हजार ८५८ मत प्राप्त गरे।
यस्तै, राप्रपाका गजेन्द्र बहादुर चन्दले ६ हजार ४७२ मत ल्याएका छन्।
माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार समाजवादीका राजेन्द्र पाण्डेयले ३ हजार १३५ मत ल्याएका छन्।
मेयरमा बोगटीले ६ हजार १४१ मतले अगाडि छन्। अब ७ हजार २ मत मात्रै गणना गर्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। भीमदत्त नगरपालिकामा ४२ हजार ५०० मत खसेको थियो।
आज (आइतबार) रातीसम्म भीमदत्त नगरपालिकाको अन्तिम मतपरिणाम आइसक्ने मुख्य निर्वाचन अधिकृत मदन धामीले बताए।
यस्तै, शुक्लाफाँटा नगरपालिकाको मेयरमा नेकपा एमालेका रणबहादुर महरा र उपमेयरमा कांग्रेसकी कल्पना जोशी जित नजिक पुगेका छन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार मेयरमा एमालेका महराले ६ हजार ५१३ मत सहित अग्रता बनाएका छन्।
यस्तै उपमेयरमा कांग्रेसकी जोशीले ६ हजार २६१ मत सहित अग्रस्थानमा छन्।
२१ हजार १३५ मत गणना गर्दा मेयरमा एमालेका महराले ४९८ र उपमेयरमा कांग्रेसकी जोशीले १ हजार २४३ मतान्तर कायम राखेका हुन्।
अब १ हजार २९२ मतपत्र मात्रै गणना गर्न बाँकी छ। शुक्लाफाँटामा २२ हजार ४२७ मत खसेको थियो।
मेयरका प्रतिस्पर्धी कांग्रेसका चिन्तामणि भट्टले ६ हजार १५ मत ल्याएका छन्। गठबन्धनबाट माओवादीका नवराज ऐरले ४ हजार ८५५ मत ल्याए।
यस्तै उपमेयरमा एमालेकी मोनिका भट्टले ५ हजार १८ मत प्राप्त गरे। गठबन्धनबाट समाजवादीका माधव पन्तले ४ हजार ९२९ मत ल्याएका छन्।
Shares

प्रतिक्रिया