पोखरामा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्यको अग्रता कायमै छ।
उनलाई एमालेका कृष्ण थापाले पच्छ्याइरहेका छन्। अघिल्लो पटक एमालेका मानबहादुर जिसीले कांग्रेसका रामजी कुँवरलाई १३ हजार ७०२ मतान्तरले जितेको एमाले विरासत जोगाउन संघर्षरत रहँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले भने पोखरामा अघिल्लो पटकभन्दा राम्रो प्रदर्शन गरेको छ।
अघिल्लो पटक राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयरका उम्मेदवार गीता गुरुङले २ हजार २६२ र उपमेयरका उम्मेदवार रमेशबहादुर खत्रीले २ हजार ८४० मत प्राप्त गरेका थिए।
यो पटक राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजित छ। कमल थापाले पुरानै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल अस्तित्वमा ल्याइसकेका छन् र पोखरामा उसले पनि उम्मेदवार उठाएको छ।
मेयरमा उठेका कमल गुरुङ धेरे पछाडि छन्। उनको खास उम्मेदवारहरुको चर्चा छैन। तर, राजेन्द्र लिङ्देन नेतृत्वमा रहेको राप्रपाले भने हालसम्मको गणनामा अघिल्लो पटकको भन्दा राम्रो परिणाम निकालेको छ।
राप्रपाबाट पोखराको मेयरमा शंकर खराल उम्मेदवार बनेका छन् भने उपमेयरमा रञ्जनाकुमारी सेन मैदानमा छिन्।
९० हजार ५६१ मत गणना हुँदा खरालले ४ हजार १०६ र सेनले ३ हजार ९८६ मत ल्याएकी छन्। यो गतवर्षको अन्तिम परिणामभन्दा बढी हो। पोखरामा १ लाख ४३ हजार २२६ मत खसेको छ। राप्रपाले मत बढाउने सम्भावना अझै बाँकी छ।
विभाजित हुँदा पनि राप्रपाले प्रदर्शनमा गरेको सुधारले उसलाई पोखरामा तेस्रो शक्तिको रुपमा उभ्याएको छ।
यद्यपि, माओवादी, कांग्रेस,एकीकृत समाजवादी, जनमोर्चा र जनता समाजवादीबीच गठबन्धन भएको छ र उनीहरुका मेयर/उपमेयरमा आफ्नै उम्मेदवार छैनन्।
राजेन्द्र लिङदेनप्रति पछिल्लो समयमा देखिएको आकर्षणका कारण राप्रपाले पोखरामा पनि हैसियत सुधारेको हो। राजतन्त्र र हिन्दु राज्यको एजेण्डासहित राप्रपा चुनावी मैदामा रहेको छ।
कांग्रेसले बढायो वडा
पोखरा महानगरपालिकाको २० वडाको अन्तिम मत परिणाम सार्वजानिक हुँदा कांग्रेसले वडागत जितमा वर्चस्व कायम गरेको छ ।
३३ वटा वडा रहेको पोखरा महागनरपालिकाको १९ वडाको मत परिणाम आउँदासम्म कांग्रेसले १४ वटा वडामा जित हासिल गरेको छ भने एमालेले ५ वटा वडामा विजय प्राप्त गरेको छ ।
वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १२, १३, १४, १५,२०, २३, २४, २५, २६, २७ र २८ वडाको टुंगो लागेका हो । जसमा कांग्रेसले जितको वडाहरुमध्ये ७ वटा वडा कांग्रेस २०७४ सालको स्थानीय तहको निर्वाचनमा जितेकै वडा हुन् भने बाँकी ४ वटा वडा एमालेबाट खोसेको हो।
७, १३,१४, २४, २५,२६ र २८ नम्बर वडा एमालेले गुमाएको हो भने वडा नम्बर ६ कांग्रेसले गुमाएको छ। २०७४ सालमा कांग्रेसले २,३ ,४ ,६,९, १०, ११, १२ २३ २७ र ३२ नम्बर वडा जितेको थियो।
Shares

प्रतिक्रिया