सुदूरपश्चिमबाट नगर प्रमुखमा पहिलो महिला निर्वाचित भएकी छन्। अछामको पञ्चदेवल विनायक नगरपालिकामा नेपाली कांग्रेसले मेयर र उपमेयर दुवैमा बाजी मारेको छ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको नगरको अन्तिम परिणामअनुसार मेयरमा कांग्रेसकी अम्बिका कुमारी चलाउने विजयी भएकी छन्। उनले ३ हजार ६५३ मत ल्याइन्।
चलाउने सुदूरपश्चिममा यसपटकको स्थानीय तह निर्वाचनमा मेयर निर्वाचित हुने पहिलो महिला हुन्।
वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा डोटीको दिपायल सिलगढी नगरपालिकाको मेयरमा मञ्जु मलासी र डडेल्धुराको भागेश्वर गाउँपालिकाको प्रमुखमा कौशिला भट्ट विजयी भएकी थिइन्।
उनी यसअघि पञ्चदेवल विनायक नगरपालिकाकी उपमेयर थिइन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका रामबहादुर विकले ३ हजार १७२ मत प्राप्त गरे।
यस्तै, एमालेका नन्दबहादुर कडायतले २ हजार ६९७ र एकीकृत समाजवादीका योगेन्द्र बहादुर बिष्टले ६९२ मत ल्याए। उपमेयरमा पनि कांग्रेसकै हर्कबहादुर रावल ४ हजार १८८ मतसहित निर्वाचित भए।
उनका प्रतिस्पर्धी माओवादीकी रीता रावलले २ हजार ६१८, एमालेका राजु सञ्ज्यालले २ हजार ३०२ र एकीकृत समाजवादीकी कृष्णा कुमारी जैसीले ८७८ मत हासिल गरिन्।
पाँचजना पराजित
पालिका प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था छ। वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा अधिकांश ठाउँमा महिलालाई उपप्रमुखमा सीमित गरिएको थियो।
यसपटक सुदूरपश्चिममा प्रमुख राजनीतिक पार्टीले ८ महिलालाई प्रमुखमा उठाएका थिए। उम्मेदवार बनाएको थियो।
तीमध्ये अन्तिम मतपरिणाम सार्वजनिक भएका ६ पालिकामध्ये ५ पालिकामा प्रतिस्पर्धा गरेका महिला उम्मेदवार पराजित भएका छन्।
नेकपा एकीकृत समाजवादीबाट डडेल्धुराको अमरगढी नगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेकी निवर्तमान उपमेयर संगीता कुमारी भण्डारी कांग्रेसका डिल्लीराज जोशीसँग पराजित भइन्। उनी ७६७ मतसहित तेस्रो स्थानमा समेटिइन्।
कञ्चनपुरको बेलौरी नगरपालिका र बेदकोट नगरपालिकामा एमालेबाट चुनाव उठेका कमला बोहरा र सुशीला सिंह पनि पराजित भएका छन्।
बोहरा माओवादीका पोतिलाल चौधरी र सिंह कांग्रेसका भोजराज बोहोरासँग पराजित भएका हुन्। उनीहरु दोस्रो स्थानमा रहे।
बझाङको बुंगल नगरपालिकामा एमालेबाट मेयरमा प्रतिस्पर्धा गरेकी धनदेवी कुँवर पनि सफल हुन सकिनन्। यस्तै, एमालेबाट कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा प्रतिस्पर्धा गरेकी झुमादेवी चौधरी पनि पराजित भइन्।
यस्तै केही ठाउँमा साना राजनीतिक दल र स्वतन्त्रबाट पनि प्रमुख पदमा महिलाले प्रतिस्पर्धा गरेका थिए।
कैलालीको गौरीगंगा नगरपालिकामा मौलिक जरोकिलो पार्टीबाट सावित्री गिरी र घोडाघोडी नगरपालिकामा नेपाल मजदुर किसान पार्टीबाट गंगादेवी पौडेल पराजित भए।
डोटीको दिपायल सिलगढी नगरपालिकाको मेयरमा उम्मेदवार दिएकी जसपाकी कलावती श्रेष्ठ र कैलालीको बर्दगोरिया गाउँपालिकामा राष्ट्रिय जनमोर्चाकी रुपादेवी आलेमगर पनि सफल हुन सकिनन्।
दुईजना प्रतिस्पर्धामै
प्रमुखमा महिला प्रतिस्पर्धा गरेका दुई पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ।
कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरिरहेकी कांग्रेसकी सुशीला शाहीले अग्रता लिएकी छन्।
पछिल्लो मतपरिणामअनुसार उनले ११ हजार १५६ मत प्राप्त गरेकी छन्। शाहीलाई पछ्याइरहेका एमालेका महादेव बजगाइँले ९ हजार ३१२ मत प्राप्त गरेका छन्।
यस्तै अछामको साँफेबगर नगरपालिकाको मेयरमा एमालेकी पशुपति कुँवर प्रतिस्पर्धामा छिन्। त्यहाँ विवादका कारण निर्वाचन हुन सकेको छैन।
Shares

प्रतिक्रिया