अछामको साँफेबगर नगरपालिकामा स्थगित भएको स्थानीय तह चुनावको मतदान शुक्रबार (आज) बिहानदेखि भइरहेको छ।
बिहान ७ बजेदेखि मतदान चलिरहेको अछामका मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले जानकारी दिए।
गत वैशाख ३० गते साँफेबगर नगरपालिका–१३ स्थित बाब्ला निर्वाचन केन्द्रमा एमाले र माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडपसहित विभिन्न विवाद हुँदा मतदान स्थगित भएको थियो।
निर्वाचन स्थगित भएको एक सातापछि त्यहाँ मतदान भएको हो। ‘अछामका अन्य पालिकाको अन्तिम निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ,’ मुख्य निर्वाचन अधिकृत श्रेष्ठले नेपालखबरसँग भने, ‘आज बाब्लामा पनि मतदान सकेर बेलुका देखि नै मतगणना सुरु गर्ने तयारीमा छौँ।’
विवादका कारण साँफेबगर–१३ मा मतदान हुन नसक्दा अन्य ठाउँको मतगणना पनि सुरु हुन सकेको छैन।
बाजुरामा पुनः निर्वाचन कि मतगणना टुङगो छैन
बाजुराको बुढीगंगा नगरपालिकामा निर्वाचनका दिन भएको तनावले निर्वाचन प्रक्रिया नै अन्यौलतामा परेको छ।
नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरुबीच उत्पन्न विवादले एकसाता बितिसक्दा पनि बुढीगंगा नगरपालिकामा मतगणना हुन सकेको छैन।
मतदानको दिन बैशाख ३० गते बुढीगंगामा दुई पक्षीय झडप भएको थियो । निर्वाचन आयोगले बुढीगंगामा खटाएका निर्वाचन अधिकृत कृष्णप्रसाद सापकोटा आयोगमै फर्किएका छन्।
वडा नम्बर २, ३, ५ र ९ मा दुई पक्षीय झडप हुँदा असुरक्षित महसुस भएकोले निर्वाचनको कार्य अघि बढाउन नसक्ने भन्दै निर्वाचन अधिकृत सापकोटा आयोगमै फर्किएका थिए।
यी वडामा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले बुथ कब्जा गरेकाले मतदान प्रक्रिया पुनः सञ्चालन गर्न पर्ने कांग्रेसको माग छ । तर एमालेका उम्मेवार तथा नेताहरुले भने नगरपालिकाका कुनै पनि वडामा धाँधली र बुथ कब्जा नभएकाले मतगणना सुरु हुनुपर्ने अडान लिएका छन्।
बुढीगंगामा विवादपछि निर्वाचन आयुक्त सगुन शमशेर जबराको संयोजकत्वमा आयोगको अनुगमन टोली बाजुरा पुगेको थियो।
अनुगमनमा टोली जिल्लास्थित राजनीतिक दल, उम्मेदवार, मतदान अधिकृत र सुरक्षाकर्मीबाट सुझाव संकलन गरेर फर्किएको थियो।
निर्वाचन आयोगले कुनै निर्णय नगर्दा बुढीगंगाको निर्वाचन प्रक्रिया अगाडि बढ्न नसकेको बाजुराका मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरे बताउँछन्।
‘पुनः मतदान वा मतगणना के गर्ने भनेर आयोगले निर्णय गरेको छैन,’ उनले नेपालखबरसँग भने, ‘हामी पनि निर्वाचन आयोगको निर्णय कुरेर बसेका छौँ।’
उनका अनुसार बाजुराका ९ स्थानीय तहमध्ये ७ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक गरेर नवनिर्वाचित जनप्रतिनिधिको सपथ ग्रहण समेत भइसकेको छ । यस्तै, बुढीनन्दा नगरपालिकको मतगणना अन्तिम चरणमा पुगेको छ।
Shares

प्रतिक्रिया