डिल्लीबजार कारागारमा आजीवन कैद सजाय भोगिरहेका कैलालीका सांसद रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले सत्तागठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेले उछिन्दै जित हासिल गरेको छ।
कैलालीको भजनी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नागरिक उन्मुक्ति पार्टीले बाजी मारेको छ। मेयरका उन्मुक्ति पार्टीका उम्मेदवार केवल चौधरी निर्वाचित भए। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार उनले ८ हजार ९६६ मत प्राप्त गरे।
उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार शेरबहादुर चौधरीले ५ हजार १९८ मत मात्रै ल्याउन सके। यस्तै, एमालेका हर्कबहादुर बुढा ३ हजार २६२ मतमा सीमित रहे।
उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै राजु तिरुवाले बाजी मारे। उनले ७ हजार ६२२ मत ल्याए। तिरुवाका निकटतम् प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका गोकेन्द्र भण्डारीले ४ हजार ४९० मत मात्रै प्राप्त गरे। यस्तै, नेकपा एमालेकी तुलसी चौधरीले ३ हजार १६३ मत मात्रै ल्याइन्।
९ वडा रहेको भजनीमा नागरिक उन्मुक्ति पार्टी, माओवादी केन्द्रले ३÷३, एमालेले २ र कांग्रेसले १ वडामा जित हासिल गरेको छ।
यसअघि सार्वजनिक मतपरिणाम अनुसार नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकामा पनि जितेको थियो।
विसं २०७२ सालमा टीकापुरमा भएको ८ जना सुरक्षाकर्मी र १ जना बालकको हत्या घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका रेशम चौधरीले तीन महिना अगाडि श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर पार्टी गठन गरेका थिए।
Shares

प्रतिक्रिया